• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

बहसमा ‘टुटल’ र ‘पठाओ’, निस्केला त निचोड ? 

संचालक भन्छन् ‘सरकारको सहयोग चाहिन्छ’ 

काठमाडौं । ‘बानेश्वरबाट बनस्थली सरेपछि मलाई सबभन्दा धेरै सेवा पठाओले दिइरहेको थियो । निकै थोरै माइक्रो र बस चल्ने रुटमा सिट पाउने कल्पनै पनि गाह्रो । त्यसमाथि जामको टन्टा बेग्लै । समयमा कहिल्यै नपुगिने । मिटरमा जान नमान्ने ब्ल्याकवाला ट्याक्सीको ठगी सहन सकिन्थेन । यस्तोमा मोटरसाइकलको लिफ्ट गजबै थियो ।’ पठाओको नियमित प्रयोगकर्ता लेखक तथा पत्रकार यंज्ञशले भने, ‘बुधबारदेखि एप बन्द छ आज बसमा आए न बसमा सिट पाइयो न त टाइममा अफिस नै पुगियो’ झन अहिले त भृकुटीमण्डपमा गाडि रोक्न दिँदैन, कि न्युरोडगेटबाट थापाथली हिँडेर जानुपर्यो कि जमलबाट अर्को गाडि चढ्नुपर्छ’ ।’ पत्रकार यंज्ञसलाई मात्र होइन उनी जस्तै टुटल र पठाओ जस्ता एप प्रयोग गरी दैनिक आफ्नो गन्तब्यमा पुग्ने गरेका थुप्रै यात्रु अन्यौलमा परेका छन् ।  

मोबाइल एप्लिकेशन प्रयोग गरी उपत्यकाभित्र यात्रु ओसार पसार गर्न भाडामा संचालिन नीजि प्रयोजनका दुइपांग्रे सवारी साधन हुन टुटल र पठाओ । 

कसरी सुरु भयो बहस ? 

शनिबार ट्राफिक प्रहरीले भाडा लिएर यात्रु बोक्ने मोटरसाइकलका चालकलाई कारवाही गरेको सामाचार सार्वजनिक भयो । केहि प्रयोगकर्ताले गुनासो गरेपछि कारवाहि गरेको ट्राफिक प्रहरीको भनाइ छ । अर्कोतर्फ टुटल र पठाओ जस्ता एपका कारण ट्याक्सी चालकको व्यवसाय चौपट हुने देखिएपछि तीनै ट्याक्सी चालकले गुनासो गरेका कारण भाडा चलाइएका दुई पांग्रे कारवाहीमा परेको पनि भनिएको छ । 

शनिबारअघि टुटल र पठाओ एप प्रयोग गरेर यात्रु बोक्ने मोटरसाइकलका चालकमाथि कारवाही भएको खबर आएको थिएन । यद्यपी यो कानुनी दायरा बाहिर छ भन्ने खबरहरु भने बेला बेला आइरहेका थिए । ट्राफिकले यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकललाई कारवाही गरेपछि सोमबार दिउँसो टुटलका कार्यकारी अधिकृत शिक्षित भट्टले फेसबुकमा एउटा पोष्ट अपडेट गरेका थिए । उनको पोष्टको आशय थियो ‘हामी धेरै अड्चन पार गर्दै यहाँसम्म आइपुगेका छौँ । टुटलले धेरैलाई रोजगार हुनबाट सहयोग गरेको छ । हामी कानुनी रुपमा दर्ता हुने प्रकृयामा छौँ’ । 

मङ्गलबार दिनभरी यसबारेमा समाजिक संजालमा बहस भयो । कसैले टुटल र पठाओ जस्ता एप कानुनी रुपमा दर्ता नभएका, कानुनी मान्यता नपाएका एप प्रयोग रोक्नुपर्ने बताइरहेका थिए भने कोहि भने कानुन नभए परिमार्जन गरेर भएपनि यस्ता एप चल्न दिनुपर्ने, सार्वजनिक सवारी साधनको सुविधा व्यवस्थित गर्न सके यस्ता एप नचाहिने जस्ता तर्क गरे ।

उपत्यकाभित्र टुटल र पठाओ एप्स प्रयोग गरी करिब १५ हजार मोटरसाइकल र स्कुटर भाडामा संचालित छन् । यहि जनवरीमा टुटलले आफ्नो सेवा विस्तार गरेको दुई वर्ष भएको छ । टुटलमा १० हजार ग्राहक आवद्ध छन् । दैनिक ३ हजार जनाले टुटलबाट सेवा दिइरहेका छन् । त्यस्तै पठाओआ सब्स्क्राइबर पनि १० हजारकै हाराहारीमा छन् । 

प्रधानमन्त्रीले के भने ? 

ट्राफिक प्रहरीले अचानक मोटरसाइकल चालकलाई कारवाही गरेपछि मंगलबार दिनभर सामाजिक संजालमा बहस भयो । यो बहसले सरकारको ध्यान नतान्ने कुरै भएन । यता ट्राफिक प्रहरीले यस्ता सेवा तत्काल बन्द गर्न भन्दै सेवाग्राहीलाई कारवाही गरिरहँदा प्रधानमन्त्री के पी शर्मा ओलीले एक बैठकमा भौतिक योजना तथा यातायात मन्त्रीलाई टुटल र पठाओलाई बन्द नगर्न निर्देशन दिँदै थिए । प्रधानमन्त्री ओलीले समस्या समाधान गर्नतर्फ जानुपर्ने भन्दै कम्पनीनै बन्द गर्दा अस्तव्यस्तता बढ्ने र अन्तर्राष्ट्रिय स्तरमा पनि यसले सकारात्मक सन्देश नजाने बताए । बैठकमा उनले कानुन बनाएर यस्ता कम्पनीहरुलाई नियमन गर्नुपर्नेमा जोड दिएका थिए । 

‘कसैलाई तपाइँले भाडाको यात्रु चढाएको की आफ्नो मान्छे भनेर सोध्ने कुरा आउँदैने’–ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटा 

शनिबार ५ वटा मोटरसाइकल कारवाही गरिएपछि सामाजिक संजालमा बहस चर्कियो तर त्यसपछि भने ट्राफिक प्रहरीले यस्ता मोटरसाइकललाई कारवाही गरेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी जयराज सापकोटाले भने, ‘कसैको निजि मोटरसाइकललाई गएर तपाइँले कसलाई चढाउनुभएको भनी सोध्न मिलेन गुनासो आयो भने कारवाही गर्ने काम हाम्रो हो हामी गर्छौँ’ ।

सापकोटाले टुटल र पठाओ एप वैधानिक ढंगमा चलेका होइनन भन्ने गुनासो आएपछि ती कम्पनीका संचालकसँग आफुहरुले छलफल गरेको बताए । ‘छलफलका क्रममा यी कम्पनीले यातायात व्यवस्था ऐन २०४९ लाई मिचेको पाइयो’ सापकोटाले भने, उहाँहरुसँग कानुनी आधार केहि भेटिएन, कम्पनी रजिष्ट्रारको कार्यालयमा मात्र दर्ता भएको पाइयो । यातायात व्यवस्था विभागमा बुझ्दा यो गैरकानुनी हो भन्ने कुरा आएपछि हामीले प्रकृयागत रुपमा अघि बढ्नुस भनेका थियौँ तर त्यसपछि उहाँहरु हाम्रो सम्पर्कमा आउनुभएको छैन ।’ 

प्रधानमन्त्रीको निर्देशनपछि यी एपले पूर्ववत आफ्नो सेवा सुरु गरिसकेका छन् । प्रधानमन्त्रीको निर्देशनबारे ट्राफिक प्रहरीलाई कतैबाट औपचारिक जानकारी प्राप्त भएको छैन । यद्यपी यसरी यात्रु बोक्दा यात्रुको सुरक्षा, सुविधा, सहजतालाई हेरेर दिर्घकालिन समाधान निकाल्न सापकोटाले कम्पनीका संचालकसँग आग्रह गरे । उनले भने, ‘कारवाहीपछि बहस चल्यो पक्कैपनि निचोड त निस्केला नी’  । 

‘प्रधानमन्त्रीको निर्देशनबारे जानकारी छैन, कारवाहीका लागि हामीले भनेका होइनौँ’–यातायात व्यवस्था विभाग प्रवक्ता गोकर्ण उपाध्याय

यता विभाग पनि प्रधानमन्त्रीको निर्देशनबारे आफुहरुलाई जानकारी नभएको बताउँछ । विभागका प्रवक्ता गोकर्ण उपाध्यायले कारवाही गर्नु भनेर ट्राफिक प्रहरीलाई विभागले निर्देशन नदिएको र प्रधानमन्त्रीको निर्देशन आफुहरुलाई नआएको बताए ।

उनले भने ‘यी एप बारे विभागलाई त्यति धेरै जानकारी छैन तर टुटल र पठाओले अहिले गरिरहेका काम कानुन सम्मत छैनन्, हामी कानुन संसोधनको प्रकृयामा छौँ । टुटल पठाओका संचालक हामी कहाँ आएका छैनन् । तर छलफल गरेर कसरी अगाडि बढ्न सकिन्छ भनेर हामी छलफल गर्छौँ ।’

टुटलका सिइओ शिक्षित भट्ट भन्छन्, ‘हामीलाई सरकारको सहयोग चाहिन्छ’

यहि जनवरीमा दुई वर्ष भयो टुटलले आफ्नो सेवा सुरु गरेको । यसबाट झण्डै ३ हजारले रोजगारी पाइरहेका छन् । तर अहिले आएर टुटल र पठाओ जस्ता कम्पनी गैरकानुनी ढंगमा संचालित छन् भन्ने बहस चलेको छ । टुटलका सिइओ शिक्षित भट्ट आफुहरु गैरकानुनी ढंगमा चलेको भन्दा पनि अहिले आफ्नो काम अनुकुल कानुन नभएको अवस्था रहेको बताउँछन् । कम्पनी संचालन भइरहेको अवस्था र यसले आम नागरिकलाई सुविधा दिइरहेको अवस्थामा अब कानुन त्यहि अनुसार परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । भट्ट भन्छन्, हाम्रो सेवालाई विस्तार गर्न के कस्ता नीतिहरु ल्याउनुपर्छ हामी ल्याउन तयार छौँ तर यसका लागि सरकारको सहयोग चाहिन्छ’ । 

अहिलेको व्यवस्था के छ ? 

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारी साधनले उपदफा २ बमोजिम भाडाको यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । 

भाडामा यात्रु बोक्ने मोटरसाइकललाई कारवाही गरेपछि टुटल र पठाओजस्ता एप बन्द गर्ने होइन बरु यसलाई नियमन गरी कानुनी दायरामा ल्याउन सकिने बहस उठेको छ । ट्राफिक प्रहरीका प्रवक्ता जयराज सापकोटाले भने जस्तै बहस चलेपछि निचोड त निस्किन्छ नै तर सबै पक्षको समन्वय भने आवश्यक छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर