• २०८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025

'च्यासलमा ओलीलाई मरणोपरान्त अध्यक्ष भइराख्न आरती उतारिँदैछ'

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेमा भइरहेको नेतृत्व हस्तान्त्ररणको बहसप्रति कडा कटाक्ष गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष नेतृत्व छाड्दिनँ भन्दा पनि दोस्रो तहका नेताहरुले प्रतिवाद गर्न नसकेको भन्दै भुसालले कटाक्ष गरेका हुन् ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्सिज्मले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले युवा पुस्ताले नेतृत्व हस्तान्तरणको बहस उठाउँदा पनि सुनुवाई नभएकोमा असन्तुष्टि ब्यक्त गरे ।

नेतृत्व परिवर्तनको बहस उठिरहेको भन्दै उनले भने, ‘हाम्रो आन्दोलनको नेतृत्व अझै के भन्छ भने, अब २० वर्ष कसैले मेरो कुर्सी नहेर्नु, अर्कोले लजाइलजाइ बीसै वर्ष त होइन, १०–१५ वर्ष चैं मैले अरुलाई तयार गर्छु तर छोड्दिन्छु ।’

महासचिव घनश्याम भुसालले विभिन्न समयमा भएका आन्दोलनबाट व्यवस्था परिवर्तन गरिए पनि सुशासन कायम हुन नसकेको बताएका छन् । पछिल्लो ३५ वर्षमा देशमा व्यवस्थागत परिवर्तन भए पनि भ्रष्टाचार अन्त्य हुन नसकेको उनको भनाइ छ ।

‘पञ्चायती शासन अन्त्य गर्न सकिन्छ, प्रजातन्त्र स्थापना गर्न सकिन्छ, राजतन्त्र फाल्न सकिन्छ, गणतन्त्र ल्याउन सकिन्छ, नाकाबन्दीका विरुद्ध भारतका गालामा तमाचा हान्न सकिन्छ, संविधान जारी गर्न सकिन्छ, यो सबै हुँदो रहेछ, तर घुस नखाने राज्य व्यवस्था बनाउन सकिँदो रहेनछ, यो हाम्रो दुर्भाग्य’, उनले भने । भुसालले एमाले, माओवादीलाई कटाक्ष गर्दै भने, ‘त्यत्रो क्रान्तिकारी पार्टी बनाउन सकिँदो रहेछ तर, घुस नखान सकिँदो रहेनछ ।’

पार्टी नेतृत्वकर्ताहरुले घुस खाएर पार्टी कब्जा गरेको भन्दै उनले आक्रोश पोखे । दलाल पूँजीवादकै विरुद्ध लडेर आएका कम्युनिष्ट पार्टीहरु अहिले उनीहरुको शरणमा परेको भुसालको छ ।

‘घुस खाने र पार्टी नेतृत्व कब्जा गर्नका लागि गुटबन्दी गर्न नसकिँदो रहेछ’, उनले भने । कम्युनिष्ट आन्दोलन स्खलित भएको भन्दै उनले ३५ वर्षयताको उपलब्धी हेर्दा विचित्र लाग्ने बताए । नेताहरुले आफ्नै छोराछोरीलाई रोजगारी दिन नसकेको भन्दै उनले मुलुकमा बेथिती बढेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर