प्रतिक्रियावादीलाई परास्त गर्ने तयारीमा छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपटक फेरि विद्रोहको आवश्यकता भएको र आफूले त्यसको तयारी गरिरहेको बताएका छन् ।
‘बोद्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धदेखि अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियतले एकपटक फेरि नयाँ क्रान्तिको तयारी गरेको बताए ।
प्रचण्डले भने- एकचोटि फेरि क्रान्ति आवश्यक छ । एकचोटि नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ, मेरो प्रतिबद्धता पनि यही नै हो र यसको तयारी पनि गरिरहेको छु । चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिदैछौं ।
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला पछिल्लोपटक जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरेर बिदा दिने निर्णय गरेको तर अदालतबाट रोकिएको बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार भएको कार्यक्रममा बोल्दै उनले अझै पनि माओवादीको बदनाम गर्नका लागि १७ हजार भन्ने गरिएकोमा असन्तुष्टि जनाए।
‘हामीलाई अहिले पनि बदनाम गर्ने कसरत गरिरहेका छन्। १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ। हामीले हालै महान शहीदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटि गर्यौं। हाम्रा शहीद परिवारका दुःख पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्यौँ भन्ने समीक्षा गरिएको छ। त्यही निष्कर्षको आधारमा अहिले हामी फेरि एक पटक हाम्रो वर्गतिर नै जोडिने, शहीद बेपत्ता परिवारहरुसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ,’ उनले भने।
उनले पार्टी बैठकहरूमा 'प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को' गरेको पनि बताए।
‘फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौं,’ उनले भने।
२०५९ साल साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस वडा नम्बर १ बोत्ले भन्ने ठाउँमा सुरक्षा फौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको हत्या भएको दिनलाई सो पार्टीले बोत्ले हत्याकाण्डका रूपमा स्मरण गर्ने गरेको पूर्वमन्त्री विशाल खड्काले बताए ।
प्रतिकृया दिनुहोस