• २०८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025

नाउपाको घर झगडाः रञ्जितामाथि कारबाही हुनसक्ने रेशमको चेतावनी

काठमाडौं । आन्तरिक घर झगडाको नराम्रो असर देखिएको पश्चिम तराई केन्द्रीत नागरिक उन्मुक्ति पार्टी नाउपामा अहिले भ्रष्टाचारको विषयले नयाँ तरंग सृजना गरेको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठनै सरकारी जग्गा हिनामिनामा मुछिएपछि संरक्षक रेशम चौधरीले नै प्रश्न उठाएका थिए । त्यसपछि श्रेष्ठले अध्यक्षको जिम्मेवारीबाट पछि हट्दै कार्यवाहक अध्यक्ष तोकिन । 
तर सो प्रकृयामा पनि श्रेष्ठका श्रीमानसमेत रहेका चौधरीले बिरोध गरेका छन् । 

अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन ।

तर यस कार्यकाे बिराेध गर्दै चाैधरीले भने, 'बास्तोलाजीलाई कार्यवाहक तोकेको जानकारी मैले सामाजिक सञ्जालबाट पाएँ । पार्टी केन्द्रीय समितिको निर्णयबिनै कार्यवाहक तोकेकाले रञ्जिताजीलाई स्पष्टीकरण सोधिएको छ । २१ सदस्यीय संस्थापक केन्द्रीय समितिमा बास्तोलाजी हुनुहुन्न । यस विषयमा रञ्जिताले स्पष्टीकरण दिएपछि थाहा होला । अध्यक्षले मनपरी कार्यवाहक तोक्न मिल्दैन । पार्टी विधानमा अध्यक्षले निरंकुश भएर मनपरी गर्न पाइँदैन भन्ने लेखिएको छ । पार्टीमा कुरै नगरी कार्यवाहक अध्यक्ष तोकेको विषयलाई बहुमत केन्द्रीय सदस्यले अस्वीकार गरिसकेका छन् ।'

चैधरीले अध्यक्ष श्रेष्ठमाथि कारबाही नै हुनसक्ने संकेत गरे ।

'पार्टीको बहुमत केन्द्रीय सदस्यको आग्रहलाई नमानेपछि पार्टी अनुशासन आयोग सक्रिय हुन्छ । पार्टी अनुशासन आयोगले यसबारे स्पष्ट गर्नेछ ।'

उता श्रेष्ठले भने विधान अनुसार काम गरेकाे तर्क गरेकी छन् ।

'केन्द्रीय समिति र संसदीय दलको बहुमतको निर्णयलाई नमान्नुलाई कसरी विधानअनुसार भन्न मिल्छ ? केन्द्रीय समिति बैठक बोलाउने दायित्व अध्यक्षकै हो । तर चासो राख्नुभएन । हुन त रञ्जिता मेरी धर्मपत्नी हो । पार्टी एउटा कुरा हो, धर्मपत्नी अर्को कुरा हो । पार्टी निर्णय सबैले मान्नैपर्छ । पार्टी अध्यक्षलाई गम्भीर आरोप लागेपछि उन्मुक्ति पार्टीलाई गाली आएको छ । रञ्जिताले आफ्नो कुरा स्पष्ट गर्न नसक्दा नेता–कार्यकर्ताले अध्यक्षमाथि लागेको आरोपको प्रतिवाद गर्न सकेका छैनन् । उन्मुक्ति पार्टी रेशम चौधरी जेलनेल परेर बनेको हो । पश्चिम नेपालका थारूको त्याग, संघर्षबाट बनेको पार्टी हो । के आधारमा रञ्जिताले पार्टीलाई फेवातालको किनार (बास्तोलालाई कार्यवहाक अध्यक्ष) पुर्‍याउनुभयो ? जवाफ दिनुपर्छ ।'

नाउपामा पार्टीका संरक्षक एवं रेशम चौधरीको अगुवाइमा बहुमत पार्टी संस्थापकहरूको बैठकले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार २४ घण्टे ‘अल्टिमेटम’ दिएका थिए । श्रेष्ठले भने आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म भन्दै आइतबार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी छन् । ‘यस विषम परिस्थितिमा, हाम्रो नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा ९ बमोजिम तपार्इं वरिष्ठ नेता शिव बास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्रमार्फत तोकिएको छ,’ बास्तोलालाई दिएको पत्रमा उनले भनेकी छन् ।

पार्टीको विधानको धारा १९ मा अध्यक्षको अधिकार र कर्तव्यसम्बन्धी व्यवस्था छ । त्यसको उपधारा ६ मा ‘आफूमा निहित अधिकार अन्य पदाधिकारीलाई प्रत्यायोजन गर्ने’ भनिएको छ । संरक्षक चौधरी पक्षका नेताहरू संस्थापक केन्द्रीय सदस्यलाई नै कार्यवाहकको जिम्मेवारी दिनुपर्ने तर्क गरिरहेका छन् । श्रेष्ठ पक्षधर नेताहरू भने कार्यवाहक तोक्ने अधिकार अध्यक्षको भएको दाबी गरिरहेका छन् । अध्यक्ष श्रेष्ठ पक्षधर संस्थापक केन्द्रीय सदस्य कोमल ज्ञवालीले भनिन्, ‘कसलाई कार्यवाहक तोक्ने भन्ने कुरा अध्यक्षको अधिकार क्षेत्रमा पर्छ । विधानले कार्यवाहक प्राप्त गर्ने कुनै मापदण्ड तोकेको छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर