बालेनकाे चुनावी प्रचारका लागि टिममा थिए इनम सापकाेटा
विराटनगर। डेढ वर्षअघिसम्म पठाओ चढेर हिँड्ने इनम सापकोटा अहिले देशकै ठूलो बिचौलियाका रूपमा प्रकट छन्। उनले बोलाउँदा लुरुलुरु न्यायाधीशसम्म होटल–होटल पुग्छन्। सुरक्षा निकायसँग उनले त्यतिकै पहुँच छ। प्रधानमन्त्रीको सचिवालयसम्म पनि उनकै पहुँच र इसारा हुन्छ।
प्रधानमन्त्री वालेन्द्र शाहको मान्छे भन्दै सर्वोच्च अदालतका न्यायाधीश, सुरक्षा अधिकारी, राजनीतिक पहुँच भएको उच्च व्यक्तिसँग नै मोलमोलाई गर्छन्। को हुन त नेपालको राजनीतिक नेतृत्व, न्यायालय, सुरक्षा संयन्त्र, कर्मचारी प्रशासनलाई हलचल पैदा गर्ने इनम ? कसरी छोटो समयमा र सानै उमेरमा उनले मारे छलाङ ? २०५२ मा जन्मिएका इनम नेपालकै बदनाम पात्रका रूपमा देखा परेका छन्।
देश–विदेशका प्रतिष्ठित शैक्षिक संस्थामा अध्ययन गरेका उनी कसरी ठूलो बिचौलियाको रूपमा देखिए। अहिले सर्वत्र कौतुहलता छ। उनले आफू प्रधानमन्त्री बालेनको मान्छे भन्दै न्यायालय, प्रशासनिक क्षेत्रलाई समेत नचाएको सार्वजनिक भएको छ। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। जति–जति प्रहरीले उनीसँग अनुसन्धानको क्रममा बयान लिइरहेको हुन्छ, त्यति नै अस्वाभाविक नेक्सस् उनको देखिएको छ। सोही कारण उनको विषयमा सूचना दिनसमेत प्रहरीसमेत हच्किरहेको छ।
सामान्य परिवारका इनम पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको छोरासँग सम्बन्धले एकाएक उच्च तहसम्म हिमचिम बढेको देखिन्छ। चोलेन्द्र छोरासँग इनमको लिटिल एन्जल्स स्कुलमा भेट भएको हो। दुवै जना त्यही पढेका हुन्। स्कुल तहको यो मित्रतालाई नै उनलाई चोलेन्द्रसम्मको ‘नेक्सस’ दिलायो। चोलेन्द्रसँगकै कनेक्सन देखिएपछि उनको पहुँच उच्च नेतृत्वसँग भयो। चोलेन्द्रले इनमलाई राजनीतिक चलखेलमा लाग्न पनि उक्साएका थिए।
गत असोज १० गते राति प्रहरीले जबरालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनको मोबाइल फोनसमेत नियन्त्रणमा लिएको थियो। उक्त फोन परीक्षण गर्दा जबरा र इनमबीच पटक–पटक सम्पर्क भएको विवरण फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले इनमलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेको अवस्थामा नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार उनले बयानका क्रममा पनि पूर्वप्रधानन्यायाधीश चोलन्द्रले आफूलाई प्रयोग गरेको बताएका छन्।
नेपालकै कुख्यात बिचौलियाका रूपमा चिनिने दीपक भट्ट र व्यवसायी सुलभ अग्रवालको मुद्दामा पनि आफू प्रयोग भएको बयान उनले दिएका छन्। इनमलाई भट्टसँग चिनजान पनि चोलेन्द्रले गरिदिएका थिए। दीपक भट्टकै कारण उनका दाजु एवं लगानी बोर्डका पूर्वकार्यकारी अधिकृत सुशील भट्टको इनमसँग सम्बन्ध बन्यो। इनम र दीपकसँग सम्बन्ध र कारोबारकै कारण नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुरमा अनुसन्धान गर्न बोर्डका पूर्वकार्यकारी अधिकृत सुशीलसमेत पक्राउ गरेर हिरासतमा राखिएको छ।
अहिले भट्ट दाजुभाइ, व्यवसायी अग्रवाल हिरासतमा नै छन्। जुन दीपक भट्ट पुराना दलका नेताहरूको नेक्ससमा बिचौलिया बनेर ठूलाठूला सेटिङ धन्दा चलाउँथे। उनलाई समेत माथ खुवाउने गरी इनमको गतिविधि देखियो, जसले राजनीतिक नेतृत्वमा मात्रै होइन न्यायालयसम्मलाई बहसको केन्द्रमा पुर्यायो। नेपाली सेनासमेतसँग उनको नेक्सस् अनुसन्धानको क्रममा देखिएको स्रोतको दाबी छ।
आरजुका कारण नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, स्वकीय सचिव भानु देउवासँग पनि उनको सम्बन्ध देखिएकाे छ। बयानका क्रममा इनमले चालेन्द्रले नै कांग्रेससँग हिमचिम गराउन सहजीकरण गरेको बताएका छन्।
कांग्रेस नेता उमेश श्रेष्ठसँग समेत उनको सम्बन्ध रहेको बयानबाट खुलेको छ।
२०८२ मा झापाको क्षेत्र नम्बर ५ को निर्वाचनमा पनि इनम सक्रिय थिए। उनी रास्वपातर्फकै उम्मेदवार वर्तमान प्रधानमन्त्री शाहको प्रचारमा गएका थिए। राष्ट्रिय राजनीतिमा प्रवेश गरेपछि बालेन झापा–५ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए। उक्त निर्वाचन क्षेत्रबाट बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले हराएका थिए।



2026-11-03-10-52-45.jpeg)



प्रतिकृया दिनुहोस