• २०८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026

महासचिव गुटेरेसकाे चेतावनीः जलवायु संकटका असर व्यापक रूपमा देखिन थाले

काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालमा तीव्र गतिमा हिमनदी पग्लिरहेकोबारे आफूले तीन वर्षअघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रमा मंगलबार सम्बोधन गर्दै गुटेरेसले हिमालमा देखिएको जलवायु संकटका असर अपेक्षा गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको बताए ।

‘तीन वर्षअघि नेपालको हिमाली क्षेत्रमा मैले हिमनदी पग्लिने क्रम तीव्र बन्दै गएकोबारे चेतावनी दिएको थिएँ । कतिपयले त्यसलाई खतराको अतिशयोक्ति भनेका थिए,’ उनले भने, ‘तर दुःखद घटनाहरूले देखाएझैं यसको असर धेरैले अपेक्षा गरेभन्दा छिटो, गम्भीर र व्यापक रूपमा आइरहेको छ ।’

गुटेरेसले जलवायु संकटलाई अन्तरपुस्तीय शक्तिको असन्तुलनसँग जोड्दै सबैभन्दा कम जिम्मेवार समूह र देशहरूले नै यसको सबैभन्दा ठूलो असर भोगिरहेको बताए । ‘सबैभन्दा बढी प्रदूषण गर्ने र सबैभन्दा बढी लाभ लिनेहरूले आफूले निम्त्याएको क्षति परिपूर्ति गर्न अझ धेरै गर्नुपर्छ,’ उनले भने, ‘प्रदूषकहरूले तिर्नैपर्छ ।’

उनले विकसित देशहरूलाई जलवायु अनुकूलनका लागि वित्तीय प्रतिबद्धता पूरा गर्न र अनुकूलन वित्त तीन गुणा बढाउन आग्रह गरे । साथै, जलवायुजन्य क्षति तथा नोक्सानीसम्बन्धी कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

नेपालले पनि पछिल्लो समय जलवायु न्याय र जलवायुजन्य क्षति तथा नोक्सानीको क्षतिपूर्तिको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको छ । संयुक्त राष्ट्रसंघका अनुसार नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा निकै कम योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर मानवीय तथा आर्थिक असर भोगिरहेको छ ।

गुटेरेसको सम्बोधनमा जलवायु संकटलाई विश्वसामु रहेका प्रमुख चार ‘शक्ति परीक्षण’मध्ये एकका रूपमा प्रस्तुत गरिएको थियो । उनले विकसित देशहरूले अनुकूलन वित्त बढाउनुपर्ने र जलवायु न्यायलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर