• २०८३ कार्तिक १४ शनिबार
  • Saturday, 31 October, 2026

चाैतर्फी विराेधपछि पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं । सर्वत्र विराेध सुरु भएपछि सरकारले पक्राउ गरेका सबै पत्रकारलाई रिहा गरेकाे छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिए ।

मन्त्री तिमिल्सिनाले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको बताएका हुन्।

‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ उनले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’

शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए। मैनालीलाई नलिई नफर्किने अडानसहित प्रहरी टोली दुई घण्टाभन्दा बढी समय कार्यालयमा बसेको थियो।

पछि शुक्रबार साँझ प्रहरी टोलीले पत्रकार मैनाली र नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तलाई शनिबार साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै कार्यालयबाट बाहिरिएको थियो।

पत्रकारहरूलाई समाचार प्रकाशित गरेकै आधारमा नियन्त्रणमा लिइएको घटनाप्रति विभिन्न सञ्चारमाध्यम तथा राजनीतिक दलहरूले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर