राजावादीको तीनकुने वितण्डाः प्रसाईं थुनामा, मिश्र र राणालाई के हुन्छ ?

काठमाडौं । राजा फर्काउन भन्दै राजावादीहरुले काठमाडौं तीनकुनेमा भएको वितण्डामा त्यसको जनकमाण्डर तोकिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
तीनकुने घटनामा संलग्न आरोपमा प्रहरीको थुनामा रहेका ३९ जना जनाको बिहीबार थुनछेक बहस भएकाे थियाे ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने र ३२ जनालाई रिहा गर्ने आदेश दिएका हुन् ।
प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हाे । २०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईँ सहित ३९ जना प्रहरीको हिरासतमा थुनामा थिए ।
प्रसाईँ विरुद्ध सरकारले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिएको थियो।
सोही घटनाका आरोपी राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवल शमशेरका विषयमा भने आदेशमा केही पनि उल्लेख गरिएको छैन । उनीहरू अहिले फरार रहेका छन् ।
काठमाडौँ जिल्ला अदालतमा बयानका लागि उपस्थित नभएको बतउँदै जिल्ला प्रहरी परिसर काठमाडौँले जिम्मा जमानीमा लाने मिश्रका कानुन व्यवसायीहरू वसन्त ब्लोन र श्यामबहादुर शाही तथा शमशेरका स्वकीय सचिव उमेश विष्टलाई लाई जनही २५ हजार रुपैयाँ तिराउने निर्णय गरेको थियो ।
तीन कुनेको प्रदर्शन हिंसात्मक हुँदा अभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए । गोली लागेका कोही पनि प्रदर्शनकारी थिएनन् ।
गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचारको क्रममा छन् । तिघ्रामा गोली लागेकी उदयपुरकी रेबिका खत्री, पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेल र पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठको उपचारकै क्रममा छन् । प्रदर्शनमा ५६ वटा घर, संस्था एवं कार्यालयमा भएको तोडफोड तथा आगजनी भएको प्रहरीको तथ्यांकमा छ ।
प्रतिकृया दिनुहोस