• २०८२ श्रावण १० शनिबार
  • Saturday, 26 July, 2025

‘भिजिट भिसा’: रोकिएन अवैध वहिरगमन, भारतबाट ४७ महिलाको उद्धार

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले ‘दिल्ली रुट’ प्रयोग गरेर विदेश पठाउन लागेका ४७ जना नेपाली महिलालाई भारतबाट उद्धार गरिएको छ। बुधबार साँझ दिल्लीस्थित विमानस्थलबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइँदैछ।

सरकारी उच्च स्रोतका अनुसार, भिजिट भिसामा खाडी मुलुक पठाउन लागिएका ती महिलाहरूलाई दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा उद्धार गरिएको हो। ‘नेपाली महिलाहरूलाई दिल्ली विमानस्थलबाट उद्धार गरिएको छ,’ सरकारी स्रोतले भन्यो।

उद्धार गरिएका महिलाहरूलाई काठमाडौं नल्याई भैरहवा ल्याइने र त्यहाँस्थित सुरक्षित गृह (सेफ हाउस) मा राखेर मनोपरामर्श (काउन्सिलिङ) दिइने तयारी छ। ‘उनीहरूलाई नेपाल ल्याएर सेफ हाउसमा राखी काउन्सिलिङ गर्छौं,’ स्रोतले भन्यो।

भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी बढेको गुनासोपछि गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा व्यापक सुधारको कदम चालेको छ।

मन्त्रालयले त्यहाँ कार्यरत पुराना कर्मचारीहरूको ‘सेटिङ’ तोड्न लोकसेवा आयोगबाट हालै सिफारिस भएका ४४ जना नयाँ अधिकृतहरूलाई खटाएको छ।

विमानस्थलमा कडाइ भएपछि ट्राभल एजेन्सीहरूले सेटिङ मिलाएर नेपालीलाई विदेश पठाउन नसक्ने अवस्था आएको छ। यही कारण तस्करहरूले काठमाडौंको सट्टा भारतको दिल्लीलाई नयाँ ‘ट्रान्जिट’ का रूपमा प्रयोग गर्न थालेको यो घटनाले पुष्टि गरेको छ।

यसैगरी, अध्यागमन विभागले विमानस्थलमा सर्भर डाउन भएको बहानामा शंकास्पद गतिविधि हुन नदिन साउन १ गतेदेखि वैकल्पिक ‘डाटा सेन्टर’ समेत स्थापना गरेको छ। यसले गर्दा सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिटी) मा समस्या आए पनि विमानस्थलको सेवा प्रभावित नहुने विभागले जनाएको छ।

गृह मन्त्रालयले विमानस्थलको अध्यागमनमा सुधार ल्याउन ४४ जना नयाँ  कर्मचारी खटाएको छ। जसमा अधिकृतहरू अनिल चापागाईं, टामन सिग्देल, दीपेन्द्रप्रसाद आचार्य, रोशन गुरागाईंलगायत छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर