रास्वपाको पाँच बुँदे प्रस्तावमा एमालेले छलफलनै नगर्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पठाएको पाँच बुँदे प्रस्तावमा छलफल हुन नसक्ने बताएका छन्।
आज (बुधबार) संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भोलिसम्म पनि अवरुद्ध रहे आफ्नो नियमावली अनुसार संसद चल्ने दावी गरे।
सांसद भट्टराईले विपक्षी दलले भोलिसम्म छलफलको लागि समय माग गरेको भएकाले वैठक ३ बजे राखेको पनि बताएका छन्।
उनले भने, ‘हामीले माओवादीसँग गरेको दुई बुँदे सहमतिको प्रयासमा रास्वपाको असहमति छ। रास्वपाले पठाएको पाँच बुँदे प्रस्तावमा छलफल नै हुँदैन। त्यसमा जान सकिँदैन, हामी माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौं ।’
उनले विगतमा पनि विपक्षीको नाराबाजीबीच संसद चलेको इतिहास रहेको भन्दै सभामुखमा निर्भर हुने बताएका छन् । माओवादीका नेताहरू रास्वपाको पाँच बुँदे प्रस्तावमा सहमत नभएको सांसद भट्टराईले दाबी गरे। तर आज बसेको विपक्षी दलको बैठकले रास्वपाको पाँच बुँदे प्रस्तावमा समर्थन जनाउने निर्णय गरेको थियो।
आजको प्रतिनिधिसभा वैठकमा विपक्षी दलका सांसदले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नारावाजी नै गरेका थिए।
प्रतिकृया दिनुहोस