• २०८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025

युवा संघको महाधिवेशनमा ओलीले भने–'भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएका छाैं'

पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको उल्ल्लेख गर्दै उनले भने, “पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरुले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु ।”

“प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास रोग्ने अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु ।”, अध्यक्ष ओलीले भने, “एमालेमाथि आन्तरिक र बाह्य पक्षहरु तथा विरोधीहरुको केन्द्रीकृत र चौतर्फी आक्रमण गरेका छन् । एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन् । हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हहतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु ।”

अध्यक्ष ओलीले एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरुलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका  लागि एमाले र काँग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरुलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरु सरकारमा रहेर निर्वाचन गराउने स्पष्ट गरे ।

आफूहरु भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि उनले बताए ।

युवा संघको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व गर्न आग्रह गर्दै अध्यक्ष ओलीले नेतृत्वमा नअटेका हरेको व्यवस्थापन हुने भएकाले लुँछाचुँडी नगर्न र सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर