• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

सरकार ! हामीलाई महँगी नबढाइदिए पुग्छ

काठमाडौं । राजधानीको जमलस्थित आकाशे पुलको छेउमा भेटिएकी एक महिलाले रानी पोखरीतर्फ फर्केर आफ्नो छोरीलाई भन्दैथिइन ‘यो रानीपोखरी ।’ अधंवैशे उमेरकी देखिने उनी पर्वतबाट यही वैशाखमा काठमाडौं आएकी रहिछन् । उनी भुकम्पको चार वर्ष बितिसक्दा पनि रानी पोखरी निर्माण नभएकोमा निकै चिन्नित देखिन्थिन् । 

करिब ५/६ वर्षकी छोरीलाई काखमा समाएर देखाउँदै गरेकी उनले आफू छोरी पढाउनकै लागि काठमाडौंसम्म आएको बताइन । ‘आफूले त खासै पढ्न पाइएन छोराछोरीलाई राम्ररी पढाउनु पर्यो भनेर यता आएको ।’ उनले भनिन । उनका श्रीमान नेपाल प्रहरीका जागिरे रहेछन् । ‘गाउँका सबै छोराछोरी पढाउन शहर झरे त्यसपछि मलाई पनि श्रीमानले यतै बोलाए ।’ उनले सुनाइन । उनका अनुसार अहिले गाउँका सरकारी स्कुलमा प्राय विद्यार्थी पढाउन पठाउँदैनन् । उनी भन्छिन्, ‘गाउँकै स्कुलमा पढ्ने वातावरण भइदिएको भए आफूहरु यहाँसम्म आउनु पर्ने थिएन ।’ सरकारले निशुल्क शिक्षा भनेपनि आफूले महँगो शुल्क तिरेर बोडिङमा पढाउनु परेकोमा दुखेसो पोखिन । 

चितवनबाट स्कुल लेभलको पढाई सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका आलोक केसी रत्नपार्कमा माइक्रो बस चढ्नको लागि लाइनमा भेटिए । रत्नपार्कबाट बानियाटार जानका लागि लाईन लाग्नुपर्छ । जेठ १५ गते बजेट आउँदैछ, कस्तो आउनुपर्ला बजेट भन्ने हाम्रो प्रश्नको जवाफमा उनले भने, ‘यी हेर्नुस न यस्तो घाममा माइक्रो चढ्नका लागि आधी घण्टा लाइनमा बस्नुपर्छ । यसको मात्रै सुधार गरेपनि कति सहज हुन्थ्यो होला ।’ हल्का रिस देखाउँदै उनले दैनिक यस्तै हैरानी खेप्नु परेको सुनाए । उनले काठमाडौंमा सार्वजानिक सवारी साधनको यात्रा निकै कठिन भएको भन्दै यसको उचित व्यवस्थापन हुनुपर्ने बताए । 

त्यस्तै आफू जस्ता युवाहरुको विदेश पलायन रोक्न रोजगारीको सिर्जना हुनुपर्ने पनि उनको माग छ । स्कुलदेखि कलेजसम्म निकै महँगो शुल्क तिरेर पढेको सुनाउँदै उचित पारिश्रमिक हुनुपर्ने पनि उनको भनाई छ । ठट्यौली पारामा उनले भने, ‘नेपालको जागिरले त खाजा खान पनि पुग्दैन । विदेशमा त्यही कामको धेरै पारिश्रमिक हुने भन्दै महँगीलाई धान्ने गरी त स्यालरी हुनुपर्यो नि नत्र के नेपाल बस्नु ।’ उनले थपे, ‘नेपाल बस्नु भनेको त गरिब हुनु हो ।’

रत्नपार्कको सडकपेटीमा भान्सामा प्रयोग हुने केही भाँडाकुँडा बेच्न बसेका पचास वर्ष कटेका जस्तै देखिने व्यापारीले आफूले बाटोमा सामान बेचेर खान पाउने अवस्था नभएको सुनाए । बेला बेलामा महानगरबाट आउने प्रहरीको टोलीले आफ्ना सामान फाल्दिने वा लैजाने गर्दा ढुक्कसँग व्यवसाय गर्न नपाएको गुनासो गरे । आफूजस्ता सडकमा सामान बेचेर बिहान बेलुकाको छाक टार्नेको रक्षा सरकारले गर्नुपर्ने बताए । 

त्यस्तै धादिङबाट आई राजधानीमा सात वर्षदेखि सार्वजानिक यातायात चलाउँदै आएका उनले यतिबेला नेपाल यातायात चलाउँदा रहेछन् । यात्राकै क्रममा अनामनगरदेखि चक्रपथ जानेक्रममा मैले सोधें दाई बजेट आउँदैछ नि कस्तो आयो भने सहज हुन्थ्यो होला हजुरहरुलाई रु अनौपचारिक रुपमा नै सोधेको प्रश्नमा उनले भने, ‘हामी जस्तालाई गरेर खाने वातावरण भए हुन्थ्यो ।’ प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति कार्यलय शितलनिवास सोही रुटमा पर्ने भएकोले समय समयमा हुने सवारीले निकै दुख हुने गरेको पनि उनले सुनाए । निकै दिग्दारी पना देखाउँदै उनले भने, ‘माग्ने भिआइपीको सवारीले यो रुटमा सधै जस्तो दुख हुन्छ ।’ उनका अनुसार काठमाडौं उपत्यकामा सवारी व्यवस्थापन निकै आवश्यक छ । 

त्यस्तै बेला बेलामा ट्राफिक प्रहरीले दुख दिने गरेको पनि उनले सुनाए । उनले ट्राफिक प्रहरीले मन लाग्दो तरिकाले चिट काट्ने गरेको भन्दै नियमसंगत हुनुपर्ने पनि बताए । 

त्यस्तै पानी पोखरी स्थित एक किराना पसलमा सामान किन्दै गरेकी एक महिलाले सामानको मुल्य बढेकोमा निकै आक्रोश पोखिन । हातमा हरियो फर्सीका मुन्टा समातेकी उनले खानेतेल खरिद गर्दैथिइन । बजेटको मुखमा भाउ बढेसँगै उनले भनिन, ‘सरकारी कर्मचारीको पो तलब बढ्ला हामी सरकारी जागिर नहुनेलाई महँगी मात्रै बढ्ने त हो नि ।’ त्यसमा पनि बजेट नै नआउँदै सामानको भाउ निकै बढेको भन्दै सम्बिन्धित पसलेसँग गुनासो गर्दै थिइन । उनको बजेटप्रति एउटामात्रै अपेक्षा छ, ‘सामानको भाउ नबढोस ।’ 

एक नीजि बैंकमा काम गर्ने विष्णु केसी युवा पलायन रोक्ने र रोजगारी सिर्जना गर्नुपर्ने, महिला सशक्तीकरण, उद्यमशिलता विकास गर्ने बजेट आउनु पर्ने बताइन । उनले सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपाल बनाउनका लागि नेपालमै काम गर्ने वातावरण बनाउन पर्ने बताइन । 

रेडन कलेज सामाखुसीबाट भर्खरै विज्ञान विषयमा १२ को परीक्षा सकाएका विश्व खत्रीको एउटै अपेक्षा छ । ‘विदेश जानु नपरोस ।’ १२ को परीक्षा सकेपछि साथीहरु आइएलटिएस को तयारीको खोजीमा रहँदा नेपाली नयाँ उपन्यासको खोजी गर्दै प्रर्दशनीमार्गमा भेटिएका उनी आफू सकेसम्म पुल्चोकमा नाम निकालेर इन्जिनियरिङ गर्ने तयारीमा रहेका छन् । पुल्चोकमा नाम ननिस्के के गर्ने भन्नेमा अनभिज्ञता प्रकट गर्दै गरे उनले भने, ‘पुल्चोकमा नाम निस्के त हुन्थ्यो । ।।।प्राइभेटमा पढ्न त धेरै खर्च लाग्छ रे ।’ उनको चिन्ता थियो ।

यी केही प्रतिनिधि पात्र मात्रै हुन् । यी प्रतिनिधि पात्रका अनुसार अहिले जनताले ठूला ठूला पपुलिष्ट भन्दा पनि दैनिक जनजीविकाको क्रममा आइपर्ने समस्याको समाधान खाजेको देखिन्छ । जनता पपुष्टिभन्दा पनि मुलुक समृद्ध गर्ने बजेटको अपेक्षामा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर