• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एउटा सनसनीपूर्ण प्लेकार्ड, ‘हियर आइ एम सिटिङ करेक्ट्ली’ 

एउटा प्लेकार्ड जसले पाकिस्तानमा तहल्का मच्चायो 

एजेन्सी । गएको मार्च ८ विश्वभरीनै अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । नारी शसक्तिकरणको पक्षमा विश्वभरी विभिन्न कार्यक्रमहरु आयोजना भए । त्यहि दिन पाकिस्तानमा पनि र्याली आयोजना भयो । र्यालीमा प्रयोग गरिएको एउटा प्लेकार्ड पाकिस्तानमा अहिले राष्ट्रिय बहसको विषय बनेको छ । प्लेकार्ड बनाउने २२ वर्षे दुई युवतीलाई उक्त प्ले कार्ड बनाउँदै गर्दा त्यसले राष्ट्रिय बहसको रुप लिन्छ भन्ने अपेक्षा पनि गरेका थिएनन् । 

रुमिसा लखानी र रशिदा शबीर हुसैनले नारी दिवस पूर्वसन्ध्यामा कराँचीको एक विश्वविद्यालयमा आयोजना भएको पोस्टर निर्माणको ‘सेसन’मा सहभागी भएका थिए । 

कार्यशालामा २२ वर्षे उनीहरुलाई केहि नयाँ तथा रचनात्मक पोस्टर बनाउन मन लाग्यो र छलफल गर्न थाले । यहि क्रममा उनीहरुसँगैकी एक साथी टाङ फटाएर बसेको देखिइन् । उनको बसाइको त्यहि ‘पोज’ले रुमिसा र रशिदालाई पोस्टरको ‘कन्सेप्ट’ फुर्यो । 

रुमिसा भन्छिन्, –‘महिलाहरु बस्दा शिष्ट भएर बस्नुपर्छ, हामीले आफ्नो शरिरको आकार देखिने गरी लुगा कपडा लगाउनुहुँदैन तर पुरुषहरु जसरी बसेपनि कसैलाई फरक पर्दैन’ रुमिसालाई महिलाको बसाइको तरिकाबारे गरिने परिभाषा मन पर्दैन । 

साथीको बसाइको ‘पोज’ बाट ‘इन्स्पायर’ भएर रुमिसाले पोस्टर तयार पारिन् जसमा एक महिला कालो चस्मा लगाएर ‘विन्दास’ पारामा टाङ फटाएर बसेकी छिन् । साथी रशिदाले त्यसका लागि एउटा ‘स्लोगन’ नारा जुराइदिन्, ‘हियर आइ एम सिटिङ करेक्ट्ली’ अर्थात ‘यहाँ म सहि तरिकाले बसिरहेकी छु’ ।

रशिदा चाहन्थिन महिलालाई कसरी बस्ने, कसरी बोल्ने, कसरी हिँड्नेभनेर सिकाउनेहरुको ध्यान आकृष्ट होस । भयो पनि त्यस्तै । 

हबिब विश्वविद्यालयमा कम्युनिकेशन डिजाइनकी विद्यार्थी रुमिसा र सोसियल डिभेलपमेन्ट एण्ड पोलिसीकी विद्यार्थी रशिदाको भेट अध्ययनको पहिलो वर्षमा भएको थियो । मित्रता झांगिदै गयो, दुबैको सोच मिल्दोजुल्दो । आफ्नो व्यक्तिगत जीवनको अनुभवले उनीहरुलाई महिला अधिकारको पक्षमा वकालत गर्न प्रेरित गर्यो । 

उनीहरुलाई महिलाले आफ्नो अधिकारको लागि बोलेको, लडेको मन पर्छ । शहरमा हुने कार्यक्रमहरु खासै छुटाउँदैनन् । त्यसैले गत महिना भएको ‘औरत मार्च’ अर्थात महिला र्यालीपनि छुटाउने कुरै भएन ।

‘त्यो एकदमै रोमाञ्चक अनुभव थियो, सबै महिला आफ्नो अधिकारका लागि आवाज उठाइरहेका थिए, रुमिसा भन्छिन्, त्यो हाम्रो ‘स्पेस’ थियो र त्यहाँ उपस्थित सबैले पक्कैपनि आफुलाई शसक्त भएको महसुस गरेको हुनुपर्छ’ । 

र्यालीमा बोकिएका प्लेकार्डले महिलाको शरिर सम्बन्धि निर्णय गर्ने अधिकार पुरुषमा निहित छ भन्ने परम्परागत धारणालाई चुनौती दिने प्रकृतिका थिए र तिनले पक्कैपनि पाकिस्तान जस्तो कट्टर इस्लामिक देशमा प्रभाव नपार्ने कुरै थिएन । रुमिसा र रशिदाले बनाएको प्लेकार्ड त्यस्तै मध्यको एउटा थियो ।

र्यालीबाट घर पुग्दासम्म प्लेकार्ड बोकेको उनको तस्बीर सामाजिक संजालमा भाइरल भइसकेको थियो । 

फेसबुकमा उक्त तस्बीरमा धेरैले टिप्पणी गरेका थिए । कसैले भनेका थिए, ‘मेरा छोरीहरुका लागि यस्तो खालको समाज मलाई चाहिँदैन’ , यस्तै कोहिले भने, ‘म महिला हुँ तर मलाई यो कत्तिपनि राम्रो लागेन, हामी मुस्लिम देशका हौँ भन्ने देखाउ’ ।

त्यस्तै कसैले भने, ‘यो महिला दिवस हो कुकुर्नीको दिन होइन’ भन्ने जस्ता नकारातमक प्रतिक्रिया दिएका थिए । 

यद्यपी केहिले भने उनीहरुको उक्त प्लेकार्डले दिन खोजेको सन्देशको सर्हाना गरेका थिए । एक महिलाले ट्वीट गर्दै भनेकी थिइन्, ‘मलाई बास्तवमै विश्वास लागिरहेको छैन किन मानिसहरु पोस्टरमा भएका शब्दहरुसँग डराएका छन् जबकी पाकिस्तानमा महिलाहरुलाई यति धेरै अपमानित गरिन्छ’ । रुमिसाले केहि चिनेजानेकाहरुबाट पनि सन्देशहरु प्राप्त गरिन् ।

उनलाई आएका सन्देश मध्य एउटा यस्तो थियो, ‘हामी विश्वास पनि गर्न सक्दैनौँ कि तिमीले यस्तो बनायौ, जबकी तिमी एक सामान्य परिवारबाट हौ’ । 

रुमिसाको संयुक्त परिवारका सदस्यले उनलाई अब धेरै विरोध र्यालीहरुमा पठाउन नहुने तर्क गर्दा उनका आमा बुवाले भने उनलाई समर्थन गरे । 

रुमिसा र रशिदाको जस्तै अर्को एउटा प्लेकार्ड पनि थियो जसले धेरैको ध्यान आकृष्ट गर्न सफल भयो । त्यसमा लेखिएको थियो ‘माइ बडी माइ चोइस’ अर्थात ‘मेरो शरिर मेरो अधिकार’ । यो नाराले पनि धेरै पुरुषहरुलाई महिलाले आफुहरुलाई चुनौती दिइरहेको महसुस गरे । 

एकतर्फ ‘औरत मार्च’ महिला अधिकारको आवाज उठाइरहेको थियो भने अर्को तर्फ यस्ता प्लेकार्डले महिला अधिकारकर्मीहरुलाई दुई पक्षमा विभाजित गरेको छ । र्यालीमा सहभागी धेरैलाई रुमिसा र रशिदाको जस्ता प्लेकार्डमा लेखिएका मुद्दाहरु जायज लागेनन् । रुमिसा भन्छिन्, ‘मेरो आफ्नै साथी जो आफुलाई ‘फेमिनिष्ट’ बताउँछिन्, उनलाई मेरो पोष्टर फाल्तु लाग्यो ।’ 

महिलाअधिकारकर्मी किश्वर नहिद भन्छिन्, ‘रुमिसा र रशिदाको जस्तो प्लेकार्ड हाम्रा मूल्य र मान्यताहरुप्रतिको अपमान हो’। उनलाई लाग्छ, ‘त्यस्ता प्लेकार्ड प्रयोग गरी अधिकार पाउँछु भन्ने लाग्नु र मान्छे मारेर स्वर्ग पुग्छु भनेर सोच्नेहरु एउटै हुन् । उनीहरुलाई बहकाइएको हो ।’ 

यी विवाद र बहसहरुका बिच रुमिसा भने खुशी छिन् उनको पोस्टरले सबैको ध्यान आकृष्ट गर्यो र बहसको विषय बन्यो । 

-श्राेतः बिबिसी 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर