• २०८२ श्रावण २० मंगलबार
  • Tuesday, 5 August, 2025

बागमतीमा कांग्रेसकाे कलहः छाेड्नुअघि मुख्यमन्त्री लामाले बोलाए मन्त्रिपरिषद् 

हेटाैंडा । बामगती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक राख्दै छन्। 

मुख्यमन्त्री लामाले आज दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठकमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त लामाले भोलिपल्ट साउन ९ गते पद तथा गोपनीयताको शपथ खाएका थिए। १४ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा आज बस्ने मन्त्रिपरिषद् ९ मन्त्री मात्रै सहभागी हुनेछन्।

९ साउन २०८२ मा राजीनामा दिएका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई मुख्यमन्त्री लामाले बर्खास्त गरिदिएका थिए भने खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम खड्काले गत बुधबार बिहान मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।

आज बस्ने क्याबिनेट बैठकमा एमालेबाट ६ र कांग्रेसबाट मुख्यमन्त्रीसहित ३ मन्त्री सहभागी हुनेछन्।

एमालेका कृषि मन्त्री प्रकाश श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, उद्योग मन्त्री सुकमाया तामाङ र स्वास्थ्य मन्त्री किरण थापा रहनेछन् भने कांग्रेसका मुख्यमन्त्री लामा सहित आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र सामाजिक विकास मन्त्री हरिप्रभा खड्की रहनेछन्।

क्याबिनेट बैठक सकिएलगत्तै मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्ने तयारी छ। यसपछि उनले राजीनामा दिने बताइएको छ। 

काठमाडौँमा उपचाररत प्रदेश प्रमुख देवकोटा आजै हेटौँडा फर्किएमा लामाले उनलाई प्रत्यक्ष राजीनामा बुझाउनेछन् भने नफर्के मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राजीनामा दर्ता गराउने बताइएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर