एमालेका मन्त्रीको घुस डिलः माओवादीले संसदमा उठायाे प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’ बारे प्रधानमन्त्रीको जवाफ मागेको छ ।
माओवादी केन्द्रकी सांसद दुर्गा राईले आज (आइतबार) प्रतिनिधिसभामा बोल्दै मन्त्रीले घुसको लिड गरेको अडियो सार्वजनिक भएकोबारे सञ्चारमाध्यममा समाचार आइरहेको बताइन् ।
‘घुस डिलको विषयमा सार्वजनिक समाचार प्रशारण भइरहँदा चुप लागेर बस्ने हो ?,’ उनले भनिन्, ‘मन्त्रीजीको घुस डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन् ? यस्तो प्रकारका मन्त्रीहरूले नैतिकता देखाउने विषय त टाढाको बन्दैछ ।’
प्रधानमन्त्रीले घुस आफूले पनि लिन्नँ र अरुलाई पनि लिन दिन्नँ भनेर नपुग्ने भन्दै सांसद राईले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे संसद्लाई जवाफ दिनुपर्ने भन्दै रुलिङको माग गरिन् । ‘प्रधानमन्त्रीले म घुस पनि लिन्नँ, अरुलाई पनि लिन दिन्नँ टुक्काले पुग्छ कि पुग्दैन ?,’ उनको भनाइ छ, ‘सम्मानीय प्रधानमन्त्रीले यो विषयमा के हो भन्ने संसद्मा प्रष्ट राख्नका लागि सभामुखबाट रुलिङको माग गर्दछु ।’
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले वर्तमान सरकार ठूलो हुंकारसहित गठन भएको भन्दै एक वर्ष समेत पूरा गरिसकेको अवस्थामा संविधान संशोधनको चर्चा त हुनै छोडिसकेको बताए ।
जनसरोकारका विषयहरूमा सरकार बेखबर बन्दै गएको आरोप लगाए । सरकार राज्यका सबै अंगहरूलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरूलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको बताए । सांसद बस्नेतले सरकार विपद्को पूर्व तयारीप्रति बेखबर रहेको आरोप लगाए ।
बैठकमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले त्यसबारे छानबिन गर्न माग गरिन्। ‘कास्कीको मालपोत कार्यालयमा को पठाउनेभन्नेबारे सेटिङ, भूमि आयोगमा को पठाउने भन्ने सेटिङ,’ उनले भनिन्, ‘अहिले त बुझियो होला नि भूमि विधेयक पास गर्नुको कारण। एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ, यसको छानबिनको हामी माग गर्छौं।’
उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्ने माग कायमै रहेको भन्दै आन्दोलन जारी रहेको बताइन्।
प्रतिकृया दिनुहोस