एमाले विधान अधिवेशनको अन्तिम तयारीः बिहीबार सचिवालय बैठक

- २ हजार सहभागि हुने, विद्या भण्डारीकाे प्रवेश अनिश्चित
काठमाडौं । नेकपा एमालेले शुक्रबारबाट सुरू हुने विधान अधिवेशनकाे अन्तिम तयारीका लागि बिहीबार सचिवालय बैठक बोलाएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनका अनुसार बैठकमा विधान महाधिवेशनको पेश गर्ने प्रस्ताव, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ। एमालेले आगामी भाद्र २०, २१ र २२ गते विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने अन्तिम तयारीमा जुटेको छ।
महाधिवेशनको मूल नाराको रूपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय भएको छ।
महाधिवेशनले विधानलाई अद्यावधिक र आगामी संगठनात्मक कार्यदिशा तय गर्ने छ। यस अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म भएको थियो। दुई महाधिवेशनको बीचको समय पारेर एमालेले विधान अधिवेशन बनाउने प्रावधान छ।
उनले केन्द्रीय कमिटीको निर्णयमाथि छलफल विधान अधिवेशनमा नहुने उनको भनाई छ। पोखरेलले फरक मत आउँदा त्यसलाई वैधानिकरुपमा लैजाने उल्लेख गरे। केन्द्रीय कमिटीमा रहेका दुई जना उपाध्यक्षले फरक मत राखेको र त्यस विषयमा सचिवालय बैठकले निर्णय गर्ने जानकारी गराए।
विधान महाधिवेशनमा दुई हजार ३३ प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुनेछन् । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि हुने भनेको छ ।
१०औँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरूसमेत आयोजकका हैसियतमा मात्रै सहभागी हुनेछन् ।
तर पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकाे सहभागिता भने नहुने स्राेतकाे दावी छ ।
प्रतिकृया दिनुहोस