ओलीलाई प्रचण्डकाे जवाफ: प्रधानमन्त्रीले जवाफा दिनुपर्ने, गृहमन्त्रीले राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच संसद्को अवरोधका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता दाहाललाई फोन गरेर संसद्को अवरोध खुलाउनेबारे कुराकानी गरेका हुन् ।
गृहमन्त्री रमेश लेखक र माओवादी सांसद माधव सापकोटाले ओली र दाहालबीच फोनमा संसद्को अवरोधबारे छलफल भएको जानकारी दिए । ओलीले संसद्को अवरोध हटाएर नियमित कामकारबाही गरिदिन आग्रह गरेका थिए ।
विपक्षी दलहरूको बैठक संसद् भवनमा बसिरहेको बेला प्रधानमन्त्री ओलीको फोन अध्यक्ष दाहाललाई आएको सापकोटाले बताए । 'प्रधानमन्त्रीले सदनको अवरोध हटाएर सदनलाई अगाडि बढाउन माग गर्नुभएको थियो । अध्यक्षले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र सदनमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ भन्नुभयो,' सापकोटाले भने ।
दाहालले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन गराउनका लागि गृहमन्त्री लेखकले राजीनामा गर्नुपर्ने कुरा प्रधानमन्त्री ओलीसँगको कुराकानीका क्रममा बताएका थिए ।
'भिजिट भिसा प्रकरणलाई निष्पक्ष छानबिन हुन दिनका लागि गृहमन्त्रीबाट लेखकले राजीनामा दिनुपर्छ भन्ने कुरा नै राख्नुभएको छ । विपक्षी दलहरूको बैठकले पनि सोही निर्णय गरेका छन्,' सापकोटाले जानकारी दिए । गृहमन्त्री लेखकले भने संसद्मा बोल्नका लागि समय माग गरेको बताए ।
बैठककै बिचमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नको जवाफ दिने वातावरण बनाइदिन फोन गरेको माओवादीका सांसद लेखनाथ दाहालले पनि बताए ।
‘संसद्को अवरोध हटाएर गृहमन्त्रीलाई बोल्न दिन प्रधानमन्त्री केपी ओलीले अध्यक्ष प्रचण्डलाई फोन गर्नुभएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध यथावत् रहने कुरा अध्यक्षले भन्नुभयो । यद्यपि सरकारले भोलि (बिहीबार) संसद्मा पेस गर्ने आर्थिक वर्ष २०८२–८३ को बजेटबारे सकारात्मक रूपमा सोच्न सकिन्छ भन्नुभएको छ’, दाहालले भने ।
प्रतिकृया दिनुहोस