एमाले अखिलमा दुई गुटः प्यानल बनाएरै चुनावी भिडन्त

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी अेालीले दिएकाे निर्देशन विपरित एमाले अखिलमा चुनाव हुने भएकाे छ । जारी महाधिवेशनमा नेतृत्व चयनका लागि अेालीले अघि सारेकाे पक्ष र त्यसलाइ काउण्टर दिने अर्काे पक्षबीच बुधबार मतदान हुँदैछ।
मंगलबार राति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो। ३२ वर्षे उमेरहद लागेपछि अध्यक्षमा दुई जना प्रतिस्पर्धी देखिएका छन्।
निर्वाचन समितिका एक सदस्यले दिएको जानकारी अनुसार अध्यक्षमा प्रकाश पौडेल र डा. सुजन कडरियाको उम्मेदवारी परेको छ। एक महिला र एक खुला उपाध्यक्षमा आठ जनाको उम्मेदवारी परेको छ।
खुला उपाध्यक्षतर्फ राजकुमार ढकाल, विकास श्रेष्ठ, भरत धामी, धर्मेन्द्र केसी लगायतको उम्मेदवारी परेको छ। महिलातर्फ आरती भट्टराई, अञ्जना शिवाकोटी, भवानी बजगाईं, सुनीता धितालको उम्मेदवारी परेको छ।
महासचिवमा दीपक धामी, आरके रोमश, सुनील कँडेलको उम्मेदवारी दर्ता भएको छ।
अनेरास्ववियुको पदाधिकारी ९ सदस्यीय र १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ।
अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ल लगायत नेताहरूले कोसिस गरेका थिए। मंगलबार बन्द सत्रको हलमा सहमतिका लागि नाम प्रस्तावसमेत गरिएको थियो। अध्यक्ष मण्डलका तर्फबाट डा. सुजन कडरियाको नेतृत्वमा प्रकाश पौडेल र अञ्जना शिवाकोटीलाई उपाध्यक्ष र दीपक धामीलाई महासचिवको प्रस्ताव गरिएको थियो।
पौडेल समूहले नाराबाजी गरेर निर्वाचनका माग गरेपछि अध्यक्ष मण्डल चुनावबाटै नेतृत्व चयन गर्न राजी भएको हो।
प्रतिकृया दिनुहोस