• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कविता : ईश्वरको अस्तित्वमाथि प्रश्न !

भन्छौ,
हरेको प्राणीको दिलमा ईश्वर छ 
ल एक छिनलाई मानिदिऊँ छ रे 
त्यसो हो भने
के ईश्वर पनि अनैतिक हुन्छ ?
के ईश्वर पनि लोभी हुन्छ ?
परपीडक र खुनी हुन्छ ईश्वर पनि ?
यदि हुँदैन भने 
किन रोक्दैन ऊ
आफ्ना सन्तानहरूलाई बलात्कार गर्न ?
किन छेक्दैन ऊ 
अरुमाथि उत्पीडन गर्न ?
यदि ऊ 
सर्वव्यापी छ भने
ऊ अन्तर्यामी छ भने
र छ भने सबैभन्दा शक्तिशाली
किन प्रकट हुँदैन ऊ
हर उत्पीडनको पूर्व बेलामा
र किन वध गर्दैन ऊ
परपीडक अत्याचारीहरूको ?

ग्याँस च्याम्बरमा 
हजारौं निर्दोषहरू मरिरहँदा
तिम्रो ईश्वर के गर्दै थियो ?
के ऊ मधुशालामा मदहोस थियो ?
या हिटलरको घुसले ढाडिएर
ऊ कुम्भकर्ण निद्रामा थियो ?
सिरियामा या प्यालेस्टाइनमा
भियतनाममा या इराकमा
आकाशबाट बम खसिरहँदा
र खरानी बनिरहँदा मानव बस्ती
तिम्रो ईश्वर तिम्रो अल्लाह
तिम्रो येशु तिम्रो भगवान
कुन मधुमासमा थियो ?
एक औंलाले पृथ्वी नचाउने भनिएको
तिम्रो पाजी ईश्वरले
किन एउटा मिसायल रोक्न सकेन ?
किन एउटा फाइटर झार्न सकेन ?
मार्नेले मारिरहने 
र मर्नेहरू यसै गरी मरिरहने हो भने
के काम तिम्रो नामकाजी ईश्वर
जबकि
सिन्कोसम्म सारेको खबर
किन कहिलै पढिएन तिम्रो ईश्वरले ?

तिम्रो ईश्वरलाई गाली गरेकोमा
मलाई क्षमा गर धर्माती मान्छे,
मलाई तिम्रो ईश्वरसँग भेट्न मन छ
र उसलाई सोध्न मन छ,
मान्छेको रगतको भोग खाएर
कति वर्ष शासन गर्न मन छ 
ओई मिस्टर ईश्वर ?
मान्छेको भाग खोसेर भोकै राखेर
लड्डु खाएर पेडा खाएर
एक्लै एक्लै जूका झैं ढाडिएर
अझै कति वर्ष लुट्नु छ हामीलाई
ओई मिस्टर ईश्वर?
भक्तहरूको ओत खोसेर
सुनको गजुरमुनि गजधम्म
प्रतिकृयाविहीन मूर्दा मुद्रामा बसेर
हाम्रा दिमागहरूमा
विवेक शून्य भाइरस ठोसेर
अझै कति वर्ष सत्ता चलाउने तिर्खा छ 
ओई पाजी ईश्वर ?

मलाई 
तेरो अस्तित्व माथि शङ्का छ 
अझ भनौं अविश्वास छ क्षोभ छ
तेरो अस्तित्वको विरोधी अधर्मी म
कतै छस् भने आइज
र मलाई श्राप दे 
म तेरो श्रापले जलेर
खरानी बन्न तयार छु !

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर