• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भुइँमान्छेका नेता–कन्हैया कुमार 

काठमाडौं । शिव सेनाका वरिष्ठ नेता सन्जय राउतले गएको आइतबार भने,–‘लोकसभा चुनावमा विहारको बेगुसराय सिटमा कम्युनिष्ट पार्टी सिपीआईका उम्मेदवार कन्हैया कुमारले नजितुन भन्नेमा भारतीय जनता पार्टी सचेत हुनुपर्छ’ । शिव सेनाको मुखपत्र सामनामा उनले भनेका छन्, ‘कुनै पनि हालतमा जित्नु हुँदैन चाहे धाँधली नै किन गर्नु नपरोस’ । कन्हैयाको जित भारतको संविधानको हार हुने राउतको ठम्याइ छ । भारततमा मतदानका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिन्छ । राउत कुनै पनि हालतमा कन्हैयाले जितुन भन्ने चाहँदैनन् त्यसैले उनले भनेका छन्,– ‘विजेपीले भोटिङ मेसिनमा गडबडी गरेर भएपनि कन्हैयालाई हराउनैपर्छ । राउत जस्तै अतिवादमा विश्वास गर्नेहरु अहिले कन्हैया कुमारसँग डराइरहेका छन् वा उनले चुनाव कुनैपनि हालतमा हार्नुपर्छ भन्ने मान्यतामा छन् । 

भारतमा गत विहीबारदेखि सुरु भएको लोकसभा चुनावका चर्चित पात्र हुन् कन्हैया कुमार । प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध नारा लगाएको आरोपमा देशद्रोहको मुद्दामा जेल परेका कम्युनिष्ट विचारधाराका चर्चित विद्यार्थी नेता हुन कन्हैया कुमार । जब आम नागरिकका समस्या समाधान गर्छु भन्ने प्रतिवद्धता गरेर चुनाव जित्ने नेताहरु सत्ताको रामलिलामा मग्न हुन थाल्छन् तब तब भुइँमान्छेहरुको सपनालाई आफ्नो सपना बनाएर साकार पार्न कम्मर कस्ने जुझारु नेताहरुले राष्ट्रिय राजनीतिमा हलचल मच्चाउने गर्छन् । त्यसो त केहिसमय अघि अरविन्द केजरीवाल उदाउँदा नेताका रुपमा भारतीय राजनीतिमा प्रवेश गरेका थिए तर उनको उडान त्यति माथि पुग्न सकेको छैन । 

राजनीतिमा कन्हैयाको प्रवेश 

विहारको बेगुसराय सिटमा प्रधानमन्त्री नरेन्द्र मोदीका निकट रहेका उम्मेदवार गिरिराज सिंहको विरुद्धमा उम्मेदवारी दिएका छन् कन्हैया कुमारले । कम्युनिष्ट उम्मेदवार कन्हैयालाई । अल इण्डियन स्टुडेन्ट फेडेरेसन (एआईएसएफ) हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेका कन्हैयाले भर्खरै मात्र जवाहरलाल नेहरु विश्वविद्यालयबाट आफ्नो विद्यावारिधि सक्काएका छन् । जेएनयुमै उनले आफ्नो राजनीतिक करियरलाई नयाँ मोड दिए । सन् २०१५ मा जेएनयुको विद्यार्थी युनियनको अध्यक्ष बन्ने उनी  एआईएसएफ सदस्य थिए । उनले अल इण्डिया स्टुडेन्ट्स युनियन, अखिल भारतीय विद्यार्थी परिषद लगायतका उम्मेदवारहरुलाई हराएका थिए । यहिँ बाट नै उनी राजनीतिक वृत्तमा चर्चित बने ।

जेएनयु काण्ड जसले उनलाई चर्चित बनायो 

फेब्रुअरी १२ सन् २०१६ मा कन्हैया कुमारलाई दिल्ली प्रहरीले पक्राउ गर्यो । उनीमाथि देश द्रोह र आपराधिक गतिविधि गरेको आरोप लगाइयो । संसद आक्रमणका अफ्जल गुरुलाई दिन लागिएको फाँसीको सजाय विरुद्ध जेएनयुमा केहि विद्यार्थीले विरोध कार्यक्रम आयोजना गरेका थिए । सोहि कार्यक्रममा कन्हैयाले राष्ट्रघाती नाराहरु लगाएको भन्दै एक सांसद महेश गिरीले उजुरी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर कन्हैया कुमारले भने आफुले राष्ट्रिय स्वाधिनताका विरुद्ध कुनै नारावाजी नगरेको भन्दै आरोपको पटक पटक खण्डन गरे ।

अदालतमा पुछताछका क्रममा पनि उनले देशद्रोहको आरोप अस्विकार गरेका थिए । साथै क्याम्पसको अनुशासन विभागले पनि छानविन समिति गठन गरेर घटनामा संलग्नहरुलाई कारवाहि गर्यो । कारवाहिमा पर्नेमा कन्हैया पनि परे । उनलाई विभागले १० हजार भारु जरिवाना तिरायो । तर पछि दिल्ली उच्च अदालतले विभागको उक्त निर्णयलाई अवैध ठहर गर्यो ।

कन्हैया कुमारको पक्राउ राष्ट्रिय राजनीतिको मुख्य मुद्दा बन्यो र विपक्षी पार्टी देखि शिक्षक, प्राध्यापक, विद्यार्थी लगायतले कडा विरोध गरे । जेएनयुका विद्यार्थीले पक्राउको विरोधमा आन्दोलन गरे, विश्वविद्यालय ठप्प पारे । कन्हैयाका अभिभावकले आफ्नो छोराले हिन्दुत्वको विरोध गरेकोमा शिकार बनाइएको बताए । २ मार्च २०१६ मा दिल्ली उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्यो ।  न्यायाधीश प्रतिभा रानीले कन्हैयाले राष्ट्रियता विरोधी नारा लगाएको कुनै प्रमाण नभेटिएको बताइन् ।

रिहा भएको भोली पल्टै जेएनयुको सभाहलमा भाषण गर्दै उनले भने, ‘मैले भारतबाट स्वतन्त्रता  खोजेको होइन, भारतमा स्वतन्त्रता खोजेको हो’ । उक्त सभामा उनले विद्यार्थीलाई भाजपा समर्थित राष्ट्रिय स्वेयमसेवक संघबाट राष्ट्रलाई मुक्त गर्न आग्रह गरे । संघले देशमा विभाजन ल्याएको उनको भनाइ थियो । उनले आफुलाई गिरफ्तार गराउन भूमिका खेलेका विद्यार्थी संगठनहरु प्रति लक्षित गर्दै तिनीहरु शत्रु नभएर आफ्नो विपक्षी भएको बताए । साथै आफ्ना समर्थकलाई स्वतन्त्रताको नारा लगाउन नछोड्न पनि आग्रह गरे । उनको भाषणले सबैतिरबाट वाहवाही बटुल्न सफल भयो । भाजपा इतर पार्टीका नेताहरु तथा स्वतन्त्र विश्लेषकहरुले उनको प्रशंसा गर्न छुटाएनन् । सशी थुरुरले कन्हैया कुमारलाई उक्त भाषणले ‘राष्ट्रव्यापी रुपमा राजनीतिक स्टार’ बनाएको बताउँदै भाजपालाई बधाई दियो । 

अदालतबाट धरौटीमा छुटपछि कन्हैयालाई ज्यान मार्ने धम्कीहरु आउन थाले । भाजपाको युवा संगठनका नेता कुलदिप वर्षनेलाई कन्हैयाको जिभ्रो काट्नेलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेकोमा संगठनले निकाला गर्यो । साथै उनलाई गोली हान्नेलाई ११ लाख दिने भनेर नयाँ दिल्लीमा पोस्टरहरु टाँस्ने एकजना पक्राउ पनि परे । 

८ मार्च २०१६ मा अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा सम्वोधन गर्दै कन्हैयाले काश्मिरी महिलाको बलत्कारमा भारतीय सेना संलग्न भएको आरोप लगाएका थिए । उनले कार्यक्रममा भनेका थिए, –‘मानवअधिकार उल्लंघको विरुद्धमा हाम्रो आवाज रोक्ने जतिसुकै प्रयास गर तर हामी रोकिने छैनौँ, हामी हाम्रा सेनाको सम्मान गर्छौ तथापी कश्मिरमा सेनाद्वारा महिलामाथि भएका बलात्कार बारे हामी चुप बस्दैनौँ’ । यसले उनलाई फेरी राष्ट्रविरोधी बनायो । भाजपा लगायत पार्टीले उनले राष्ट्र विरोधी अभिव्यक्ति दिएको आरोप लगाए । 

चुनौती बन्नसक्छ लोकसभामा कन्हैयाको उम्मेदवारी 

द वायरका लागि मनिन्द्र ठाकुर लेख्छन्, ‘स्वतन्त्रताको ताका राम्रो मध्यमा गनिने विहार राज्य अहिले भारतको सबैभन्दा अविकसित राज्यमा परिणत भएको छ । विहारीहरु अध्ययनका लागि होस वा दैनिक गुजारा चलाउनका लागि होस अन्यत्रै बसाइसराइ गर्न वा जान बाध्य भइरहेका छन् । राज्यलाई एक कुशल नेता र नेतृत्वको आवश्यकता छ जसले त्यहाँका नागरिकलाई नयाँ आशा दिलाउन सकोस ।’ उनी लेख्छन्, ‘कन्हैया विहारी नागरिकका लागि त्यस्तै आशा हुन् । संसदमा विहारको प्रतिनिधित्व गरेर विहारलाई समृद्धिको दिशातर्फ अघि बढाउन सक्नेछन् भन्ने मात्र नभइ उनले नागरिकमा एक खालको आत्मविश्वास भरिदिनेछन् की कसैले जातभात तथा समुदाय र सम्प्रदायको नारा विना र कुनै व्यवसायीको आर्थिक सहयोग विना पनि चुनाव जित्न सक्नेछन् ।’

मानिसहरु जातीय राजनीतिबाट वाक्क भइसकेको सन्दर्भमा कन्हैया जातीय तथा धार्मिक राजनीति भन्दा माथि उठ्न चाहन्छन् । मनिन्द्र ठाकुर आफ्नो लेखमा लेख्छन्, ‘वरिष्ठ चिकित्सकहरुदेखि एक गरिब महिला जो आफ्नो बच्चालाई पढाउन संघर्ष गरिरहेकी छिन्, सबै एउटै महसुस गर्छन् । कन्हैयालाई सबै समुदायका गरिबहरुले अंकमाल गर्छन् ।’ उनी गाडि लेख्छन्, ‘राजनीति र व्यवसायको पूर्णतया गठबन्धन हुने आजको युगमा कन्हैया अपवाद हुन् ।’ कन्हैया कुमारलाई खासगरी अल्पसंख्यक र सिमान्तकृत जनताको समुहले भरोसा गरिरहेको छ । उनको पछाडी अल्पसंख्यक तथा सिमान्तकृत अनि गरिबीको दलदलमा फसेकाहरुको ठूलो जमात छ । यो जमातलाई हेर्दा उनले विपक्षीलाई कडा टक्कर दिने विश्वास गर्न सकिन्छ । 

अर्को तर्फ बेगुसराय परम्परागतरुपमा कम्युनिष्ट पार्टीको गढ हो भने कन्हैया भूमिहार समुदायका । यसले पनि कन्हैयालाई सहज बनाउन सक्छ । तर, पछिल्लो समयमा भने भारतीय जनता पार्टीले यो गढ भत्काएर आफ्नो पकडमा लिएको छ । भाजपाका उम्मेदवार गिरिराज सिंह जो मोदीका निकट हुन् सँग कन्हैयाको भिडन्त हुने छ । गिरिराज पूर्वमन्त्रीसमेत हुन् । आरजेडीका तनवइीर हसन पनि प्रतिस्पर्धामा छन् । 

कन्हैयाले द हिन्दु विजनेस लाइनसँग भने, ‘यो पटक सबै राजनीतिक अंक गणित तथा जातीय समिकरण फेल खानेछन् । मे २३ मा आउने नतिजाले विश्लेषकहरुलाई समेत अचम्भित पार्नेछ ।’ 

देशद्रोहको आरोप लागेका कन्हैया कुमार जेएनयुको भाषणमा उल्लेखित स्वतन्त्रताको परिभाषा अझै पनि आफ्ना चुनावी भाषणहरुमा दोहोर्याउँछन् । उनी अझैपनि आफुले खोजेको स्वतन्त्रता भारतबाट नभइ भारत भित्रै रहेको बताउँछन् र बुझाउँछन् , ‘हामी भारतबाट स्वतन्त्र हुन खोजेका होइनौँ, हामी भारतभित्रैका गरिबी र बेरोजगारी जस्ता समस्याबाट स्वतन्त्र हुन चाहेका हौँ’ । र यसैले बेगुसरायमा उनको लोकप्रियता बढिरहेको छ । 

चुनावी र्यालीमा उनका समर्थक लोक लयमा गाउँछन्, ‘अरे कान्हाको जिताएंगे’ अर्थात ‘कन्हैयालाई जिताउनेछौँ’ र अर्को समूह उस्तै लयमा जवाफ फर्काउँछन्, ‘ठिक है’ अर्थात ‘ठिक छ’ ।
 

याे सामाग्री विभिन्न एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे हाे  । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर