ओलीलाई विद्याको सन्देशः कार्यकर्तालाई आतंकित पार्ने प्रयास भयाे, पछि हट्दिन

काठमाडौं । नेकपा एमाले भित्रको अन्तर्कलह उत्कर्षमा पुगेका बेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियताको यात्रा नरोकिने चेतावनी दिएकी छन् । उनले आफू एमालेको सक्रिय राजनीतिमा प्रवेश गरिसकेकाले अब पछि नहट्ने सन्देश अध्यक्ष केपी ओलीलाई दिईन् ।
आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन् ।
भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्ने समेत प्रष्ट पारेकी छन् । उनले जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको बताएकी छन् ।
भण्डारीले आफू कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको भन्दै अनावश्यक रुपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाइन् ।
भण्डारीले भनिन्- दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि । अहिले जसरी कार्यकर्तालाई टेरर गर्ने, बोल्न नदिने र बोलेबापत कारवाही गर्ने भन्न थालिएको छ यो ठिक छैन ।
भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुरा भएको बताइन् । उनले नयाँ वर्षको आफ्नो वक्तव्यपछि ओली चिढिएको समेत सुनाइन् ।
'म राष्ट्रपति भइरहेका बेला पनि ओलीजीसँग कुराकानी हुँदा म सक्रिय राजनीतिमा फर्कने हो भनेर भन्थेँ, यो कुरा ओलीजीलाई राम्रोसँग थाहा थियो, उहाँले त्यसबेला भइहाल्छ भन्ने खालका कुरा गर्नुहुन्थ्यो तर गम्भीर वार्तालाभ भने त्यो विषयमा भएको थिएन । म राष्ट्रपति हुँदा नै सक्रिय राजनीतिमा आउने भन्थेँ, राष्ट्रपतिबाट हटेपछि भाइहरू (एमालेका नेताहरू) घरमा आउने र तपाईं अघि बढ्नुपर्छ भनिरहेका थिए, म पनि सक्रिय राजनीतिमा फर्कने जोखना हेरिरहेको थिएँ । नयाँ वर्षमा शुभकामना दिएँ, त्यसले ओलीजी चिढिनुभयो, त्यसपछि असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मैले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी हुँ।'
उनले २०८० सालमै एमालेको सदस्यता नवीकरण गरेको पनि बताइन्। २०७२ देखि २०८० सम्मको दस्तुर तिरेर आफूले एमालेको सदस्यता नवीकरण गरेको उनको दाबी थियो। ‘राष्ट्रपतिबाट हटेको ६ महिनाभित्रै मैले एमालेको सदस्यता नवीकरण गरेको थिएँ, त्यसबेला खासै बहसको विषय बनेन। सदस्यता नवीकरण गरेकोले म सक्रिय राजनीतिमा फर्कनु सामान्य विषय हो,’ उनले भनिन्।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता पेन्डिङमा रहेको बताएका थिए। यो कुरा सुनेपछि आफूले अध्यक्ष ओलीलाई फोन गरेको भण्डारीको भनाइ छ।
‘मेरो सदस्यता पेन्डिङमा छ भन्ने कुरा गरिएको रहेछ, त्यो पेन्डिङ भनेको के हो?’ त्यसपछि भेट्ने कुरा भएको उनले बताइन्। अध्यक्ष ओलीले बालुवाटार आउन भने पनि आफूले च्यासलमै भेटवार्ता गर्ने कुरा राखेपछि साउन ४ गते च्यासलमा भेटवार्ता भएको उनको भनाइ छ।
‘च्यासलमा भेट्ने भनेपछि उहाँले नै अपराह्न ३ बजेको समय दिनुभयो, धेरैबेर पर्खन नलगाउनुस् मेरो खुट्टा दुख्ने समस्या छ भनेको थिएँ, ३ बजे समय दिए पनि ४ बजे उहाँ आउनुभयो, त्यतिन्जेल एमालेका नेताहरूसँग कुराकानी गरेर बसेको थिएँ,’ उनले भनिन्।
च्यासलमा अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीति, कांग्रेससँगको समीकरणलगायत विषयमा कुराकानी भएको उनको भनाइ छ। तर अध्यक्ष ओलीले पार्टी सदस्यता राजनीतिक विषय भएको र यसमा पार्टीले निर्णय लिने बताएका थिए।
‘तपाईं राष्ट्रपति भइसकेको मानिस हो, सम्मानित पदमा बसेकै राम्रो हुन्छ, बाहिर पनि टीकाटिप्पणी गर्छन्, अनेक प्रचार गर्छन्,’ अध्यक्ष ओलीको भनाइ थियो।
तर अध्यक्ष ओलीसँग आफूले सदस्यता नवीकरण भइसकेको र आफू सक्रिय राजनीतिमा अघि बढिसकेको कुरा राखेको पनि भण्डारीले बताइन्। ‘पार्टी सदस्यता नवीकरण भइसकेको छ, मेरा लागि योभन्दा ठूलो अर्को काम हुन सक्दैन,’ उनले अध्यक्ष ओलीलाई भनेकी थिइन्।
साथै भण्डारीले केही पुराना कुरा पनि निकालिन्। २०७० सालमा आफूलाई सभामुख बन्ने प्रस्ताव आएको प्रसंग निकाल्दै उनले भनिन्, ‘मलाई त्यसबेला पार्टीका नेताहरूबाटै सभामुख बन्न प्रस्ताव आएको थियो, हिँडडुल गरिराख्नुपर्ने मानिस म ८ घन्टा लगातार कुर्सीमा बस्न सक्दिनँ भनेर सभामुख भइनँ,’ उनको भनाइ थियो, ‘त्यसपछि सभामुखमा सुवास नेम्वाङ नै बन्नुभयो।’
भण्डारीले अध्यक्ष ओलीप्रति कटाक्ष पनि गरिन्। अध्यक्ष ओली आफ्नै विचारबाट पछि हटेको उनको आरोप छ। अध्यक्ष ओलीले विगतमा पार्टी लोकतान्त्रिकरणको विचार राखे पनि अहिले उमेर हद र दुई कार्यकाल निर्णय उल्टाएको उनको भनाइ छ।‘ओलीजी आफ्नै विचारबाट पछि फर्कनुभयो, लोकतान्त्रिकरणको विचारबाट उहाँ हट्नुभयो,’ उनले भनिन्।
पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुने उनको दाबी छ। ‘राष्ट्रपति भएको मानिस राजनीतिमा फर्कन हुन्न भनिरहेका छन्। यो अनैनिक पनि भनेका छन्। के पार्टीको निर्णयअनुसार राष्ट्रपतिमा जानु अनैनिक हो? म जहाँ गए पनि पार्टीकै आदेशअनुसार र निर्णयअनुसार गएको हुँ, काम गरेको हुँ,’ उनले भनिन्।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपतिको प्रवक्ता नबन्न र बने कारबाही गर्ने चेतावनी दिएको संकेत गर्दै उनले भनिन्, ‘नेताहरूलाई नबोल्न भनिएको रहेछ, तर म अघि बढिसकेँ।’
एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन हुन्न भनेर निर्णय गरेमा के गर्ने भन्ने प्रश्नमा उनले भनिन्, ‘यस्तो कठोर निर्णय केन्द्रीय कमिटीले लिँदैन भन्ने लाग्छ, यदि लियो भने त्यसैबेला प्रतिक्रिया दिउँला।’
प्रतिकृया दिनुहोस