• २०८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025

सरकारकाे एक वर्षः प्रचण्डले संसदमा भने– दुई दल संसद ‘विचौलियाको खेलमैदान’ बनाउँदै छन् (भिडियाे)

काठमाडौं । संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका छन्।

उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको टिप्पणी गरे।

“के हामी शान्ति सम्झौताका बेला देखिएको सपना अनुसार अघि बढिरहेका छौं ?” भन्ने प्रश्न गर्दै प्रचण्डले भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको, र पछाडि पारिएका समुदायलाई राज्यले आवश्यक संरक्षण दिन नसकेको उनले बताए।

संसद र संसदीय समितिमा भैरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै उनले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै चर्को आलोचना गरे।

अध्यक्ष प्रचण्डले दुई ठूला दलहरूको मिलोमतोले संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे।

उनले लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिँदै, यदि गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विस्फोटक बन्न सक्ने चेतावनी दिए।

यसैबीच ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।

सम्बोधनको सुरुवातमा उनले राष्ट्रिय स्वाधिनता र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि प्राण उत्सर्ग गर्ने सहिद, वेपत्ता तथा घाइते योद्धाप्रति श्रद्धा र सम्मान प्रकट गर्नुभयो। रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै प्रचण्डले नेपालको हिमाली क्षेत्र जलवायु संकटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गरे ।

उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। गतवर्ष राजधानीमै चार घण्टा उद्धार नपाएर नागरिकको मृत्यु भएको घटनालाई स्मरण गर्दै यस वर्ष थप क्षति हुन नदिन सरकारलाई गम्भीर तयारीमा जुट्न आग्रह गरे।

“विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो,” प्रचण्डले भने, “हाम्रो पार्टी, माओवादी केन्द्र, वाइसिएल र जनवर्गीय संगठनहरू प्रभावित क्षेत्रमा सक्रिय छन्।” साथै, विपद् प्रतिकार्यमा सहभागी सबैलाई उनले धन्यवाद ज्ञापन गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर