• २०८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025

व्यक्ति हेरेर नीतिः विद्यालाई रोक्ने एमालेमा उमेरहद हटाउने !

काठमाडौं । विधान महाधिवेशनको मिति तोकिएपछि नेकपा (एमाले)भित्र उमेरहद नराख्ने गरी बहस सुरु भएको छ । नेतृत्वको जामलाई हटाउने र समयानुकूल बनाउने गरी एमालेले यसअघि ल्याएको ७० वर्षे उमेरहदलाई हटाउने गरी छलफल सुरु भएको हो ।

एमालेले राजनीतिमा उमेरहद निर्धारणलाई महत्त्व दिँदै आएको थियो । तर, पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा सक्रिय हुने घोषणासँगै उमेरहद नलाग्ने प्रस्ताव अघि सारिएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव लैजाने बताएपछि पार्टीभित्र नेताहरू अनन्तकालसम्म सक्रिय हुने अवस्था सिर्जना हुनेछ ।

पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी सदस्यता नवीकरण गरेको र सक्रिय राजनीति अगाडि बढाउने भण्डारीको १४ असारको घोषणापछि एमालेभित्र हलचल पैदा भएको छ । जसका कारण संस्थापन पक्षले ७० वर्षे उमेरहद हटाउन नेता कार्यकर्तासँग लबिङ सुरु गरेको छ ।

एमालेमा विद्याको भावी रणनीतिलाई लिएर चौतर्फी चासो छ । आगामी महाधिवेशनमा उनले आफूलाई एमालेको अध्यक्षको दाबेदारका रूपमा पेस गरिरहेका बेला उनलाई छेक्न र प्रधानमन्त्री केपी ओलीलाई नै अघि सार्न उमेरहद हटाउने तयारी भएको हो ।

पार्टी केन्द्रीय विभागहरूको भेलालाई आइतबार पार्टी मुख्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेरहद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको दाबी गरे । विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको उनको दाबी थियो ।

२०७८ मङ्सिर १० गते सौराहामा भएको केन्द्रीय कमिटी बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको थियो ।

‘२०७८ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति बनाउने र १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको थियो,’ पोखरेलले भने, ‘पार्टीमा देखिएको तत्कालीन संकटलाई व्यवस्थापन गर्न ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी बनाइएको हो । विधानको दोस्रो संशोधनका रुपमा केन्द्रीय निकायमा १५ सदस्यीय समितिलाई बढाएर २५ सदस्यीय बनाइएको बताउँदै उनले विधान महाधिवेशनमा अध्यक्षमा दुईपटक मात्र उम्मेदवार हुने प्रावधान राखिएकोमा त्यसलाई सच्याइएको दाबी गरे ।

महासचिव पोखरेलले भने, ‘हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौं। उहाँ आठौं महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । नवौंमा विजयी हुनुभयो । विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो ।’

महासचिव पोखरेलको भनाइलाई आधार मान्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली अझै एमाले अध्यक्षको उम्मेदवार बन्नेछन् । विधानको यसै प्रावधानलाई टेकेर पुष्प कँडेल तेस्रोपटक लेखा आयोगको अध्यक्ष चयन भएको बताउँदै महासचिव पोखरेलले २०८० बैशाख ९ गते मुकुन्द न्यौपाने पार्टी प्रवेश गराउदा ७० वर्षे कार्यकाल हटाइएको जानकारी दिएका थिए ।

तर, एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीको महाधिवेशन केन्द्रित बैठकका प्रति असन्तुष्ट व्यक्त गरेका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विभागहरूको बैठकमा आफ्नो कुरा राख्न नदिएको भन्दै उनले असन्तुष्ट व्यक्त गरेका हुन् । उनले बैठक एकोहोरो बनाइएको आरोप लगाएका थिए ।

’विधान महाधिवेशनबारे सचिवालयद्वारा आयोजना गरिएको भेला एकोहोरो भाषण गरेर कार्यालयले छापेका तीन विधानमा गरिएको फेरबदललाई बाँड्ने मात्रैमा सीमित गरेको देखियो,’ उनले भनेका छन् ।

विधान महाधिवेशन केन्द्रित भएर पार्टीका सबै केन्द्रीय विभागहरूको बैठक राखेको थियो । उक्त बैठकमा यथार्थ कुरा राख्न नदिइएको भन्दै थापाले असन्तुष्ट जनाएका छन ्। ’यथार्थ कुरा राख्न समय उपब्ध गराएन। महासचिवले भाषण गरेर कार्यक्रम सकिएको घोषणाा गरियो । पार्टी पङ्क्तिमा कुनै भ्रम नहोस्,’ थापाले भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर