• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

अन्तर्राष्ट्रिय मामिलामा ०७५ साल : सफलता धेरै, विवाद थोरै !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष, गएको फागुनमा पूरा भइसकेको छ । दुई तिहाई बहुमत प्राप्त सरकारको एक वर्ष कस्तो रह्यो भन्नेबारेमा यसअघि पनि समिक्षाहरु भइसकेका छन् । ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ नारा घन्काउँदै दुई तिहाइ बहुमतको सरकार अघि बढिरहेको छ कसैको कटाक्षको पर्वाह नगरी । 

ठूला ठूला योजना सुनाउँदै जनतालाई सपना देखाउन माहिर प्रधानमन्त्री ओलीले आफ्नो सरकारको एक वर्षे प्रगति विवरण गएको फागुनमै दिइसकेका छन् । यहि प्रधानमन्त्री ओली नेतृत्वको सरकारका अरु उपलब्धि वा कमजोरी नभइ अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा सरकारको वर्ष २०७५ कस्तो रह्यो भन्नेबारे संक्षेपमा लेखाजोखा गर्न खोजिएको छ । 

छिमेकीसँग सन्तुलन मिलाउन मन्त्री पास
नेपालमा सरकार फेरिएपिच्छे चर्चा हुने गर्छ, नेपालको परराष्ट्र नीति कस्तो हुन्छ, छिमेकी भारत र चीनबीच कसरी सन्तुलन कायम गर्छ, नेपाल भारततिर ढल्किन्छ की चीनतीर ? र सरकारको परराष्ट्र नीतिमा यो चुनौती पनि बन्ने गरेको छ । 

यी र यस्ता प्रश्नहरु दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार गठन भएपछि पनि उठे । ओली सरकारले भारत र चीनसँगको सम्बन्धलाई कसरी सन्तुलनमा राख्लान् भन्ने जिज्ञासा सबैलाई थियो । यो मामिलामा प्रधानमन्त्री ओली केहि हदसम्म ‘पास’ भएको मान्नुपर्छ । 

प्रधानमन्त्री ओली छिमेक र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगती हासिल गरेको दावी गर्न पछि हट्दैनन् । ‘सबैसँग मित्रता, कसैसँगपनि छैन शत्रुता’को नारामा नेपालले आफ्नो परराष्ट्र सम्बन्ध सुमधुर बनाएको ओलीको विश्वास छ । प्रायजसो भारत र चीनसँग सन्तुलन कायम गर्ने मेलो मेसोमै अल्झिरहँदा अन्य राष्ट्रसँगको सम्बन्ध तथा अन्तक्र्रिया छुट्दै गइरहेको सन्दर्भमा ओली सरकारले पुराना सम्बन्धहरुलाई पुनः जोड्ने सर्हानीय प्रयास गर्यो । 

भूकम्प लगत्तै नेपालमा गरेको नाकाबन्दीका कारण ओली सरकार चीन पट्टि ढल्किन्छ की भन्ने संसयका बीच ओलीले भारतसँगको सम्बन्धलाई बिग्रिन दिएनन् । सरकार गठन नहुँदै भारतले विदेशमन्त्री सुष्मा स्वाराजलाई नेपाल भ्रमणमा पठाएर ओलीलाई भारत भ्रमणको निम्तो दिनु र त्यसपछि दुई देशबीच उच्चस्तरीय भेटघाट तथा भ्रमणले निरन्तरता पाए जसले बिग्रिँदै गरेको सम्बन्ध सम्हाल्न सहयोग पुर्यायो । 

राजनीतिक विचारधारा समान भएकाले पनि नेपाल चीनसँग बढि नजिक हुन्छ भन्ने बुझाइलाई ओलीले एक अन्तर्वार्तामा कडा जवाफ समेत दिएका थिए । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि चीनमा एक कार्यक्रममा सहभागी हुने क्रममा भारतलाई चिढ्याउन वा भारतसँग टाढा हुन चीनसँग नजिकिएको होइन भन्द्र प्रष्ट्याएका थिए । साथै, उनले त्यतिबेला भनेका थिए नेपाल भारत र चीनबीच रहेको मतभेदहरु सुल्झाउनको लागि सेतु बन्नेछ । 

प्रधानमन्त्री ओली आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नुका साथै दुई मुलुकबीच केही थाती रहेका समस्याहरु समाधान हुँदै गएको विश्वास गर्छन । त्यस्तै, सहयोगमा सञ्चालित आयोजनाहरुको कार्यान्वयनले गति लिएको बताउँछन् । दुई देशबीच कृषि, रेलमार्ग र अन्तरदेशीय जलमार्गका क्षेत्रमा सहयोग अघि बढाउने सहमति हुनुका साथै सहयोगका क्षेत्र विस्तार हुनु महत्वपूर्ण उपलब्धि मान्छन् । 

त्यस्तै, चीनका राष्ट्रपति र प्रधामन्त्रीसँग भएका महत्वपूर्ण भेटघाट एवम् वार्ताबाट रेलवे, कनेक्टिभिटी र उर्जा क्षेत्रसँग सम्बन्धित आयोजनाहरुमा सहयोग आदान प्रदान गर्ने विभिन्न समझदारीमा सम्झौता हुनुलाई सकारात्मक मान्न सकिन्छ । 

ओली सरकार छिमेकी देशहरुसँगको सम्बन्ध सुमधुर बनाउनमा मात्र केन्द्रित नभइ पुराना सम्बन्धहरुलाई पुनर्ताजगी गर्नमा पनि अग्रसरनै रह्यो । छुट्दै गएका सम्बन्धहरुमा शक्ति राष्ट्र अमेरिका अगाडि आउँछ । 

नेपाल अमेरिका सम्बन्ध स्थापना भएको सम्भवतः पहिलो चोटी अमेरिकाको निमन्त्राणमा नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिका भ्रमण गरे । त्यस्तै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पटक युरोपका मुलुक र एक पटक जापानको भ्रमण गरेर कूटनीतिक सम्बन्धलाई पुनर्ताजगी दिने पहल गर्नुले नेपाल छिमेकबाट परसम्म आफ्नो सम्बन्ध बढाउन चाहन्छ भन्ने बुझिएको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउँछन् । 

प्रधानमन्त्री ओलीलाई यस वर्ष डावोसमा सम्पन्न विश्व आर्थिक मञ्चको बैठकमा निम्त्याइनु विश्व जगतमा सम्बन्ध विस्तारकै महत्वपूर्ण कडी मान्न सकिन्छ ।  प्रम ओलीले यसबीचमा संयुक्त राष्ट्रसंघको महासभासँगै कोस्टारिका भ्रमण समेत गरे । त्यस्तै ओली सरकारले जापानसँगको सम्बन्धलाई पनि विस्तार गर्ने प्रयास गर्यो ।  

अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित तथा विस्तारित गर्ने क्रममा थुप्रै सकारात्मक पहलहरु भएपनि सरकारको अपरिपक्वता तथा विषयवस्तु बुझाइमा कमजोरीका कारण राम्रो नियतका साथ अघि बढाएका गतिविधिहरु अपेक्षाकृत ढंगले अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय मामिलाका जानकार तथा पत्रकार कमलदेव भट्टराई बताउँछन् । उनी भन्छन्, –‘लामो समयको अन्तरालमा अमेरिकासँगको सम्बन्ध सुध्रिँदै गर्दा भेनेजुएला प्रकरणमा शत्ताधारी दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिले केहि नकारात्मक प्रभाव पार्यो ।’ भेनेजुएलामा भएको सत्तापलट सन्दर्भमा दाहालले भेनेजुएलाको पक्ष लिएर विज्ञप्ति सार्वजनिक गरेपछि त्यसले नेपाल–अमेरिका समबन्धमा चिसोपन पैदा गरेको थियो जसलाई ओलीले सन्तुलित अवतरण गराए । 

ओलीले नेपालस्थित अमेरिकी राजदुत र्याण्डी बेरीसँग छलफल समेत गर्नुपरेको थियो । 

त्यस्तै चीनसँगको सम्बन्ध पनि अपेक्षाकृत ढंगमा अघि बढ्न नसकेको भट्टराईको बुझाइ छ । चीनसँगको सम्बन्धलाई विकल्पको रुपमा भारतका अघि प्रस्तुत नगरेपनि चीनसँग भएको पारवहन सम्झौताको कार्यविधि (प्रोटोकल) मा सहमति जुट्नुबाहेक अरु उल्लेख्य प्रगति नभएको भट्टराई बताउँछन् । 

विमस्टेक सम्मेलनका क्रममा बिम्स्टेक संगठनमा आवद्ध देशहरुले भारतमा सैन्य अभ्यास गर्ने चर्चा चल्नु र त्यसलाई सहि ढंगमा अथ्र्याउन नसक्दा अन्तिम समयमा सैन्य अभ्यास रोक्नुपर्दा नेपाल र भारतबीच असमझदारी उत्पन्न भएको थियो । 

मुलुकका सैन्य अभ्यासबारे समयमा विश्लेषण गरेर बुझाउन नसकिँदा अन्तिम समयमा पछि हट्दा दुई देशको सम्बन्धमा केहि तुष आयो । प्रबुद्ध समूहको प्रतिवेदन बनायो । प्रतिवेदनको सम्बन्धमा पब्लिकलि बोल्यौँ, सरकारी तहको प्रतिवेदन जस्तै गरी अभिव्यक्ति दिँदा त्यसले पनि नकारात्मक असर पर्न गयो ।

अन्तर्राष्ट्रिय मामिला विज्ञ डा. उद्धव प्याकुरेल केपी शर्मा ओलीको सरकारले गत वर्षमा देखाएको अन्तर्राष्ट्रिय नीति तथा सम्बन्ध सुधारमा आन्तरिक तयारी नपुगेको तर्क राख्छन् ।

समाचार दैनिकसंगको कुराकानीमा विज्ञ डा. प्याकुरेलले भने– ‘खासगरी २०४६ मा आएको को बहुदलीय व्यवस्था पछि नेपालले उत्तर र दक्षिणका छिमेकीहरुमा मात्र आफ्नो सम्वन्ध सिमित गरेको  सन्दर्भमा अमेरिका लगायतका देशहरुसंगको सम्वन्धमा थप प्रयास निश्चय नै आवश्यक पनि थियो । तर, यो सरकारले त्यस नाममा जता जता काम गर्ने प्रयास भए, त्यहाँ सफलता भने हात लागेको देखीएन । भारतसंग यसविचमा सम्वन्ध अरु विग्रको कुराको प्रमाण ओलीजी र मोदीजी नै प्रधानमन्त्री हुदा गठन भएको इपीजीले तयार गरेको अध्धयन प्रतिवेदन नै वेवारीसे वनाइएवाट प्रस्ट हुन्छ भने चीन पनि इण्डो–प्यासिफिकयसमा देखीएको नेपालको सहभागिता र नेपालले अमेरिकासंग वढाइरहेको हिमझीमवाट अरु संशकित भएको भन्ने आधार विगतमा ओली सरकार र चीनविच भएका सहमती अगाडि नवढ्नु देखीन्छ । यस विचमा नेपालीहरुलाई भारतको वाटोहुदै तेश्रो मुलुकमा जान भारत सरकारवाट अनावश्यक अप्ठ्याराहरु वनाएका, दुवै तर्फ वहुमतको वलीयो सरकार रहेको वताइरहँदा सिमा विवादका सन्लर्भ कुनै पहल नभएकोले पनी नेपाल–भारत सम्वन्धका सन्दर्भमा विगतको एक वर्ष उपलब्धीपुर्ण देखीएन । अमेरिकासंगको सम्बन्धका सन्दर्भमा पहल गर्दै गर्दा छिमेकी चीन र भारत शसंकित नहुने अवस्था सृजना गर्नुपर्नेमा आफ्नै दल भित्रको अमेरिका विरोधी लवीलाई पनि साथमा लिन नसकेको देखीयो” ।  

वेला न कुवेलाको भेनेजुएला यिनै अविश्वासको परिणाम भएको उनको तर्क छ । आधारमा विचमा सवै छिमेकीले नाकाबन्दी थोपरेको कतारको भ्रमण हाम्रो देशका राष्ट्रपति बाट भयो, त्यहाँको भ्रणमगर्दा अन्य अरब समूदायले कसरी हेर्छ ? समग्रमा हेर्दा विश्व नै नेपालबाट सशंकित हुँदै गएको जस्तो देखिन थालेको र हालसालै सम्पन्न लगानी सम्मेलनले पनि  त्यस परिस्थितीको चित्रण गरेको प्याकुरेलको तर्क छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर