• २०८३ कार्तिक १७ मंगलबार
  • Tuesday, 3 November, 2026

भेट्न तयार भए बालेन, भोलि काठमाडौं आईपुग्दै भारतीय विदेश सचिव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिनिधि भोलि काठमाडौं आईपुग्दैछन् । 

मंसिर पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण गराउने गृहकार्यबिच तयारीस्वरूप भारतीय विदेशसचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौं आउने भएका हुन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार विदेशसचिव मिश्रीको भ्रमणतालिका एकैसाथ सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणकै मुख्य एजेन्डा रहेको कूटनीतिक स्रोतले जनाएको छ । तर, परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा यसबारे केही भनेको छैन । ‘परराष्ट्रसचिव श्री अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिश्री कात्तिक १८ र १९ मा (नेपालको दुईदिने) औपचारिक भ्रमण गर्दै हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा छ ।

उनी आएकै दिन बुधबार नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय औपचारिक वार्ता हुनेछ, जसमा प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका एजेन्डाहरूबारे विस्तृतमा छलफल हुनेछ । ‘दुवै पक्षले नेपाल–भारत सम्बन्धका समग्र विषयहरूको समीक्षा गर्नेछन् र दुई देशबिचको दीर्घकालीन, घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आपसी हितका विषयहरूमा विचार आदानप्रदान गर्नेछन्,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘भारतीय विदेशसचिवले नेपालका उच्चपदस्थ अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।’

भारतीय विदेशसचिव मिश्रीले काठमाडौंमा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट गर्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललगायतसँग पनि भेटवार्ता गर्ने स्रोतले बताएको छ ।

यसअघि सचिवसँगकाे भेट अस्वीकार गरेका बालेनले यसपाली भने भेट्न तयार भएकाे सन्देश पठाएका थिए ।

भारतीय विदेश मन्त्रालयले सोमबारै जारी गरेको विज्ञप्तिमा विदेशसचिव मिश्री ‘पारस्परिक हितका द्विपक्षीय, क्षेत्रीय तथा वैश्विक मामिलाहरूमा छलफल गर्न’ नेपाल आउन लागेको उल्लेख गरेको छ । भारतीय विदेश मन्त्रालयले उच्चस्तरीय भ्रमणको उद्देश्यसमेत यो भ्रमणमा रहेको स्पष्ट पारेको छ ।

‘विदेशसचिवको भ्रमणले दुई देशबिच हुने नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ र व्यापक द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन मद्दत पुर्याउनेछ,’ विदेश मन्त्रालयले भनेको छ, ‘नेपाल र भारतबिच बलियो एवं मैत्रीपूर्ण सम्बन्ध रहेको छ, जसले सहयोगका विभिन्न क्षेत्रहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर