उपमेयर सुनिताले हटाएपनि अदालतले फिर्ता गराएका राजु पाण्डेले भनेः ‘अझ कडा काम गर्छु’

काठमाडौं । उपमेयर सुनिता डंगाेलले हटाएपनि अदालतकाे आदेशबाट पदमा फर्किएका राजुनाथ पाण्डेले थप कडा भएर काम गर्ने बताएका छन् । निलम्बन परेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबारबाट पुनः आफ्नो जिम्मेवारी सम्हाले ।
उच्च अदालत पाटनको अन्तरिम आदेशपछि काममा फर्किएका पाण्डेले अब महानगर प्रहरी बलले विगतभन्दा अझ सशक्त र परिणाममुखी भएर काम गर्ने प्रतिबद्धता जनाए।
बुधबार उच्च अदालत पाटनले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै पाण्डे बिहीबार बिहान सुनधारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन्।
कार्यालयमा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफू कसैप्रति आग्रह-पूर्वाग्रह नराखी काम गर्ने स्पष्ट पारे। ‘कुनै पनि हालतमा अब अझ सशक्त भएर महानगर प्रहरी लाग्छ, म आफैँ पनि लाग्छु,’ उनले भने, ‘हिजोको भन्दा पनि अझ राम्रो र परिणाममुखी काम हुनेछ। केही कमीकमजोरी भएका छन् भने त्यसलाई सुधार्नुपर्छ।’
उनले आफूभन्दा माथिल्ला पदाधिकारीको विषयमा कुनै प्रतिक्रिया नदिने तर आफ्नो मातहतका कर्मचारीले पदीय मर्यादाभन्दा बाहिर गएर काम गरे कारबाही गरिने चेतावनी दिए।
‘मेरो मातहतका प्रहरी कर्मचारीको हकमा, सबैले आफ्नो काम, कर्तव्य र अधिकारको सीमाभित्र बसेर काम गर्न मैले भनेको छु,’ पाण्डेले भने, ‘त्योभन्दा बाहिर गएर आफ्नो पदीय मर्यादामा नबस्ने प्रहरी कर्मचारी कोही भेटिएको खण्डमा कारबाही हुनेछ।’
आफ्नो तत्कालको कार्ययोजनाबारे बोल्दै उनले वर्षायाममा हुन सक्ने सम्भावित विपद्को सामना गर्न महानगर प्रहरी तयारी अवस्थामा रहेको बताए।
उता पाण्डे हटाउन एमाले पृष्ठभूमिकी उपमेयर डंगाेल भने पहिलादेखिनै लागेकी थिइन् । गत असारयता महानगरका प्रमुख/उपप्रमुखबीच जुन खटपट देखिइरहेको छ ।
मेयर बालेनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी लेखेको स्टाटसको प्रतिवाद उपमेयर सुनिताले गरिन् । आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरुलाई आरोप लगाउने कुरा अनुचित भएको भन्दै उनले मेयरमाथि उल्टै प्रश्न उठाएकी छन् ।
बालेनले प्रधानमन्त्रीकै निर्देशनमा आफूलाई अप्ठेरो पार्ने काम भइरहेको भनेपछि उपमेयर सुनिताले प्रतिवाद गरेकी छन् । यही १७ फागुनमा मिडियासामु सुनिताले बालेनको पछिल्लो स्टेटमेन्टको विरोध गरिन् । बालेनले आफ्नो कर्तव्य पूरा नगरी अरुलाई आरोप लगाउँदै हिँडेको उनको भनाइ थियो । बालेनको कर्तव्य भनेर उनले छानबिन समितिको प्रतिवेदनतिर संकेत गरेकी थिइन् । मेयरले छानबिन समितिको प्रतिवेदन लुकाएको आरोप उनले लगाइन् ।
डंगाेलले एमालेकाे एक सार्वजनिक कार्यक्रममा पुगेर मेयर बालेनले स्टन्ट मात्रै गरेकाे आराेप लगाउँदै सार्वजनिक कार्यक्रममा नै स्टन्ट गरेर देश बन्दैन भन्ने भाषण गरिन् ।
प्रतिकृया दिनुहोस