विपक्षीका प्रस्ताव सत्तापक्षले मानेन, प्रतिनिधि सभा अझै नचल्ने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भए पनि सञ्चालन हुने सम्भावना निकै कम रहेको संसद सचिवालयले जनाएको छ।
सभामुखसँगको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र सहभागी भए पनि रास्वपा अनुपस्थित रहेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेकाले बैठक सञ्चालन हुने सम्भावना कम छ ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। जेठ १३ देखि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। दलहरूबीच पटक–पटक छलफल भए पनि सहमति बन्न सकेको छैन ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र छलफल गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ। प्रमुख विपक्षीसहितका प्रतिपक्षी दलको निरन्तर अवरोधले संसद् बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको छ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तयार पारेको पाँच बुँदे प्रस्तावमा विपक्षी दलहरूले संयुक्तरूपमा अपनत्व जनाएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलको बैठकले रास्वपाको प्रस्तावमा अपनत्व जनाउने निर्णय गरेको हो।
बैठकले पाँच बुँदे प्रस्तावमा सत्तापक्षको धारणा माग्ने निर्णय गरेको छ। बैठकमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र हितराज पाण्डे, रास्वपाबाट सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र पाण्डे, आमजनता पार्टीका अध्यक्ष प्रभु साहसहित सहभागी थिए।
छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाएसम्म विरोधको कार्यक्रम कायमै रहने बताए। ‘हाम्रो पहिले जे हो, त्यही कुरा यथावत् छ,’ उनले भने, ‘समिति नबनेसम्म हाम्रो कुरा कायमै रहन्छ।’
प्रतिकृया दिनुहोस