गृहमन्त्रीकै शंकास्पद भूमिकाः भिजिट भिसा काण्डमा मुछिएकालाई अनुसन्धान गर्ने कि सरुवा ?

काठमाडौं । गृहमन्त्री रमेश लेखककै शंकास्पद भूमिका रहेको भनिएको भिजिट भिसा प्रकरणमा मुछिएका थप ६ कर्मचारी तानिएका छन् ।
जसकाे कारण गृह मन्त्रालयले भिजिट भिसामा बदमासी गरेको आरोपमा थप ६ जना अध्यागमन कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सरुवा गरेको छ।
यसअघि ९ कर्मचारी सरुवा गरिसकेको मन्त्रालयले नायब सुब्बाहरूलाई विभिन्न जिल्ला प्रशासन कार्यालयमा पठाएको छ।
तानिनेमा ६ नायब सुब्बाहरू छन् । उनीहरूलाई बिहीबारमात्रै तानिएको मन्त्रालय स्रोतले जानकारी दियो । तानिएका युवराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पठाइएको छ । त्यस्तै दत्त लामालाई जिल्ला प्रशासन कार्यालय जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई जिल्ला प्रशासन कार्यालय गोरखा र तेजराज गौतमलाई जिल्ला प्रशासन कार्यालय बागलुङ पठाइएको छ ।
सुवास केसीलाई जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम र कुवेर प्रसाद दाहाललाई जिल्ला प्रशासन कार्यालय धनकुटा सरुवा गरिएको प्राप्त सूचीमा उल्लेख छ ।
तानिएका मध्य चार जना त्यस कार्यालयमा काजमा गएका थिए । लामाको अध्यागमन विभाग, गौतमको अध्यागमन विभाग, केसीको इलाका प्रशासन कार्यालय सातविसे नुवाकोट र दाहालको अध्यागमन विभागमा दरबन्दी रहेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा काजमा थिए ।
यी सुब्बाहरूलाई पनि कार्यालय प्रमुख भट्टराईले सेटिङमा प्रयोग गर्ने गरेको सूचनाका आधारमा सरुवा गरिएको निकटस्थ स्रोतले जानकारी दियो ।
भिजिट भिसा प्रकरणका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कार्यालयमा छापा मारेर सरुवा भइसकेका तर रमाना नबुझेका प्रमुख भट्टराईलाई नियन्त्रणमा लिई उनको मोबाइल जफत गरेको थियो । अख्तियारले उनलाई छोडे पनि मोबाइल भने अनुसन्धानका लागि ‘फरेन्सिक ल्याब’मा पठाएको जनाएको छ ।
अध्यागमन कार्यालयले बिचौलियाको सेटिङमा रकम असुली गरी भिजिट भिसामा पठाउन सहजीकरण गरिदिएको आरोप लागेको छ। अध्यागमनका कर्मचारीले ठूलो रकम लिएर मानिसलाई विदेश पठाउन सहजीकरण गरेको आरोप लागेको हो।
अख्तियारले यस घटनामा अनुसन्धान थालेपछि गृहले ठूलो संख्यामा कर्मचारी हेरफेर गरेको हो।
प्रतिकृया दिनुहोस