• २०८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025

राप्रपा र रास्वपाले मागे स्पेन कार्यक्रममा गएका नफर्किएकोबारे प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसाबाट प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा स्पेन गएकाहरू नफर्किएको पुष्टि भइसकेको दावी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउन माग गरे ।

उनले भने, ‘प्रधानमन्त्रीसँग नगएको भए पनि उहाँ गएको कार्यक्रममा गएकाहरू नफर्केको पुष्टि भइसकेको छ । यसको छानबिन गरौं, संसदीय छानबिन समिति बनाउन यो सरकार किन डराएको ? संसदीय छानबिन समितिको माग हाम्रो अडान छ ।’

भिजिट भिसा प्रकरणको छानबिन गर्नको गर्न समिति नबनेसम्म आन्दोलन नछाड्ने बताए । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन हुने गरेको र यस सम्बन्धमा विगतदेखि नै संसद्‍मा कुरा उठ्दै आएको तर, गम्भीर नभएको उनको आरोप छ ।

यस्तै आज बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि यसमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । उनले किन संसदीय छानबिन समिति गठन गर्न सरकार डराएको ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने, ‘भर्खरै प्रधानमन्त्रीसँग भ्रमणमा गएका, उनीसँग नगए पनि उहाँको कार्यक्रममा जाने भनेर गएकाहरू मान्छेहरू फर्किएका छैनन् भन्ने पुष्टि भइसक्यो, यसको छानबिन गरौँ, संसदीय छानबिन बनाउन यो सरकार किन डराएको हो ?, छानबिन समितिको हामी माग गर्छाैं ।’

रास्वपाकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरू नफर्किएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छिन् ।

उनले स्पेन प्रकरणले मानव तस्करीको सञ्जाल राजनीतिक संरक्षण दिइएको आरोप लगाइन् । उनले २०७८ साल फागुनमा बनेको भिजिट भिसा सम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति पनि आपत्ति जनाइन् । उनले २०७८ मा बनेको प्रतिवेदन अहिले गृह मन्त्रालयको कुन कुनामा थन्किएको छ ? भन्दै प्रश्न गरिन् ।

उनले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि गरिन् । उनले सुशासन आयोगका अध्यक्ष समेत रहेएका प्रधानमन्त्री ओलीले स्पेन प्रकरणबारे स्पष्टीकरण दिनुपर्ने माग दोहो¥याइन् ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत पोलिएको र संघीय मामिलामन्त्रीको अडियोको समेत निष्पक्ष छानबिन गर्न माग गरिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस लेनदेनसम्बन्धी अडिओबारे संसदमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रश्न उठाएको हो ।

भूमि आयोगको कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि आइतबार प्रतिनिधि सभामा रास्वपा सांसद सुमना श्रेष्ठले त्यसबारेमा प्रश्न उठाएकी हुन् । उनले सरकार भूमि विधेयक फास्ट ट्रयाकबाट किन पास गर्न खोज्दै छ भन्ने विषय पनि अडिओ सार्वजनिक भएपछि खुलेको बताइन् ।

‘कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे र जिल्लाको भूमि आयोगको अध्यक्षमा सेटिङ ? किन भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजिएको भन्ने बुझ्यौं । आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन !,’ उनले भनिन् । सार्वजनिक भएको अडिओमा पनि एउटा मन्त्री (सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता) ले अर्को मन्त्री (भूमि मन्त्री बलराम अधिकारी) लाई पोलेकोले यसमा पनि छानबिन गर्न सांसद श्रेष्ठले माग गरेकी छन् । ‘अडिओमा भनिएको बा को हुन् ? दुई तिहाइ भनेको मिलिजुली भाग खान हो ? कसको प्रश्रय ? कस्तो तागत ? कस्तो संस्कार ? के फरक भयो यी सबै वर्ष ? जनताले के पाए ? संसदीय समिति त चाहिन्छ चाहिन्छ,’ उनले भनिन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर