जर्मनलाई स्तभ्द पार्दै स्पेन पुग्यो युरोकपको फाइनलमा

काठमाडौं । आइटाना बोनमटीले गरेको एक मात्र गोलको मद्दतले विश्व च्याम्पियन स्पेनले जर्मनीलाई १–० ले पराजित गर्दै बिहीबार वुमेन्स युरो २०२५ को फाइनल यात्रा तय गरेको छ ।
अब उपाधिको भीडन्तमा उसले इंग्ल्यान्डको सामना गर्नेछ ।
ज्युरिचमा भएको खेल टाइब्रेकरतर्फ अग्रसर भएको बेला बेलाेन डे’अर विजेता बोनमटीले १ सय १३ औँ मिनेटमा निर्णायक गोल गरिन् । पूरा खेल अवधिमा बार्सिलोनाकी बोनमटीको प्रदर्शन उत्कृष्ट रह्यो ।
स्पेनले जर्मनीलाई महिलाको अन्तर्राष्ट्रिय फुटबलमा हराएको यो नै पहिलो पटक हो । अब उसले पहिलो पटक युरोको फाइनल पनि खेल्नेछ ।
फाइनल आइतबार बासेलमा हुनेछ । यो सन् २०२३ को विश्वकप फाइनलको पुर्नरावृत्ति हुनेछ । त्यसमा स्पेनले इंग्ल्यान्डलाई सिड्नीमा १–० ले नै पराजित गरेको थियो ।
'म निकै गर्व गर्छु,' दुई पटक बालोन डि’ओर जितेकी बोनमातीले खेलपछि भनिन्,'हामीले सारा प्रतियोगिता उत्कृष्ट खेलेका छौं। आजको खेल कठिन थियो किनकि हामी जर्मनीसँग खेल्दै थियौं। तर, हामीले इतिहास रचेका छौं।'
११३औं मिनेटमा एथेनेया डेल कास्टिलोले पास दिइन्, जसमा बोनमातीले रेबेका कनाकलाई छलाउँदै जबरजस्त फिनिश गरिन्। 'हामीले अध्ययन गरेका थियौं कि उनी (गोलकिपर) नजिकको पोस्ट खुला राख्छिन्,' बोनमातीले भनिन्,'त्यही भएको थियो र मैले गोल गरें।'
स्पेनले पछिल्ला दुई वर्षमा महिला विश्वकप र नेशन्स लिग जितिसकेको छ। अब युरोपियन उपाधि पनि थप्ने लक्ष्यमा छन्। प्रशिक्षक मोन्ट्से टोमेको टोलीले आइतबार इंग्ल्यान्डविरुद्ध फाइनल खेल्नेछ।
इंग्ल्यान्डले पनि आफ्नो सेमिफाइनलमा इटलीलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको थियो।
प्रतिकृया दिनुहोस