• २०८३ कार्तिक १९ बिहीबार
  • Thursday, 5 November, 2026

आइजीपी डा.केसीः नियुक्ति, दर्ज्यान्ही र कमाण्ड सम्हाले एकैदिन

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक डा.मनोज कुमार केसीले कार्यभार सम्हालेका छन्। गृह मन्त्रालयमा दर्ज्यान्ही चिन्ह ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन्। उनलाई एआइजी, डिआइजी लगायत उच्च अधिकारीले स्वागत गरेका थिए। 

पदभार ग्रहणपछि उनले प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्। 

यसअघिका महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको बिशेष सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिएर सरकारले डा.केसीलाई नियुक्त गरेको हो । 

 आइजीपीमा नियुक्त भएपछि डा. केसीले साथै संविधान र कानुनप्रति अविचलित रही नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरी राख्दै संगठनको मर्यादा, निष्पक्षतामा कुनै सम्झौता नगर्ने र आफ्नो कार्यकालको मूल्याङ्कन नेपाली जनतालाई के दिन सके भन्नेमा आधारित रहने गरी प्राप्त जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

प्रहरी महानिरीक्षक केसीले साइबर ठगी, वित्तीय अपराध, क्रिप्टो कारोबार, डिपफेक एवम् भ्रामक सूचनाहरू गम्भीर चुनौतीको रूपमा देखा परेको र त्यसलाई सम्बोधन गर्नुपर्ने तथा विपद् व्यवस्थापनमा समेत सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए।  

स्रोतसाधन, भवनको अभाव, लामो कार्य घण्टा, सरूवा बढुवामा निष्पक्षता लगायतका आन्तरिक चुनौतीहरू सम्बोधन गर्न प्रणालीगत रूपमा विकास गर्नुपर्ने जरूरी रहेको र यसलाई आफूले अवसरको रूपमा लिएको उल्लेख गर्दै उनले भने ‘सशस्त्र द्वन्द्व, भूकम्प, कोभिडको महामारी तथा शान्ति मिसनहरूमा नेपाल प्रहरीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ ।  हामीसँग अनुभव छ, जनशक्ति छ, सेवा गर्ने इच्छाशक्ति पनि छ र यो सबै कामहरू गर्नको लागि हामीले हाम्रो जनशक्तिलाई विशिष्टकृत र मनोबल युक्त बनाउनुपर्नेछ ।’

प्रहरी कर्मचारीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर तत्काल एउटा संयन्त्र कार्यान्वयनमा ल्याउने र अरू योजनाहरू क्रमश लागू गर्ने अवस्था बनाउँदै जाने  उनले बताए । 

आधुनिक प्रहरीमा जनतासँगको सम्बन्ध नै महत्वपूर्ण स्रोत भएको चर्चा गर्दै आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तता र प्रहरीलाई प्रभावबाट मुक्त राख्न नेपाल सरकारसँग सहयोग तथा आग्रह समेत  गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर