• २०८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025

राजावादी अभियान किन भयाे स्थगित ?

काठमाडौँ । वर्तमान व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तय गरेको तीन दिने जनजागरण अभियान एकाएक स्थगित गरिएको छ । बिहीबारदेखि सुरु गर्ने भनिएको धार्मिक तथा जनजागरण अभियान बुधबार एक सूचनामार्फत स्थगित भएको जानकारी गराइएको हो । 

जेठ ११ गतेसम्म हुने भनिएको अभियान काठमाडौँ उपत्यकाकाको काँठ क्षेत्रमा हुने भनिएको थियो । 

तर बुधबार संयोजक नवराज सुवेदीले जारी गरेको सूचनामा भनिएको छ, ‘जेठ ८ देखि ११ गतेसम्मलाई काठमाडौँ उपत्यकामा तय भएको धार्मिक तथा जनजागरण अभियान विशेष कारणवश स्थगित गरिएको छ । यस सम्बन्धमा अर्को सूचना हुनेछ ।’

आन्दोलन समिति मातहतको निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले जेठ १५ देखि हुने आन्दोलनको आन्तरिक तयारी गर्नुपर्ने भएकाले पूर्वनिर्धारित अभियान स्थगन गरिएको बताइन् । ‘आन्तरिक तयारी गर्नुपर्ने भएकाले स्थगित गरिएको छ । यसबाहेक अर्को कारण छैन’, उनले बिहीबार रातोपाटीसँग भनिन् । 

राजसंस्था पुनर्स्थापना गर्ने भन्दै राजावादी समूहले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको यसअघि नै घोषणा गरिसकेका छन् । उक्त आन्दोलनमा राजावादी प्रमुख पार्टी राप्रपाको समेत साथ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर