संयमता अपनाउन पूर्वप्रधानन्यायाधीशहरूकाे अपिल

काठमाडौँ । नागरिक अगुवाहरूले ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै शान्ति कायम गर्न र रचनात्मक समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्।
पूर्वप्रधानन्यायाधीश, पूर्व राजदूत, पूर्व सचिव र मानव अधिकारकर्मी लगायतका प्रतिष्ठित व्यक्तिहरूले जारी गरेको संयुक्त अपिलमा आन्दोलनकारी र सरकारी निकाय दुवैलाई संयम अपनाउन अनुरोध गरिएको छ। पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की लगायतका १२ जना नागरिक अगुवाहरूको तर्फबाट चरण प्रसाईँले सो अपिल जारी गरेका हुन्।
अपिलमा भदौ २३ गतेको घटनापछि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र व्यक्तिमाथि भएका आक्रमणको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। नागरिक अगुवाहरूले व्यवस्थापिका संसद्, न्यायपालिका, कानुन कार्यान्वयन निकाय, व्यापारिक प्रतिष्ठान र सञ्चार माध्यमका भौतिक संरचनामाथि भएको आक्रमणले कुनै पनि समाधान नदिने कुरामा जोड दिएका छन्।
नेपाली नागरिक शान्तिप्रिय भएको उल्लेख गर्दै अपिलमा हिंसात्मक गतिविधिले राजनीतिक निकास दिन नसक्ने बताइएको छ। देशमा शान्ति कायम राख्नु सबै नागरिकको कर्तव्य रहेको र यसको समाधान बदलाको भावनाबाट नभई रचनात्मक राजनीतिक संवादबाट मात्र सम्भव हुने उनीहरूको भनाइ छ।
हालैको घटनामा युवाहरूको मृत्यु भएकोमा मुलुक शोकमा डुबेको भन्दै नागरिक अगुवाहरूले यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र दण्डहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। यसका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य रहेको अपिलमा उल्लेख छ।
शान्ति बहाली गर्न आव्हान
जेन–जी पुस्ताको सामाजिक सञ्जाल बन्द, नाताबाद–कृपाबाद, कुशासन तथा भ्रष्टचार बिरुद्धको शान्तिपूर्ण प्रदर्शनप्रति ऐकवद्धता गर्दै,
२०८२ भदौ २३ गतेको घट्नाको प्रतिकृयामा आज दिनभर उपत्यका लगायत काठमाण्डौ बहिर भएका ब्यक्तिगत तथा सार्वजनिक संपत्तिमाथि आगजनी, तोडफोड, लुटपाट तथा योजनाबद्ध ढंगबाट ब्यक्ति, नेता तथा तिनका परिवारमाथि सांघातिक आक्रमण समेत भएका घट्नाप्रति हामी चिन्तित छौं ।
ब्यवस्थापिका संसद, न्यायपालिका, कानुन कार्यन्वयन निकाय, ब्यपारिक प्रतिष्ठान तथा मिडिया गृहमाथि समेत भएका भौतिक संरचनामाथिका आक्रमणले हामीलाई कहीपनि पुर्याउँदैन भनी मनन गर्न प्रदर्शनकारीहरुलाई हामी हार्दिक अपिल गर्दछौं ।
हामी नेपाली नागरिक शान्तिप्रिय छौं र हौं पनि । हिंसात्मक गतिविधि निरन्तरताले राजनीतिक निकास दिन सक्दैन । मुलुकमा शान्ति कायम राख्ने हामी सबै नागरिकको कर्तब्य हो । यसको पहल बदलाको भावनाले नभई रचानत्मक राजनीतिक संवाद तथा संभावनाबाट मात्र खोज्न सकिन्छ ।
मुलुक यतिबेला २० जना युवाहरुको मृत्युको शोकमा डुबेको छ । यसको निष्पक्ष छानविन गरी दोषीहरुमाथि कारवाही गरी दण्डहीनताको अन्त्य गर्नुको विकल्प हुँदैन । यसका लागि पनि रचानात्मक ढंगबाट मुलुकको राजनीति अघि बढाउँने वातावरण श्रृजना गर्नु अपरिहार्य छ । यसअर्थमा पनि प्रदर्शनकारी तथा सरकारी निकायलाई संयमता अपनाउँन र शान्ति कायम गरी राजनीतिक निकास खोज्न हामी हार्दिक आव्हान गर्दछौं ।
मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशिला कार्की, केदारभक्त माथेमा, विरेन्द्रप्रसाद मिश्र, विद्याधर मल्लिक, कृष्ण खनाल, कृष्ण पोख्रेल, हरि शर्मा, मोहना अन्सारी र चरण प्रसाई ।
सबैका तर्फबाट (चरण प्रसाई)
प्रतिकृया दिनुहोस