• २०८२ जेठ २२ बिहीबार
  • Thursday, 5 June, 2025

मैत्रीपूर्ण खेलमा नेपाल फेरि पराजित

काठमाडौं । एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्ड फेरि हार बेहोरेको छ ।

सोमबार बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन र २-० को हार खान पुग्याे । पहिलो हाफका दौरान आक्रमणमा केही अवसर सिर्जना गरेको नेपाल दोस्रो हाफमा भने गोल खाएपछि दबाबमा परेको थियो ।

थाइल्याण्डले दोस्रो हाफको ५९ औं मिनेटमा फ्रिकिकमार्फत अग्रता लिएको थियो । झन्डै ३० यार्ड टाढाबाट मोंग्कोल्दीले पहिलो बारतर्फ प्रहार गरेको फ्रिकिकमा नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बा बलसम्म पुग्न नसक्दा गोल भएको थियो ।

त्यसपछि ७५ औं मिनेटमा थाइल्याण्डले काउन्टर अट्याकमा गोल थप्यो । ३ भर्सेस ३ को अवस्थामा दायाँ विंगबाट आएको क्रसलाई ६ यार्ड बक्सभित्र अनमार्क रहेकी रोडथोंगले पहिलो टचमै बललाई गोलमा परिणत गरेकी थिइन् ।

यसअघि भएको क्लोज डोर मैत्रीपूर्ण खेलमा पनि नेपाल १-० ले पराजित भएको थियो ।

नेपालले अर्को महिना एएफसी महिला एसियन कपको छनोट खेल्दैछ । उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलंकाको सामना गर्नेछ । चार टोली समूहको शीर्षस्थानमा रहने टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर