• २०८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025

याे सरकार ढलेपछि कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्छ: वर्षमान पुन

पोखरा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा नयाँ सरकार नेपाली कांग्रेसकाे नेतृत्वमा बन्ने बताएका छन् ।  मंगलबार पोखरामा प्रेस सेन्टर नेपाल जिल्ला शाखाले गरेकाे कार्यक्रममा बाेल्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेकाे बताए ।

 ‘सरकार ढल्यो भने पहिलोले दाबी गर भनेका छौँ । तेस्रो पार्टीले १८ महिना सरकार चलाएर रेकर्ड बनाएका छौँ, दोस्रोले पनि १ वर्ष चलाएको छ’, उनले भने, ‘अब पहिलोलाई बहुमत एमाले र माओवादी विना पनि पुग्छ । पहिलोले नेतृत्व दाबी गर भन्ने हाम्रो भनाइ हो । बहुमत नै पुगेन भने हामी सोच्छौँ ।’

पहिलो पार्टीले सरकार नचलाए फ्रेस म्यान्डेटका लागि जनतामा जानु उपयुक्त हुने उनको सुझाव छ । कांग्रेस र एमालेले एक अर्कालाई तर्साउन माओवादीसँग संवाद भएको हल्ला गरिएको भन्दै उनले त्यस्तो हल्लामा कुनै सत्यता नरहेको बताए । 

उनले वर्तमान सरकार माओवादीका कारण नभई आफ्नै कारण ढल्ने पनि दाबी गरे । गभर्नर नियुक्ति प्रकरणले सरकार ढल्ने अवस्था बनेको पनि पुनको भनाइ थियो । 

‘गभर्नर खाली हुनुभन्दा १ महिना अघि नयाँ गभर्नर सिफारिस हुनुपर्थ्यो । अहिले रिक्त भएको २ महिनासम्म नियुक्ति हुन सकेको छैन’, उनले भने, ‘अहिले चर्चा गरिएका मान्छे पनि नियुक्त हुँदै छैनन् । किनकि उनी पनि बिचौलियाले रुचाइएका व्यक्ति होइनन् । यही कारण सरकार ढल्नेजस्तो भइरहेको छ ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर