• २०८२ असार २२ आइतबार
  • Sunday, 6 July, 2025

माओवादी केन्द्रकाे नेतृत्वमा पाँच कम्युनिष्ट पार्टीले जनप्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका पाँच कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्ध’ मा काठमाडौँमा ठूलो प्रदर्शन गर्ने भएका छन् ।

आज (शनिबार) माओवादी केन्द्रको कार्यालयमा बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा (विप्लव) नेकपा मसाल र नेकपा क्रान्तिकारी माओवादीको बैठकले छिट्टै काठमाडौंमा ठूलो प्रदर्शन गर्ने निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार प्रदर्शनका लागि ठोस कार्यक्रम बनाउन सबै पार्टीबाट दुई–दुई जना रहने गरी कार्यदल समेत बनाइएको छ ।

वैठकमा नेकपा (माओवादी केन्द्र) का अध्ययक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरूङ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेल लगायतका नेताहरू सहभागी थिए ।

माओवादी केन्द्रका महासचिव देव गुरूङका अनुसार विशेष गरी इजराइलले प्यालेस्टाइनमा गरेको नरसंहारको विषयमा छलफल गर्ने एजेण्डा थियो । उनका अनुसार पाँच दलबीच सोही एजेण्डामा यसअघि पनि छलफल भएका थिए । त्यस्ता कार्यक्रम सञ्चालनका लागि दिगो किसिमको संयन्त्र बनाउने कि तत्काल कार्यक्रमहरू आयोजना मात्रै गरेर जाने भन्ने विषयमा छलफल भएको महासचिव गुरूङले बताए ।

नेकपाका प्रवक्ता प्रकाण्डले पनि इसराइलले गजामा आक्रमण गरेको तथा इजराइल र अमेरिका मिलेर इरानमा गरेको हमलाको विषयमा छलफल भएको बताए ।

‘अन्तर्राष्ट्रिय राजनीतिमा साम्राज्यवादको दादागिरी, हमला र नरसंहार भएको विषय धेरै आपत्तिजनक र खेदजनक छ । यसका विरूद्ध ऐक्यबद्धता जनाउन योजना बनाउने विषयमा छलफल भयो । तत्काल सबै घटकबाट दुई–दुई जना बसेर कार्यक्रमको ठोस योजना बनाउने भन्ने निर्णय भएको छ,’ उनले भने ।

यसमा पाँच दल मात्रै नभई अरू दलहरूलाई पनि समेट्ने र काठमाडौंमा छिट्टै एउटा दबाबमूलक कार्यक्रम गर्ने तय भएको प्रकाण्डले बताए । ती कार्यक्रमको योजना बनेपछि छिट्टै सार्वजनिक गरिने पनि उनले बताए । साझा मुद्दाको पहिचान गर्न पार्टीभित्र छलफल गर्ने विषयमा पनि पाँच वटै घटकहरू सकारात्मक रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर