• २०८३ कार्तिक १५ आइतबार
  • Sunday, 1 November, 2026

न्यायाधीशमाथि महाभियोग लगाउन रास्वपाले बाटो खोलेको हो?

काठमाडौं ।  सर्वोच्च अदालतका न्यायाधीशहरूका सम्बन्धमा आएका विवादको निरूपण गर्न सरकारको नेतृत्व गरिरहेको रास्वपाको सचिवालय बैठकले संसदीय दललाई निर्देशन दिएको छ । फिक्सर इनम सापकोटासँगको विवादमा जोडिएका न्यायाधीशमाथि महाभियोगको प्रक्रिया अगाडि बढाउन रास्वपा संसदीय दललाई सचिवालयले निर्देशन दिएको हो ।

फिक्सर सापकोटाले प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाममा रकम जम्मा गरेको र न्यायाधीश हरिप्रसाद फुयालसँग सर्वोच्चमा विचाराधीन एक मुद्दाको विषयमा ह्वाट्सएपमा च्याट गरेको विवरण सार्वजनिक भएपछि उत्पन्न विवादको निरूपण संवैधानिक प्रक्रियाबाट अगाडि बढाउनुपर्ने रास्वपाले भनेको हो ।

सचिवालय बैठकपछि रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले भने, ‘हामीले समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने संवैधानिक बाटो भनेको संसद् नै हो । संसद्‌मार्फत यसको प्रक्रिया अघि बढाइनुपर्छ । त्यो प्रक्रिया अघि बढाउनका लागि रास्वपा सचिवालय बैठकले संसदीय दललाई समेत निर्देशन दिने निर्णय गरेको छ ।’ न्यायालयमा पुनर्संरचना गर्नुपर्छ भन्ने लागेरै यस्तो निर्णय गर्नुपरेको प्रवक्ता खरेलले बताए । न्यायाधीशबारे संसदीय प्रक्रियामा जानु आवश्यक भएको खरेलको भनाइ छ । त्यसपछि संसदीय प्रक्रियाबाट आएको निर्णय नै लागू हुने उनको भनाइ छ ।

सुरुमा न्यायाधीश हरिप्रसाद फुयाललाई महाभियोग लगाउने र त्यसपछि अनुसन्धानमा नाम जोडिएकाहरूलाई पनि प्रक्रियामा तान्नेबारे छलफल भएको हो । रास्वपाका एक पदाधिकारीले भने, 'न्यायाधीशमा विचलन आएको छ । एक जना न्यायाधीशले त बिचौलियासँग भेटेको स्वीकारेर विचलनको कुरा पुष्टि गरिसक्नुभएको छ । यसैले महाभियोग लगाउनका लागि संसदीय दललाई लेखिपठाउने निर्णय भएको हो ।'

विवादित न्यायाधीशमाथि महाभियोग लगाउनका लागि संसदीय दलले भूमिका खेल्नुपर्ने ती नेताले जानकारी दिए । 'संसदीय दलको दायरामा आउने भएकाले उसलाई निर्देशन दिने भनेको महाभियोग लगाउनुपर्छ भन्ने हो । महाभियोग लगाउनका लागि संसदीय दलले भूमिका खेल्नुपर्छ । अरू न्यायाधीश पनि हुनुहुन्छ । सुरुमा एउटा मात्र पात्रलाई लगाउने कि देखिएका सबैलाई भन्ने संसदीय दलले निर्णय लिन्छ तर प्रमाण बुझ्दै जाँदा अरूलाई पनि लगाउनुपर्छ भन्ने हो,' ती नेताले भने । प्रमाण बुझ्दै जाँदा भेटिएका जति न्यायाधीशलाई महाभियोग लगाउने ती नेताले बताए ।

महाभियोगको कारबाही गर्ने सदन प्रतिनिधिसभामा रास्वपाको झन्डै दुई तिहाइ बहुमत छ । १ सय ८४ जनाले दुई तिहाइ हुने सदनमा रास्वपाका १८२ सांसद छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर