• २०८२ जेठ १२ सोमबार
  • Monday, 26 May, 2025

कांग्रेसकै सांसदले देउवालाई लेखे मन्त्रीद्वय लेखक र पाण्डे हटाउन पत्र

काठमाडौं । पार्टीको पदाधिकारी बैठकको संघारमा सत्तारुढ दल नेपाली कांग्रेसका एक सांसदले सभापति शेरबहादुर देउवालाई दुई मन्त्री हटाउन पत्राचार गरेका छन् । भ्रष्टाचार तथा अनियमिततामा मुछिएको भन्दै सांसद राजेन्द्र बजगाईंले गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे हटाउन पत्र लेखेका हुन् । 

पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न विवादमा मुछिएका तथा भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई हटाउन उनले माग गरेका हुन्। 

'म आग्रह गर्दछु- पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका, वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस्' उनले भनेका छन्। 

उनले कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेको नाम नै तोकेर कार्यशैलीमाथि प्रश्न उठाएका छन्। 

'गृह मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइसकेको छ। प्रकाशित सार्वजनिक समाचार अनुसार, गृहमन्त्री रमेश लेखक (माननीय रमेश लेखकको भद्रता सम्झदा यो होइन होला भन्ने एउटा मनको छेउमा लागि रहेकै भएतापनि) को सचिवालय नै मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिएको छ भनिएको छ, जुन राज्यको सबैभन्दा संवेदनशील निकायहरूमध्ये एकमा देखिएको गम्भीर संकट हो,' लेखकबारे उनले पत्रमा लेखेका छन्,'यस्तोमा गृहमन्त्रीको नैतिक जिम्मेवारी उठ्नुपर्ने हो। यो गृह मन्त्रालयको नेतृत्व मात्र होइन गृह मन्त्रालय संरचनाप्रतिको कानुनी प्रश्न हो।'

उनले पर्यटनमन्त्री पाण्डेबारे भनेका छन्, 'संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री वद्री पाण्डे को नेतृत्वमा रहेको मन्त्रालयले देशको पर्यटन क्षेत्रलाई नै तहसनहस बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था हेर्दा यस्तो लाग्छ कि त्यो ठाउँ तस्करहरूको केन्द्र बनेको छ। विमानस्थलभित्र रहेका दुकान, सेवा प्रदायक, लोडर, क्लिनिङ कम्पनी तथा अन्य धेरै आउटसोर्स कम्पनीका सञ्चालकहरू नै सुन र विदेशी मुद्रा तस्करीमा संलग्न रहेको प्रमाणित भइसकेका मानिसहरूको एप्रोन र जहाजसम्मै पहुँच हुने गर्दछ।'

पाण्डेमाथि उनले नेपालको स्वतन्त्रतामाथि घात गरेको आरोप पनि लगाएका छन्।  
 
'मन्त्री पाण्डे हाल चिनियाँ सांस्कृतिक प्रभाव विस्तारमा लागिरहेको देखिएको छ। उहाँले पञ्चेन लामालाई नेपाल निमन्त्रणा गरी नेपाली पर्यटन क्षेत्रमा चिनियाँ सांस्कृतिक उपनिवेशवाद प्रवर्धन गर्ने गतिविधिहरूलाई सहयोग गरेका छन्, जुन नेपालको स्वतन्त्रतामाथिको घात हो' उनले पत्रमा उल्लेख गरेका छन्। 

सांसद बजगाईले संसदीय दल नेता देउवालाई सम्बोधन गरी संसदीय दलको कार्यालयको इमेलमा पठाएका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर