सञ्चार क्षेत्रमा आतंक सृजना गर्दै सरकार, ३ पत्रकार पक्राउ, ३ को खोजी
काठमाडौं । सरकारले राज्यको चौथो अंक पत्रकारिक्ष क्षेत्रलाई नै आंकित बनाउने अर्कत गरेको छ । नेपाल प्रहरी साइबार ब्यूरोबाट खटिएका भन्दै सादा पोषाकका प्रहरीले ३ पत्रकार पक्राउ गरेका छन् भने थप २ को खोजीमा प्रहरी समाचार कक्षसम्म पुगेको छ ।
प्रहरीले आज शुक्रबार साँझ काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेर पत्रकारहरूको धरपकड गरेको हाे।
तीन जना पत्रकारलाई पक्राउ गरेको प्रहरीले कम्तिमा तीन जना अरू पत्रकारको खोजी गरिरहेको छ।
पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराल छन्। सुवेदीलाई नेपाल प्रेसकाे समाचार कक्षमै पुगेर पक्राउ गरिएकाे हाे । हाल उनलाई कहाँ राखिएकाे छ भन्ने खबर परिवारका सदस्यलाई समेत दिइएकाे छैन।
त्यस्तै, प्रहरीले दियोपोस्ट डटकमका प्रधान–सम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ।
नयाँ पत्रिकाकाे पुतलीसडकस्थित कार्यालयमा एक हुल प्रहरी पुगेका छन्। उनीहरुसँग पत्रिकाका सम्पादक खगेन्द्र पन्त र नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले वार्ता गरिरहेका छन् ।
प्रहरीले केही सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ भने अन्य कार्यालयमा पुगेर पत्रकारहरूको खोजी गरेको छ।
प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरेको जनाएको छ। तर उनीमाथि लगाइएको आरोप र पक्राउको कानुनी आधारबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन।
त्यस्तै, डिएनए खबरका प्रधान–सम्पादक बस्नेतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनलाई सुरूमा इसेवा नम्बरको विषयमा बुझ्नुछु भन्दै फोन गरिएको थियो।
सामान्य सोधपुछका लागि बोलाइएको ठानेर प्रहरी कार्यालय पुगेका बस्नेतलाई त्यहीँ नियन्त्रणमा राखिएको हो।
प्रहरीले बस्नेत र बराललाई कुन कसुरमा नियन्त्रणमा लिएको हो भन्ने स्पष्ट पारेको छैन।
यसैबीच प्रहरीले अनामनगरस्थित दियोपोस्ट डटकमको कार्यालयमा पुगेर प्रधान–सम्पादक विश्वकर्मा र सम्पादक बुढाथोकीको खोजी गरेको छ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर कमलजंग शाहीको कमान्डमा चार जनाको प्रहरी टोली दियोपोस्टको कार्यालय पुगेको हो।
दियोपोस्टका समाचार संयोजक मदन ढुंगानाका अनुसार प्रहरी टोली कार्यालय परिसरमा प्रवेश गरेको थियो। टोलीले कार्यालयमा कार्यरत पत्रकारहरूको मोबाइल समेत नियन्त्रणमा लिएर हेरेको जानकारी आफूले पाएको उनले बताए।
सम्पादक बुढाथोकीका अनुसार यसअघि उनलाई र प्रधान–सम्पादक विश्वकर्मालाई फोन गरेर ठेगाना सोधिएको थियो।
प्रहरी टोली नयाँ पत्रिकाको समाचार कक्षमै पुगेर पत्रकार नवराज मैनालीको पनि खोजी गरेको छ।
यसरी एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने क्रम चले पनि यी सबै घटनाबीच सम्बन्ध छ कि छैन भन्ने खुलेको छैन।
प्रहरीले कुन पत्रकारलाई कुन घटनामा अनुसन्धान गर्न खोजेको हो, उनीहरूविरुद्ध उजुरी परेको छ कि छैन र पक्राउ गर्नुपर्ने आधार के हो भन्नेबारे पनि सबै घटनाको स्पष्ट विवरण सार्वजनिक गरेको छैन।
पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर मोबाइल जाँच गर्ने घटनाले पत्रकारको गोपनीयता, समाचार स्रोतको संरक्षण र प्रेस स्वतन्त्रतासम्बन्धी प्रश्न समेत उठाएको छ।
यसअघि बिहीबार प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्वबारे प्रकाशित समाचार र टिप्पणीप्रति आपत्ति जनाउँदै भ्रामक सूचना सम्प्रेषण गर्नेमाथि अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो।
प्रहरीले विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा असर पर्न सक्ने बताएको थियो।
तर शुक्रबारको धरपकड त्यही चेतावनीसँग सम्बन्धित हो वा अलग अलग अनुसन्धान क्रममा भएको हो भन्ने प्रहरीले स्पष्ट पारेको छैन।
पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारहरूको खोजी गर्ने प्रहरी गतिविधिप्रति जेन–जी पत्रकार फोरम नेपालले आपत्ति जनाएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै फोरमले समाचारको विषयलाई लिएर पत्रकारमाथि भइरहेको धरपकड प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको बताएको हो।
फोरमले नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको स्मरण गराएको छ।
त्यस्तै, संविधानको धारा २० अनुसार पक्राउ परेका व्यक्तिलाई पक्राउको कारण जानकारी गराउनुपर्ने र कानुन व्यवसायीसँग परामर्श लिन पाउने अधिकार सुनिश्चित गरिएको भन्दै कानुनी प्रक्रिया पूरा नगरी पत्रकारमाथि धरपकड गर्न नहुने जनाएको छ।
फोरमले पत्रकारहरूलाई निर्भीकतापूर्वक काम गर्ने वातावरण सुनिश्चित गर्न नेपाल सरकार र नेपाल प्रहरीसँग माग गरेको छ।





प्रतिकृया दिनुहोस