• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चइज्ममा : छु मतलब ?

आलोचनात्मक चेत हराउँदा व्यवस्थाले जनतालाई दलालमा फेर्छ भने असहमतलाई दबाउन दमन वा प्रलोभनको जाल फ्याँक्छ । नांगो यथार्थको सामना गर्ने हिम्मत हुँदैन । हेन्स क्रिश्चियन एन्डर्सनको ‘इम्पेरर्स न्युक्लोथ’मा राजा नांगो भन्ने बालक खै ? अझै देखा परेको छैन ? जब शासकहरूले देशलाई आफ्नो जिम्दारी र जनतालाई रैती सोच्न थाल्छन् तब कार्यकर्ता आफ्नो भविष्य चइज्ममा (चाकरी प्रथा) देख्दै अन्य विषय ‘छु मतलब ?’ भन्न पुग्छ । पार्टी पाटीमा फेरिएर गुट मात्र होइन, गिरोहमा फेरिन्छ । 

आफैँले उत्पन्न गरेका समस्या हल गर्न नसकेपछि सरकारी नेकपाका दुवै अध्यक्ष दुबई र सिंगापुरतिर लागे/लाग्दैछन् । प्रधानमन्त्री स्वयं बिमारीले हन्तु छन् । अर्का अध्यक्ष श्रीमतीका कारण । के उनीहरूलाई व्यक्ति मात्र बन्ने छुट हुन्छ ? स्वकेन्द्रित, परिवारकेन्द्रित मात्र बन्ने छुट हुन्छ ? 

जब एउटा व्यक्तिको भूमिका सिंगो देश र जनताको मात्र नभई युगको सम्पत्ति बन्छ तब त्यस्ता व्यक्ति व्यक्तित्वमा फेरिएर संस्था हुन पुग्छन् । उनीहरूले गरेका काम, खेलेका भूमिका, देखेका सपना, निभाएका कर्तव्य समग्र इतिहासको सुकार्य वा कुकार्य बन्छ । देश र जनताले भोग्न बाध्य हुन्छन् । मौजाका लोभले गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले अग्रेजसँग सन् १८१६ मा गरेको सुुगौली सन्धि होस् या श्री ३ को श्रीपेच बचाउन मोहनशमशेरले गरेको सन् ५० को सन्धि, ती अहिले नेपालीले भोग्नु परिरहेको छ ।

सरकारी नेकपाले पार्टी एकता गरेको १५ महिना बित्यो, तर मन/पेट भने मिलेन । प्राविधिक एकतासमेत टुंगिएन । एउटा विषय घर्काउन अर्का विषय उरालिए । झन्डै आधा वर्ष खाली भएको मन्त्रालयमा मन्त्री थपेर सिंहदरबारको साख बढाउने कोसिस भए । पार्टी भनिए पनि गुट मात्र होइन गिरोहमा राजनीति चल्यो । गिरोह र गुटको हित रक्षा भएन भने गुटाधिपतिको पनि अर्थ हुँदैन । जुन पार्टी नीति र विधिविना नै चलेको छ, त्यहीँ स्कुल विभाग भने तानातान भएर एकताका भाव छरपस्ट भयो । 

एमाले र माओवादीबीचको स्वत्व टकराहटका रूपमा थप्पडवाजहरू फेसबुक र अनलाइनमा ङ्यारङ्यार गरिरहेछन् । प्रधानमन्त्री कमिटीमा र मन्त्रिमण्डलमा विश्वास नगरेर कबुलियतनामा गराउँदै मन्त्री पद थाम्दै छन् । लोभ र डरका घुँगारुका लौरी हावामा लहराँउदै पार्टी चल्या छ । संस्थागत संरचना ध्वस्त भए शक्तिको तीव्र केन्द्रीकरण भयो । राजा–महाराजाको जस्तै नेतृत्वको जीवनशैली र अहंकार भरिँदा शासक तप्का मैमत्त हुँदै राज्य र पार्टीलाई आफ्ना जिम्दारी सोच्दै छन् । तर पनि राजनीतिक व्यससायी थप्पडबाजहरू भने उनीहरूकै जयजयकार गर्दै छन् ।

सरकारी नेकपामा मात्र होइन, अन्यन्त्र पनि यस्तै चाल, चलन र चरित्र छ । हिजोका आदर्शवादी हुन वा व्यवहारवादी सत्ताबाट बाहिरिनुपर्छ भन्ने हेक्का कसैले राखेको देखिँदैन । पार्टीहरू फरक छन्, झन्डाहरू फरक छन्, पार्टी कार्यालय र नेता–कार्यकर्ता पनि फरक छन्, नारा र लक्ष फरक भन्छन् । पृष्ठभूमि पनि भिन्नाभिन्नै छ । लाल सलाम, जय नेपाल, अभिवादन, जय मात्रृभूमि नामक सलाम, दोहा, प्रणामका तरिका पनि फरकफरक छन् । 

भनिन्छ– मूल्य, मान्यता, आदर्श र सिद्धान्त पनि फरक छ । तर, नेपाली राजनीतिक संकृति र संगठनशैलीमा भने आचार, विचार र व्यवहार नेपाली पाराकै छ । निर्णय प्रक्रिया एउटै तरिकाले हुन्छ । पहिला गुट–उपगुटका अँध्यारो कोठामा बैठक हुन्छन् । त्यहीँ रस्साकसी हुन्छ । तब पार्टी सिन्डिकेट बैठक बस्छ । त्यहाँ शक्ति, सुविधा र अवसरको मोलमोलाइ हुन्छ । नत्र भनेका तरूप हानिन्छन् । अनि शक्तिका तर्क र तथ्य अगाडि सार्दै मोलतोल भएर सम्झौतामा पुगिन्छ । त्यसलाई विधिसम्मत लोकाचार पु¥याउन कानुनी जामा लगाइन्छन् । तब पार्टी मिटिङ बस्छ, प्रस्ताव पेस हुन्छ । ठप्पाजनले त्यसमा ल्याप्चे लगाँउछन् । तर्क गर्ने या तहैसियत हुँदैन या त विवेक बन्धकी राखेर अनुमोदनकर्ता बन्छन् । अनि त्यसलाई पार्टी निर्णय भनेर कार्यकर्ता र जनतालाई तामेली हुकुम हुन्छ । 

अधिकांश ठप्पाजन (जो यदि सिद्धान्त, समयको माग, राजनीतिक भाइब्रेट पैदा गर्न नसक्नेहरूलाई मात्र यो शब्द भन्न खोसिएको हो) लोभ र भयले आफ्ना योग्यता, दक्षता र भूमिका निर्वाह गर्छन् । सिद्धान्त विचारलाई सुविधा र प्रतिक्रियाको राजनीति केन्द्रित छ । त्यसैले नेतृत्व तहदेखि नै चिन्ता आफ्नो र आफन्तहरूको मात्र छ । कार्यकर्ता र जनताले आदेश पालन मात्र गरिदिनुपर्ने । तर्क राख्ने, निर्णय प्रक्रियामा सामेल भए पो, निर्णयको स्वामित्व लिन पाए पो दायित्व पनि निर्वाह गर्नुपर्ने हुन्छ । 

जे–जस्ता नीति र विधि संगठात्मक निर्णयमा भए पनि ठूला नेताका हैकम मात्र चल्ने भएकाले विचारमा जो जसले जे भने पनि त्यसलाई सामन्तवादी राजनीतिक संस्कृति भन्नुपर्ने हुन्छ । जब नेतृत्व गुटको फुर्को समाएर आफ्नो हैसियत खोज्न थाल्छन् तब सिद्धान्तको राजनीति राजनीतिको सिद्धान्तमा फेरिन्छ । कुनै पनि पद दायित्वभन्दा सुख, सुविधा, सम्मान र सुरक्षाको कवच बन्न पुग्छ । हरेक दलका केन्द्रीय सदस्य कार्यकारी नेतृत्व भन्दा ठप्पाबाज ल्याप्चे ठोकुवा छन् । अझ सरकारी नेकपाको ‘विचरा’ ४४१ जस्तो जम्बो भिडले बैठकमा माइनेट धस्काउनसमेत पाउँदैनन् भने नीति निर्माणमा हस्तक्षेप कसरी गर्ने र ! 

साँच्चै यत्रो त्रासदीपूर्ण समयमा हामी जिइरहेका छौं, जहाँ स्थापित मूल्य मक्किएका छन् । विकल्प र अवसर सनातनी व्यवस्थाकै हिस्सा बन्न पुग्दा उपलब्धि ठट्टा बन्दै गयो । के समाजको शान्तिपूर्ण अग्रगामी परिवर्तन हुन सक्दैन ? अरूका सोच र भूमिकामा हाँकिन बानी परेकाहरू सोच्ने ठेक्का अरूको र आज्ञापालक मात्र आपूmलाई सोच्नेले मथिंगल खियाउनै चाहँदैनन् । कहाँ चुक्यौँ भनेर सोच्दैन । धोत्रो रूख सतीसालजस्तो ठिंग उभिरहेकै छ, तर एक धक्का थाम्न सक्ने अवस्थामा छैन । के फाइदाको सिद्धान्तले हाम्रा मन–मस्तिकमा रजाइँ गरिरहेको छ ? आग्रह हाम्रो आन्तरिक चालकशक्ति बनेर इतिहासलाई मुर्दाका कथा भन्दै आफैंदेखि तर्केका हौं ?

हरेक दोबाटाले भावी यात्राको दिशा निर्धारण गर्छ । लक्ष थाहा भएका खुुरुखुरु हिँडछन्, दिशावोध नभएका दोबाटोमा रुमल्लिन्छन् । हरेक दस कदम बढेपछि सिंह टक्क उभिन्छ, फनक्क मुन्टो घुमाएर शत्रु कतै पिछा लागेको त छैन अगाडि यात्रा कति सुरक्षित छ भनेर दूरदराज नियाल्छ, सावधानी लिन्छ, ढलेको रूख टाँड नै परेको छ भने पनि मुनिबाट नभई उफ्रेर नाघ्दै अगाडि बढ्छ, सिनो खाँदैन बरु भोकै बस्छ । त्यसैलाई सिंहावलोकन भनिन्छ । जब संकट आइपुग्छ तब विगतको सिंहावलोकन गर्दै अगाडिको यात्रा तय गर्नु हो । 

सम्भावनाको मुहान संकटपथ भएर बग्छ तर त्यसले सोचको, भूमिकाको, आंकाक्षाको, कुशल व्यवस्थापन र कलामय सम्बोधनको माग गर्छ । तब मात्र भाग्यलाई आफ्नो दास बनाउन सकिन्छ । आखिर नेपाली कार्यकारणीहरू सर्वज्ञानी, मर्मज्ञ सोच्छन् ? त्यसैले अहिले नेपाली राजनीतिमा हेन्स क्रिस्चियन एन्डरसनको ‘इम्पेरर्स न्युक्लोथ’मा राजा नांगो भन्ने बालकको टड्कारो आवश्यकता भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर