• २०८२ श्रावण १६ शुक्रबार
  • Friday, 1 August, 2025

प्रचण्डमाथि जनार्दनको प्रहारपछि माओवादीमा व्यक्त ४ विचार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लामो समयदेखि अन्तर्कलहविहिन जस्तै थियो । सानो संख्यामा रहेको असन्तुष्ट पक्ष सुसुप्तझैं थियो । तर त्यो पक्ष पछिल्लो चरणमा सतहमा आउने, सार्वजनिक फोरमममा अभिव्यक्त हुने, आन्तरिक फोरम  र संठगनहरुमा छुट्टै अस्तित्वका लागि गुट बनाउन अभ्यस्त छ । जसका कारण माओवादीभित्र बेला-बेला नयाँ तरंग सृजना हुने गरेको छ । 

माओवादीको ठूलो पक्ष अध्यक्ष प्रचण्डको नेतृत्व र छातामानि रमाइरहेको छ । वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता नारायणकाजी श्रेष्ठसमेत आफूले अध्यक्ष प्रचण्डको विकल्प नसोचेको वा पहिलो नेतृत्व आफूले नखोजेको तर पार्टी भने निरन्तर क्रान्तिकारी रहिरहनुपर्ने तर्क गर्दछन् ।

समाज रुपान्तरणका लागि समाजवादसम्मको यात्रमा हिड्नका लागि एक क्रान्तिकारी पार्टी बनाउने र त्यसको नेतृत्व अध्यक्ष प्रचण्डले नै गर्ने कुरामा आफ्नो कुनै फरक मत वा अस्पस्टता नरहेको बताउँछन् । 

उपाध्यक्षहरु कृष्णबहादुर महरा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, नन्दबहादुर पुन अध्यक्ष प्रचण्डकै 'स्ट्याम्प' हुन् भन्दा फरक पर्दैन । महासचिव देव गुरुङ प्रचण्डले नै बनाएका पात्र हुन् । कतिपय अन्तरतष्ट्रिय तथा सामरिक महत्वका सवालमा गुरुङ कडा अभिव्यक्ति दिने गर्दछन् । तर अन्ततः उनी पनि प्रचण्डकै छहारीमुनि रमाइरहेका नेता हुन् । 

उपमहासचिवहरु वर्षमान पुन, हरिबोल गजुरेल, गिरिरजामणी पोखरेल, लिलामणी पोख्रेलजस्ता नेताहरु कतिपय सवालमा प्रचण्डले कमजोरी गर्दा सच्याउँदै प्रचण्डकै नेतृत्वमा अघि बढ्नुपर्ने तर्क राख्दछन् ।

मात्रिका यादव, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, हितमान शाक्यलगायतका नेताहरु पनि प्रचण्डमाथि प्रश्न गर्ने मनसायमा छैनन् । पार्टीको तल्लो तहसम्मै पनि लगभग यस्तै अवस्थामा माओवादीहरु छन् ।

अर्का उपमहासचिव जनार्दशन शर्माले भने विगत केही वर्षअघि देखि नै नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदै, बहस गर्दै आएका छन् । अहिले उनको त्यो बहसको शैली र विषय फेरिएको छ । उनी सार्वजनिक मञ्चहरुमै अध्यक्ष प्रचण्डमाथि कटु आलोचना गर्ने र संगिन आरोपहरु लगाउन पछि नपर्ने अस्थामा पुगेका छन् ।

साउन ७ गते पुष्पलाल स्मृति दिवसमा शर्माले व्यक्त गरेको प्रचण्डले पार्टी भित्र जनवादको अभ्यास गर्न दिदैनन् भन्ने भनाई र प्रचण्ड पनि अरु प्रधानमन्त्री जस्तै हुन् । नेपालका कम्युनिष्ट प्रधानमन्त्रीहरुमा मनमोहन बारेक सबैले भ्रष्टाचार गरेको बताए । 

माओवादी पार्टीले सुशासनलाई मुख्य एजेण्डा बनाएर देशभर अभियान चलाइरहेका बेला उपमहासचिव शर्माले नै प्रचण्डमाथि भ्रष्टको आरोप लगाएपछि भने माओवादी बृत्त शर्माप्रति आक्रामक देखिन्छ ।

नेता लेखनाथ न्याैपानले शर्माप्रति संकेत गर्दै लेखेका थिए, 'राजनीतिमा लागेर ज-जसले अकुत सम्पत्ति थुपारे उनीहरूले नै सम्पति छानविनकाे माग गर्नु जस्ताे वेइमानी अरु के हाेला !?'

 ‘दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ उनले मंगलबार सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए ।

शर्मा पक्षको भनेर चिनिएकाहरु पनि यसकारण केही अपवादबाहेक उनको पक्षमा खुल्न सकेका छैनन् । किन भने सिंगो माओवादी बृत्तलाई प्रचण्ड अरु नेताहरु जस्तै हुन्, अरुले जस्तै भ्रष्टाचार र सेटिङमा देश चलाए भन्ने कुराको विश्वास छैन । त्यो हदसम्मको अध्यक्ष प्रचण्डमाथिको आक्रमण त्यो पनि सार्वजनिक समारोहमा माओवादी नेता कार्यकर्ताले पचाउने कुरै भएन । 

त्यसैले यस विषयमा अध्यक्ष प्रचण्डले घुमाउरो भाषामा खण्डन गरिसकेका छन् भने अन्य अधिकाँश नेताहरु यो वा त्यो पक्षमा विभक्त भएका छन् । 

शर्माका विषयमा माओवादीका नेता कार्यकर्ता मूलभुत रुपमा चार खण्डमा विभाजित भएको देखिन्छ । 

एउटा पक्ष शर्मालाई पार्टीको आगामी स्थायी समितिको बैठकबाट स्पष्टीकरण हुँदै कारबाहीसम्म गर्नुपर्छ भन्ने ठान्दछ । अर्को पक्ष छ, कारबाही नै त गर्न पर्दैन, तर स्पष्टीकरण भने सोध्नुपर्ने धारणा राख्दछ ।

अर्को तेस्रो पक्ष छ जसले यसबारे स्थायी समितिमा छलफल गर्ने तर आइन्दा अन्तरसंघर्षका विषय सार्वजनिक बइसमा नभइ पार्टीका आन्तरिक फोरमहरुमा गर्ने, अभिव्यक्ति फरक भएपनि कामकारबाहीमा एकरुपता कायम गरेर जानुपर्ने पक्षमा छ । 

चौथो पक्ष भने शर्माले ठीक गरेका हुन्, अब अध्यक्ष प्रचण्डले पार्टीको सबै जिम्मेवारी छोडेर सम्मानजनक रुपमा बिदा हुनुपर्छ, भन्ने पक्षमा देखिन्छ । 

‘अवसरवादको कुनै विचार, राजनीति, निष्ठा र सिद्धान्तको सीमा हुन्न । यो सीमारहित मान्छे आकृतिको स्वादे जिब्रो हो । यो जिब्रोले पाएसम्म खान्छ र नपाएको दिन लापरबाह बमिट गर्छ,’ केन्द्रीय सदस्य रामप्रसाद सापकोटले उपमहासचिव शर्मालाई संकेत गर्दै लेखेका छन् । 

नेता सुदन किराँतीले लेखेका छन्, ‘प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौं, नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाइराख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरौं ।’

नेता माधव सापकाेटाले लेखेका थिए, 'नेतृत्व त्यो हो, जसले विचार र सिद्धान्तको आधारमा आगामी कार्यक्रम तय गर्दै आफ्ना पंक्ति र समाजलाई प्रशिक्षित गर्दै अगुवाई गर्दछ। आफ्नै नेतृत्वको भण्डाफोर गरेर न समाजलाई आशा दिलाउन सकिन्छ, न त पार्टी र आन्दोलनलाई बलियो बनाउन सकिन्छ। आज आन्दोलन र नेतृत्वलाई सराप्ने प्रियतावादीहरु वजारमा ध्यासछ्यास्ती छन्। तर अहिलेको चुनौती सामना गर्न आवश्यक छ – घनिभूत आन्तरिक छलफल, सुदृढ पार्टी संरचना र बलियो नेतृत्व !'

यी फरक चार धारणाकाबीच साउन २३ बाट सुरु हुने स्थायी समिति बैठकमा पार्टीको आन्तरिक एकता शीर्षकमा रहेयी यस विषयमा पनि छलफल र छलफलको निचोडका आधारमा निर्णय हुने प्रचण्ड निकट एक नेता बताउँछन् । 

२०८१ साउनमा भएको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ कोलिखित मत राख्दै पार्टी प्रणाली लोकतान्त्रिक नभएको, नेतृत्व हस्तान्तरण हुनुपर्ने, वैचारिक नीति स्पष्ट हुनुपर्ने माग गरेका थिए ।

त्यसयता देशभर परामर्श बैठकहरू पनि भए । ती बैठकमा शर्माले पुरानाे अडान छाेडेकाे र अध्यक्षकाे विकल्प नसाेचेकाे बताउने गरेका थिए । तर अहिले उनकाे रूप फेरिएकाे छ । याे फेरिएकाे रूपमा अन्य कतिपय वाह्य पक्षकाे हात रहेकाे छ कि भन्ने प्रचण्ड पक्षधरकाे शंका व्यक्त हुने गरेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर