पत्रकार पक्राउबारे गगन थापाले भनेः शाहीकालीन निरङ्कुशताको झल्को
काठमाडाैं। विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने सरकारी प्रवृत्तिप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञप्ति जारी गर्दै कानुनविपरीत पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने र सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्ने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।
विज्ञप्तिमा समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको उल्लेख गरिएको छ। विगतमा सत्तामाथि प्रश्न उठ्दा शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि आक्रमण हुने गरेको स्मरण गराउँदै कांग्रेसले त्यस्ता प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको जनाएको छ।
कांग्रेसले आफू स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै निरङ्कुश तथा स्वेच्छाचारी कदमविरुद्ध सधैँ उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै विज्ञप्तिमा कुनै सञ्चारमाध्यम वा पत्रकारबाट त्रुटि भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया अपनाउनुपर्ने बताइएको छ।
ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको उपहास भएको कांग्रेसको ठहर छ। सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको यस्तो दमनकारी कदम निन्दनीय र आपत्तिजनक रहेको भन्दै पार्टीले घटनाको कडा भर्त्सना गरेको छ।
कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न तथा कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गरेको छ।
विज्ञप्तिको अन्त्यमा सभापति गगनकुमार थापाले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पार्टी निरन्तर प्रतिबद्ध रहने बताएका छन्।





प्रतिकृया दिनुहोस