• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 06:36 pm

गर्मी सुरु भयो, स्वास्थ्यमा विशेष ध्यान पुर्याऔं : डा. आशिष त्रिपाठी [अन्तर्वार्ता]

पोखरा । गर्मीको सुरुवाती संगै बिहान उठ्न अल्छी लाग्छ, दिउँसो चुप लागेर बस्दा निद्रा लाग्छ, बाहिर जाँदा, घुम्दा चाँडै खुट्टा गल्छ र घामको पोलाइले घमौरा आई सताउँछ तथा पसिनाले शरीरलाई दुर्ग्न्धित बनाउँछ । 

टाउको दुख्ने, आलस्य हुने, टाइफाइड, झाडापखाला, पेटको दुखाइ, वान्ता हुने, जन्डिस, आँखा सुख्खा हुने, चिलाउने, एलर्जी लगायतका समसया पनि त्यत्तिकै मात्रामा आइपर्न सक्छ । 

सरसफाइको कमी, बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानीव्यहोरा, सडेगलेका फलफूल, जथाभावी खाना र पानीमा ध्यान नदिंदा रोगले आक्रमण नगर्ने कुरै भएन । त्यसैले विभिन्न अस्पतालमा विरामीको चाप बढेको छ । गर्मी मौषममा के–कस्ता स्वास्थ्य समस्या आइपर्न सक्छन् र समस्याबाट बच्न के गर्ने त ? यिनै पेरिफेरीमा रहेर पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डा. आशिष त्रिपाठीसँग समाचार दैनिकका लागी सहकर्मी उमा आलेमगरले गरेकोे कुराकानीको सम्पादीत अंशः

अहिले विरामीको चाप कत्तिको छ ?
–चाप नै छ भन्नुपर्छ । दैनिक १ सय ५० को हाराहारीमा विभिन्न स्वास्थ्य समस्या लिएर विरामीहरु आउने गर्दछन् । जसलाइ हामीले बाहिरङ्ग सेवा कक्षबाट सेवा उपलब्ध गराउंदै आएका छौँ भने आकस्मिक कक्षबाट दैनिक ३ सय देखि ४ सयको हाराहारीमा विरामीहरु आउँछन् ।

विशेषगरी कस्ता कस्ता स्वास्थ्य समस्या लिएर विरामीहरु आउने गर्दछन् ?
विशेषतः झाडापखाला, टाइफाइड, निमोनिया लगायतका स्वास्थ्य समस्या देखिएका छन् । त्यस्तै ज्वरोका विरामीहरु पनि त्यत्तिकै मात्रामा छन् । कतिपयमा त भाइरल ज्वरो तथा मलेरियाको समस्यामा पनि देखिएका छन् । रुघाखोकी लाग्ने, सुख्खा खोकी जोर्नी दुख्ने, टाउको दुख्ने, बान्ता हुने, पेट दुख्ने लगायतका समस्या लिएर पनि पनि उत्तिकै मात्रामा विरामीहरु आउने गर्दछन् ।

अघिल्लो वर्षको तुलनामा के यो वर्ष विरामीको चाप बढि हो ?
तुलनात्मक रुपमा बढि नै हो । विशेषत गर्मी महिनाको सुरुवातसँगै मानिसमा विभिन्न खालका समस्या उत्पन्न हुन थाल्छन, खाने बस्ने कुराको अझै टुंगो लागिसकेको छैन । सरसफाइको कमी, बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानीव्यहोरा, सडेगलेका फलफूल, जथाभावी खाना र पानीमा ध्यान नदिंदा रोगले आक्रमण नगर्ने कुरै भएन । 

गर्मीमा पकाइएको खाद्य वस्तु केही घन्टामै कुहिने, बेस्वाद र बेरङका हुन्छन् किनभने गर्मीमा सूक्ष्म जीवहरु छिटो र बढी सक्रिय हुन्छन् र तीव्र विषाक्त हुन्छन् र कुहिन्छन् । यस्ता कुरामा विचार नपु¥याउँदा पनि स्वास्थ्य समस्या अत्याधिक देखिएको छ । त्यसमा पनि अहिले अधिकांश मानिसहरुमा झाडापखालाकै समस्या धेरै छ ।

झाडापखाला लागेको छ भनेर कसरी थाहा पाऊने, यो कस्तो समस्या हो ?  
तीनपटकभन्दा बढी पातलो दिसा हुनुलाई झाडापखाला भनिन्छ । यसले शरीरमा भएको पानी र नुनको मात्रालाई तुरुन्तै कम गर्ने भएकोले शरीरमा विभिन्न किसिमका जलविनियोजन सम्बन्धी स्वास्थ्य समस्या देखा पर्दछन । वान्ता र पखाला संगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । यस्तो पखाला खासगरी पुरानो कोलाइटिस, अपच, तीव्र चिन्ता, काँचोकचिलो, बासी खानाले नै लाग्ने गर्दछ ।

झाडापखालाको प्रकोपबाट बच्नको लागि के गर्न सकिन्छ ?
झाडापखाला रोगको प्रकोप गर्मी मौसम लगायत अन्य समयमा पनि देखिएको छ । यो रोग सरुवा रोग भएकाले छिट्टै अन्य मानिसहरुमा पनि फैलिन सक्दछ । त्यसैले यो रोग लाग्नबाट बच्न र बचाउनका लागि  खानेपानी राम्ररी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने गर्नुपर्छ । खानेपानी शुद्ध हुनको लागि. खानेपानीको मुहान सफा छ की छैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

मुहानमा फोहोर पानी र फोहोर बस्तु मिसिन दिनुहुँदैन । खानेपानी शुद्धिकरण गर्न आवश्यक मात्रामा क्लोरिन, ब्लीचिङ पाउडर वा निर्मल चक्की वा वाटर गार्डको पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै खाना खानु अघि, दिसा गरि सकेपछि, फोहोरमैला छोएपछि, बच्चाको दिसा धोएपछि साबुन पानीले हात मिचीमिची धुने गर्नुपर्छ ।  बासी, सडेगलेको, झिँगा बसेको र खुल्ला रुपमा राखिएका खानेकुराहरु खानुहुँदैन  घर, आँगन, चोक, चर्पी लगायतका स्थानको सरसफाईमा पनि विशेष ध्यान दिनुपर्छ ।

जथाभावी दिसापिसाब नगर्ने,  चर्पीमा मात्र दिसापिसाब गर्ने, चर्पी नभएमा खाल्डो खानी खाल्डोमा दिसापिसाब गरी माटोले पुर्ने, बच्चाको दिसापिसाब पनि चर्पीमा फ्याक्ने वा खाडल खनेर पुर्ने ग¥यौँ भने झाडापखालाको प्रकोपबाट टाढै रहन सकिन्छ । त्यसैगरि  सफा र ताजा खानेकुरा पर्याप्त मात्रामा खाने, खानेकुरा राम्ररी पकाएर मात्र खाने, काँचै खाइने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खाने र पकाएको खानेकुरालाई छोपेर राख्ने गर्न सक्छौँ ।

त्यसैगरि घरमा पानी राख्ने भाँडा सफा राख्ने, पिउने पानीलाई सधैँ छोपेर राख्ने गर्नुपर्छ । खाना पकाउनु, पस्कनु, खानु र खुवाउनु अघि साबुनपानीले राम्ररी हात धुने लगायतका कुरामा बानी बसाल्यौँ भने झाडापखाला संगै अन्य फोहोरका कारण लाग्न सक्ने रोगहरुबाट बच्न सकिन्छ ।

झाडापखाला लागिसकेपछि, रोकथामको लागि के गर्नुपर्छ ?  
हाम्रो समाजमा झाडापखाला हुँदा झोलीलो पदार्थ खानुहुंदैन भन्ने अन्धविश्वास अझै पनि छ । तर यो एकदमै गलत हो । शरीरबाट झाडापखाला लागि जति मात्रामा पानी खेर गएको छ त्यतिकै अनुपातमा पुर्नजलीय झोल बनाएर खाने र खुवाउने गर्नुपर्छ । संभव भएसम्म झाडापखाला लाग्नेवित्तिकै स्वास्थ्य संस्था लगी स्वस्थ्यकर्मीसँग तुरुन्त उपचार गराउँदा राम्रो हुन्छ ।

घरमै उपलब्ध हुनसक्ने खाने कुराहरु जस्तै भातको माड, झोलपदार्थ, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खाने खुवाउने गर्नुपर्छ । त्यस्तै स्तनपान गरी रहेका बच्चालाई झाडापखाला लागेमा पटक पटक स्तनपान गराउने र झाडापखाला हुँदा साबिकमा जस्तै खानेकुरा खाने र खुवाउने गर्नुपर्छ ।

गर्मी मौषमको सुरुवातीसंगै अन्य कस्ता–कस्ता स्वास्थ्य समस्या आइपर्न सक्छन् र त्यस्ता समस्याबाट कसरी बच्ने ?

झाडापखाला बाहेक विशेषतः आउँ, हैंजा, फुड प्वाइजनिङ, टाइफाइड, जुका अन्य लामखुट्टेजन्य रोग संगै लु को पनि समस्या देखिन सक्छ ।

आउँ : बढी देखिने अर्को रोग आउँ हो । रगत र आउँयुक्त हल्का पखालादेखि रगतयुक्त चर्को पखाला चल्छ, वाकवाकी, कम्प ज्वरो हुन्छ, आन्द्रामा संक्रमण भई घाउसमेत हुनसक्छ । ज्वरो आउने तथा पेट दुख्ने हुन्छ । पखाला, झाडा वान्ता, आउँ, टाइफाइड, हैजामा जति पानी खेर जान्छ त्यति नै पानी र लवण दिनुपर्दछ ।

लामखुट्टेजन्य रोग : लामखुट्टेबाट उच्च र तीव्र ज्वरो हुने डेंगु, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । सेण्डफ्लाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ । लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनुपर्दछ । लामखुट्टेको बच्चा, लामखुट्टे तथा परजीवी नाश गर्ने लामखुट्टेको टोकाइबाट बच्न जनचेतनामा अभिवृद्धि गरी उपरोक्त महामारीलाई रोक्न सकिन्छ ।

हैजा: भिब्रियो कोलेराले आन्द्रामा संक्रमण गर्दा हैजा लाग्छ । हैजा लागेपछि धेरैपटक चौलानी पानी जस्तो पातलो दिसा र वान्ता एकैपटक भइरहन्छ । तीव्र गतिमा जलहरण भई बिरामी शिथिल भएर हलचल गर्ननसक्ने अवस्थामा पुग्छ ।

टाइफाइड : सरसफाईको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य किरा फट्याग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरियाबाट लाग्ने संक्रामक रोग टाइफाइड हो । विषमज्वर अथवा म्यादी ज्वरोमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसंग सम्बन्धित लक्षणका साथ । सुरुमा यो रोग रुघाखोकी लाग्दा जस्तै जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ ।

बिरामीलाई भोक नलाग्ने र विस्तारै सिकिस्त हुँदै जान्छ । अन्य लक्षणमा ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीं वान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि । मुख्य गरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुनसक्छ । यसमा कलेजो र फियो सुन्निन सक्छ ।

जुका : हात्तीपाइले, गोलो जुका, फित्तेजुका, अंकुसे जुका र चुर्ना जुका दिसाबाट उत्सर्जित हुनाले दिशाबाट सम्पर्कमा आउने माटो, सागसब्जी, फलफूल, पानी, दूध र अन्य खाद्यपदार्थ तथा दिसा बसिसकेपछि राम्रोसंग हात नधुँदा, मासु काँचै खाँदा, जुकाका फुल, लार्भा र जुका परजीवी निरोगीको मुखमा पर्दछन् ।  पेट दुख्ने, फुल्ने, अपच हुने, गुदद्वार चिलाउने, वान्ता हुने, पातलो दिसा हुने र पछि गएर जटिलता देखिन्छ ।

फुड प्वाइजनिङ :  गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्तता हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, गह्रौं, पचाउन नसकिने खाद्य पदार्थले फुड प्वाइजनिङ हुन्छ । यस्ता बिरामीलाई वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ ।

लु : अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याक्छ । जसले लु लाग्न सक्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको कम हुन गई उत्पन्न हुने समस्या र अंगहरुले तापक्रमलाई व्यवस्थित राख्न नसकी कमजोरी हुने, सिर्जित नकारात्मक असर हुन्छ । लुबाट बच्न पर्याप्त पानी पिउनुपर्दछ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्दछ । पानीको बोतल साथैमा राखी पटकपटक पानी पिउनुपर्दछ । खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ फलफूल प्रशस्त मात्रामा खानुपर्दछ । कडा घाममा नशालु पदार्थ सेवन गर्नु हुँदैन ।

अन्तमा,
– रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । सुतीको कपडा लगाउने, दिनहुँ नुहाउने, प्रशस्त पानी र झोल पदार्थ पिउने, व्यक्तिगत सरसफाइ गर्दा गर्मी मौसममा पनि स्वस्थ रहन सकिन्छ । रोगहरुबाट बच्न खानेकुरा राम्रोसंग सफा गरेर, पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पुग्दैन, दैनिक प्रयोग गर्ने भाँडाकुँडाहरु सफा हुन, खाना खानुभन्दा अघि र पछि हात राम्रोसंग साबुन पानीले माडेर धुन जरुरी छ । र स्वास्थ्य समस्या आइपरेमा नजिकैको स्वास्थ्य संस्थामा गई उपचार गराइहाल्न पनि अनुरोध गर्दछु ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘द भ्वाइसमा ब्याटल राउन्डभन्दा अगाडि नै नकाउट राउन्ड भएको भए हुन्थ्यो’

  • २ मङ्सिर, २०७६

काठमाडौं । अमेरिक शो ‘द भ्वाइस’ को फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ को टप ११ छनोट भइरहेको छ । पछिल्लो गीतसंगितमा रुचि राख्ने जो कोही युवा पुस्तालाई

‘माग घट्दा आयात घटेको हो, उत्पादन बढाए मात्र दिगोपन आउँछ’

  • १९ कार्तिक, २०७६

विगत वर्षहरूमा चरम व्यापार घाटा व्यहोरिरहेको नेपालमा चालू आर्थिक वर्षको तीन महिनामा भने व्यापार घाटा केही कम भएको तथ्यांक सार्वजनिक भएको छ । यसले

तत्काल नयाँ विधेयक ल्याउँछाैं, जनप्रतिनिधिको सुविधा रोकिँदैन : सभामुख थापा

  • ५ कार्तिक, २०७६

कैलाली । प्रदेश १ बाहेकका अन्य ६ वटा प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरुले लिँदै आएको पारिश्रमीक रोक्न भन्दै सर्वोच्च अदालतले गत शनिबार फैसला