• २०८२ असार २४ मंगलबार
  • Tuesday, 8 July, 2025

नेपाल–चीन जोड्ने मितेरी पुल बाढीले बगायो, दर्जनौं गाडी बगे (भिडियाे)

काठमाडौं । तिब्बतमा परेकाे भीषण वर्षाले ठूलाे बाढी आउदा नेपाली–चीन सीमा क्षेत्रमा वितण्डा मच्चाएकाे छ । 

भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको बताए । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

उनले भने,'चीनतर्फबाट आएको बाढीले ठूलो क्षति पुगेको छ । मितेरी पुल बगाएको छ । ड्राइपोर्टमा रहेका ईभी पनि बगाएको छ ।' उनले भर्खरै बाढीमा फसेका व्यक्तिहरूको उद्धार गरिएको बताए ।

उनले भने, 'उद्धारका लागि गएका केही सुरक्षाकर्मी पनि फस्नु भएको थियो । उहाँहरूको रेस्क्यु भएको छ ।'

तल्लो बेल्टका स्थानीयलाई सुरक्षित स्थानमा सर्न भनिएको पनि उनले बताए ।

उनले भने, 'केही मानिस गाडीमै रहेको आशंका गरिएको छ । यद्यपि पुष्टि भएको छैन । गाडीमा रहेकालाई बाढीले बगायो कि भन्ने आशंका छ ।' क्षति ठूलो भए पनि तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइसकिएको पनि उनले बताए ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको छ ।  

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर