• २०८३ कार्तिक २८ शनिबार
  • Saturday, 14 November, 2026

पहिलो सिजनको विजेता जनकपुर बाहिरिने दाेस्राे टाेली

काठमाडौं । एनपीएल पहिलो सिजनको विजेता जनकपुर बोल्टस यसपाली प्लेअफमा पुग्नै असफल भएको छ । 

जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले भने नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ। 

शुक्रबार भएको दोस्रो खेलमा जनकपुरलाई चार विकेटले पराजित गर्दै चितवनले शीर्ष चारमा रहेर प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको हो। 

लिग चरणका तीन खेलमा जित, दुई खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन सात अंकसहित तालिकाको चौथो स्थानमा उक्लेको हो। 
चितवन चौथो स्थानमा उक्लेपछि ६ अंक भएको विराटनगर किंग्स पाचौँ स्थानमा झरेको छ। 

चितवनसँगको हारले पहिलो सिजनको विजेता जनकपुर प्लेअफ दौडबाट बाहिरिएको छ। दुई खेलमा जित र पाँच खेलमा हार भोगेको जनकपुरसँग चार अंक मात्र छ। 

एनपीएलमा प्लेअफ दौडबाट बाहिरिने जनकपुर दोस्रो टोली बनेको छ। यसअघि पोखरा एभेन्जर्स प्लेअफ दौडबाट बाहिरिएको थियो। 

जनकपुरले दिएको ८९ रनको झिनो लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। 

चितवनका लागि डविड मलानले सर्वाधिक ३५ रनको योगदान दिए। त्यस्तै, कुशल मल्लले १५ रन थपे। रवि बोपाराले १३ र कामिल मिसाराले १२ रन जोडे। 

जनकपुरका लागि राहुल यादवले तीन विकेट लिए। ललित राजवंशीले दुई र विशाल सुस्लिङले एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८८ रनको योगफल तयार पारेको थियो। 

जनकपुरका लागि कप्तान हरमित सिंहले बनाएको २५ रन नै सर्वाधिक रह्यो। विशाल सुस्लिङ १५ रन बनाउँदा क्याच आउट भए। 

ओपनर सन्तोष कार्की १० र तृतराज दास पाँच रन बनाउँदा रन्जित कुमारको बलमा क्याच आउट भए। रायन बर्ल ६, आदित्य महता चार र अविशेष तिवारी चार रनमा आउट भए। ह्यारी टेक्टर र जिम्मी निसम रनबिना नै पेभेलियन फर्के। 

जनकपृुरलाई कम स्कोरमा रोक्न चितवनका रन्जित कुमारले तीन विकेट लिए। घातक बलिङ गरेका उनले तीन ओभरमा एक मेडन राख्दै दुई रन खर्चेर तीन विकेट लिए। 

सिकन्दर राजाले चार ओभरमा दुई मेडन राख्दै १० रन दिएर दुई विकेट लिए। कमिल मिसाराले तीन ओभरमा १८ रन खर्चेर दुई विकेट लिए। 

रिजन ढकालले दुई ओभरमा आठ रन दिएर एक विकेट आफ्नो नाममा गरे। कमल ऐरिले एक विकेट लिए।

एनपीएलमा शनिबार एक मात्र खेल रहेको छ। साँझ ५ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्नेछन्।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर