• २०८३ असोज २५ आइतबार
  • Sunday, 11 October, 2026

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन क्यानडाविरुद्ध जित निकाल्नै पर्ने दबाबमा नेपाल

काठमाडाैं । नेपाली क्रिकेट टिम एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन जितबाहेक अन्य विकल्प नभएकाे अवस्थामा आज खेल्दैछ ।

नेपालले आइतबार क्यानडासँग खेल्न लागेकाे हाे । नेपालले यस शृंखलामा क्यानडा र ओमानसँग गरी दुई–दुई गरी चार खेल खेल्नेछ । यसमध्ये तीन खेलमा विजय हात पारे नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ । अन्यथा नेपालले क्रिकेट विश्वकप छनोट प्लेअफमा खेल्नुपर्नेछ र त्यहाँबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि अर्को विकल्प हुनेछ ।

त्यस्तो जोखिमपूर्ण यात्रामा जान सन्दीप लामिछाने नेतृत्वकाे नेपाल कदापि चाहँदैन । लिग २ को आफ्नो अन्तिम शृंखलालाई स्मरणीय बनाई नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित राख्न चाहन्छ । नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । 

ओमानले शुक्रबार क्यानडामाथि ४१ रनको विजय हात पारेपछि नेपाल औपचारिक रूपमा शीर्ष चारबाट बाहिरिएको थियो । शीर्ष चार टोलीले फेब्रुअरीमा हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउँछन् । अंकगणितीय हिसाबमा मात्र बाँकी रहेको नेपालको शीर्ष चारमा पुग्ने सम्भावनालाई ओमानको विजयले अन्त्य गरेको थियो । 

तर त्यही ओमानको विजयले नेपाललाई शीर्ष छभित्र पर्ने सम्भावनालाई पुनः ब्युँत्याएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लिग २ को तल्लो चार स्थानमा रहने टोलीका बारेमा केही नबताए पनि शीर्ष छभित्र पर्ने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने रणनीतिअनुरूप नेपाली टोली खेलिरहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हिसाबमा लिग २ को स्पष्ट खाका प्रस्ट छैन । तर प्रतिस्पर्धी आठ टोलीमध्ये शीर्ष छभित्र पर्नु जरुरी रहेको नेपाली टोलीको उद्देश्य देखिन्छ ।

क्यानडा ३३ खेलमा २५ अंकसहित आठ राष्ट्र सहभागी लिग २ को छैटौँ स्थानमा छ । नेपाल ३२ खेलमा २४ अंकसहित सातौँ र यूएई ३० खेलमा १९ अंकसहित पुछारमा रहेको छ । अन्तिम शृंखलामा खेलिरहेका नेपाल र क्यानडाबीच शीर्ष छभित्र पर्नका लागि तीव्र प्रतिस्पर्धा रहेको छ ।

ओमान २९ खेलमा ३३ अंकसहित चौथो र नामिबिया ३४ खेलमा २९ अंकका साथ पाँचौँ स्थानमा छन् । यी दुईमध्ये एक टोली शीर्ष चारबाट बाहिरिनेछ । तल्लो चार टोलीले क्रिकेट विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ ।

लिग २ मा नेपालले निकै खराब प्रदर्शन गर्दै आएको छ । जुलाईमा नेदरल्यान्ड्समा नेदरल्यान्ड्स र नामिबियासँग दुई–दुई गरी शृंखलाका सबै चार खेलमा हार बेहोरेपछि रोहित पौडेलले कप्तानी गुमाउन पुगेका थिए भने कुशल भुर्तेल, आरिफ शेख, सोमपाल कामीसहित अन्य छ खेलाडी नेपाली टोलीबाट बाहिरिन पुगेका थिए ।

विदेशी भूमिमा नेपालले एकदिवसीय विश्वकप र मान्यताको आधार रहेको लिग २ मा लगातार आठौँ हार बेहोरिसकेको छ । विदेशी भूमिमा खेलिएको लिग २ का २० खेलमा नेपालले १४ खेलमा पराजय बेहोरेको छ । नेपाल र क्यानडा लिग २ को शृंखलामा दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । सन् २०२४ मा क्यानडामा भएका दुवै खेलमा क्यानडाले नेपाललाई क्रमशः १०३ रनले र पाँच विकेटले पराजित गरेको थियो ।

तर ओमानी भूमिमा नेपाल अर्को सफलता हात पार्ने दाउमा रहेको छ । नेपालले गत वर्ष ओमानमै ट्वान्टी–२० एसिया तथा एसिया प्यासिफिक क्षेत्रको प्रतियोगिता जित्दै तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको थियो । दुई साताअघि जापानमा एसियाली खेलकुद भइरहेका बेला प्रशिक्षक स्टुवार्ट लले ओमान भ्रमणका लागि नेपाली टोली तयार रहेको जनाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर