जवरजस्ती बयान दिन लगाएपछि इनम सापकाेटाले गरे जीवन रक्षाकाे माग
काठमाडौँ । बिचाैलिया इनम सापकोटाले आँखामा पट्टी लगाएर आफुलाई जवरजस्ती बयान दिन लगाएकाे खुलासा गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा आफूलाई धम्की दिएर विभिन्न उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन बाध्य पारेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सोधपुछको क्रममा तिम्रो विरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमान्हरूविरुद्ध प्रमाण र बयान दिए छाडिदिने, नत्र म मात्र होइन, मेरो परिवारसमेतलाई नराम्रो हुन्छ भनी धम्की दिइयो ।’
उनले दिएको निवेदनमा तीमध्ये केही व्यक्तिहरूसँग आफ्नो अत्यन्त राम्रो सम्बन्ध भएको र केहीलाई चिन्दै नचिनेको उल्लेख गरेका छन् । उनले भनेजस्तो बयान नदिए लामो समयसम्म जेल बस्ने गरी झुटा मुद्दा लगाउने, आफू तथा परिवारको जिउज्यानमै खतरा पार्ने र सम्पूर्ण घरपरिवारलाई नै समस्या हुने भनी मानसिक यातना दिइएको निवेदनमा उल्लेख गरेका छन् ।
इनमको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले दर्ता गराएको निवेदनमा आफूलाई विमानस्थलबाट आँखामा पट्टी बाँधी अज्ञात स्थलमा लगेको, जबर्जस्ती बयान गराई हस्ताक्षर गराइएको र मानसिक यातना दिइएको उल्लेख गरिएको छ ।
निवेदनमा उनले विभिन्न व्यक्तिहरूको नाम लिई बयान गर्न लगाएको उल्लेख गरेका छन् । निवेदनमा लेखिएको छ, ‘निजहरूले मलाई १४ देखि १५ असोज साँझसम्म अज्ञात स्थलमा कालोपट्टी लगाएर नै राखेका थिए । सो अवधिमा मसँग विभिन्न कुराहरू सोधपुछ गरेका थिए ।’
इनमले आयोगमा दिएको निवेदनमा १६ गते प्रहरी भ्यानमा राखेर पानीपोखरीस्थित अपार्टमेन्टमा पुर्याएको र त्यहाँ खानतलासी गरिएको उल्लेख गरेका छन् । निवेदनमा लेखिएको छ,
‘प्रहरीले घरका सबै कोठाहरू खानतलासी गरी पुरानो ल्यापटप, पुरानो फोन र केही कागजातहरू मात्र फेला पारेपछि प्रहरीमध्येका एक जनाले यहाँ केही भेटिएन भनेपछि फेरि उसैले इशारा गरेर घरअगाडि राखिरहेको सुटकेसभित्र ल्याई सुटकेसभित्र रहेको मेरो साइड ब्यागबाट केही विदेशी मुद्राहरू निकाली फेरि फोनमा यति मात्र रहेछ भनी जानकारी गराएपछि यही भने पनि मुचुल्का बनाएर लानुपर्छ भनी भेटिएका ल्यापटप, पुरानो फोन र मेरो सुटकेसबाट निकालेका पैसालाई घरमा फेला परेको भनी मुचुल्का बनाए ।’
३० वर्षीय इनम सापकोटा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्पर्कका कारण अनुसन्धानमा तानिएका हुन् । ११ असोजमा पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षाका लागि भन्दै टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेर मोबाइल जाँच गर्दा सापकोटासँग पटक–पटक फोन सम्पर्क भएको खुलेको थियो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट प्रहरीले १४ असोजमा नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार सापकोटाले मुद्दामामिला अदालतमा मिलाइदिने र प्रहरी अधिकारीहरूको बढुवामा सहयोग गर्ने आश्वासन दिएको देखिने सन्देशहरू मोबाइलमा फेला परेका छन् । उनको सम्पर्क सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरका आरोपमा थुनामा रहेका दीपक भट्ट, उनको परिवारका सदस्य तथा व्यवसायी सुलभ अग्रवालको समूहसँग पनि देखिएको छ । भट्ट र जबराबीच सम्पर्क तथा सूचना आदानप्रदान गराउने माध्यमका रूपमा सापकोटाले भूमिका खेलेको प्रहरी अधिकृतहरूको निष्कर्ष छ ।




2026-11-27-03-33-48.jpeg)
2026-11-27-02-07-37.jpeg)
2026-11-27-12-26-51.jpeg)
प्रतिकृया दिनुहोस