बागमतीमा कांग्रेसको लफडाः लामाले पाए आश्वासन, बानियाँले पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी बानियाँले राखेको प्रस्तावको पक्षमा ६३ मत, विपक्षमा २२ मत र ७ जना तटस्थ रहेका थिए। मंगलबारको मतदानमा ९२ जना सांसद उपस्थित थिए। कुल ११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्छ।
मुख्यमन्त्री बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ जना प्रदेशसभा सदस्यले मत दिएका छन्। मुख्यमन्त्री बानियाँको विपक्षमा नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा (समाजवादी)का सांसदले मत दिएका थिए।
बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीको रूपमा यही साउन १९ गते नियुक्त भएका थिए। बानियाँले आफ्नै दलका नेता बहादुरसिंह लामामाथि अविश्वासको प्रस्ताव दर्ता गरी मुख्यमन्त्रीबाट हटाएका थिए।
लामा पक्षले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नसकिने बताउँदै आए पनि अन्तिम चरणमा विश्वास मत दिन हेटौंडा आएका थिए।
यस्तै सबै नेताहरूको आग्रह र मन्त्री बनाउने पूर्वसमझदारी पालना गराउने सभापति शेरबहादुर देउवाको आग्रहपछि मात्रै आफूहरू विश्वासको मत दिन काठमाडौँबाट हेटौँडा गएको पूर्वमुख्यमन्त्रीसमेत रहेका लामाले बताए । माग पूरा नभएसम्म बरु राजीनामा दिने तर विश्वासको मत नदिने अडान उनीहरूको थियो ।
लामा र अर्का सांसद कुन्दन काफ्लेले सभामुखले निर्देशन गर्नुअघि नै मतदान गरेर कुर्सीमा बसिसकेका थिए भने अन्य सांसदहरू सभामुखको निर्देशनपछि मात्रै मतदानका लागि गएका थिए ।
प्रतिकृया दिनुहोस