• २०८२ असार २७ शुक्रबार
  • Friday, 11 July, 2025

‘सभामुखले संसद चलाउन जानेनन्’

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख देवराज घिमिरले संसदीय परम्पराविपरीत प्रतिनिधिसभा बैठक अगाडि बढाएको आरोप लगाएका छन् ।

सोमबार संसद् बहिष्कार गरेर बाहिर निस्किएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले संसदीय मर्यादा र परम्पराविपरीत बैठक अगाडि बढाएको बताएका हुन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने राप्रपा र रास्वपाको माग यथावत छ । यद्यपि यही माग राख्दै आएको प्रमुख प्रतिपक्षी माओवादीले भने सत्ता पक्षसँग सहमति गरी बैठकमा सहभागी भएको छ ।

राप्रपाले लगातार दोस्रो दिन प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो । 'बजेटसम्बन्धी छलफलमा सहभागी हुने वातावरण नै सभामुखले बनाउनु भएको छैन । कुनै पनि सांसदले उठेर आफ्नो असहमति जनाइरहेका बेला संसद् अवरुद्ध मानिन्छ । अहिले दुइटा महत्त्वपूर्ण पार्टीहरूले भिजिट भिसा प्रकरणमा फरक मत राखिरहेका बेला वार्ता र संवादबाट समाधान खोज्नुको सट्टा सभामुखले जबर्जस्ती भद्रगोल तरिकाले संसद् अगाडि चलाउनु भएको छ,' उनले भने ।

बैठकमा सहभागी नभएको दिनको भत्ता पनि नलिने जानकारी दिँदै उनले भने, 'संसदीय मर्यादाविपरीत काम भएको हुनाले बैठकमा सहभागी हुनु अनुचित हुने ठानेर बहिष्कार गरेको हो । हामीले यस विषयमा सभामुखलाई पनि जानकारी गराएका छौँ ।'

संसद् बहिष्कार गर्दा बजेटसम्बन्धी छलफलमा सहभागी हुन पाउनु भएन नि ! भन्ने प्रश्नमा उनले भने, 'बजेटको छलफल पनि एउटा विधि पुर्‍याउने मात्र हो । न यसमा संशोधन हुन्छ । कुनै एउटा नेताको खल्तीबाट आएको बजेट हो । तर पनि सभामुखले सहज वातावरण बनाएको भए हामी छलफलमा सहभागी हुन्थ्यौँ ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर