• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:48 pm

त्यो एकादेश

कथाकार उषा रेग्मी

एक सुन्दर राजकुमारी, जसलाई बेहुली बनाएर आफूसँग आफ्नो राज्यमा लैजानका लागि बहुशाली, सुन्दर व्यक्तित्वको मालिक, संसारको उत्कृष्ट लिस्टमा परेको एक अत्यन्तै सबल राजकुमार वायुपंखी घोडामा आउँछ । विवाह गरी बडो प्रेमपूर्वक त्यो वायुपंखी घोडाको अगाडि राखेर बादलमाथि उडाउँदै आफ्नो राज्यमा लान्छ र राजकुमारीलाई रानी बनाएर राख्छ । 

राजकुमारी आफूले सोचेभन्दा राम्रो पतिदेव पाएकोमा निकै प्रफुल्ल हुन्छिन् । उत्कृष्ट राजकुमारले आफ्नो चेलीसँग लगनगाँठो कसेकोमा राजकुमारीको माइती निकै गौरवान्वित हुन्छ । राजकुमार, राजदरबार र राज्य एक सुन्दर राजकुमारी भेटेकोमा झनै हर्षित । चारैतिर खुसियाली छाउँछ । नवविवाहित जोडीले प्रेमपूर्वक राज्यको जिम्मेवारीको शपथ लिन्छन् र खुसीखुसी आफ्नो जिन्दगी बिताउँछन् । यत्तिकैमा कथा सकिन्छ । 

०००

बालापनको प्रिय हृदयमा भुइँचालो ल्याउने यो कथा हो– एकादेशको । जबजब राजकुमार र वायुपंखी घोडाको कथा सुनिन्थ्यो, मन अनायासै प्रेमको सागरमा डुबुल्की मार्न पुग्थ्यो । एक सुन्दर राजकुमारको आकृति हृदयले विनाअर्थ कोथ्र्यो । उक्त आकृतिसँग विवाह गरेर कथाकी राजकुमारीजस्तै बादलमाथि उडेको मेरो कलिलो मस्तिष्कले बारम्बार सपना देख्थ्यो । भाडाँकुटीको आमा बन्दा बाबु बनेको बालसखीलाई पनि यी नयनले आफ्नो राजकुमार नै सम्झिन्थ्यो । बिम्ब, प्रतिबिम्ब, सपनी बिपनी, यत्रतत्र, सर्वत्र केवल राजकुमारको धुमिलिएको छविले आधिपत्य जमाएको थियो । हृदयमा एउटै ध्वनि तरंगित हुन्थ्यो– बिहे गर्छु त केवल कथाको जस्तै राजकुमारसँग ।

हिजोआज म त्यो एकादेशको कथामा निकै विचार गर्छु– त्यो कथाका पात्रहरूको भूमिकालाई केलाउँछु, कथालाई अथ्र्याउन खोज्छु । न कुनै अर्थ भेट्छु न कुनै मेसो नै पाउँछु । वास्तविक जीवन कथामा निर्वाह गरिएको भूमिकासँग कदापी मेल खाँदैन भन्ने थाहा भएर होला त्यो एकादेश मात्र एकादेश लाग्छ । सोच्छु– हरेक राजकुमारीको जीवन त्यस्तो लोभलाग्दो हुन्छ होला त ? के राजकुमारीलाई कहिल्यै दुःख परेन होला ? के सम्पूर्ण महिलाको सपना मात्र एक राजकुमारमा सीमित थिए होला त ? मसँगै राजकुमारको कथा सुन्ने केटोले पनि मैलेझैँ सुन्दर राजकुमारीको कल्पना गर्यो होला त ?

कथा होस् या वास्तविकता, विवाह एकादेशमा पनि भएको थियो, वर्तमानमा पनि भएकै छ । भन्दा फरक नपर्ला, विवाहको शैलीमा मात्र परिवर्तन आएको छ । वायुपंखी घोडा चढेर होस् या चारपांग्रे सवारी, सधैँ महिला नै आफ्नो स्थान छोडेर अर्को स्थानमा बसाइँ सरेका छन् । छोरीलाई सानैदेखि राजकुमारको सपना देखाइन्छ । त्यहीअनुसारको परिवेशमा हुर्काइन्छ । छोरीलाई अरूको राज्यमा पठाउन तयारी अवस्थामा राखिन्छ । एक होनहार र सम्पन्न केटोको खोजीमा पूरै परिवार लागिपर्छ । जब भेट हुन्छ, तब छोरीको आकांक्षालाई आहुति दिइन्छ । 

कथाकी राजकुमारीले सुख पाइन् या दुःख, त्यो थाहा पाउने हालसम्म कोही छैन । तर, वास्तविक राजकुमारीको विवाहपछिको अवस्थालाई चिनजानमा रहेका राज्य र त्यहाँका सम्पूर्ण प्रजाले देखेका हुन्छन् । सुख पाए ‘भाग्यमानी’ र दुःखमा डुबेको देखे ‘बिचरी’को संज्ञा दिइन्छ । राजकुमारीको इच्छालाई शिरोपर गर्ने थोरै हुन्छन् भने ताली पड्काउने अनगिन्ती । 

अब बालापनको वायुपंखी घोडासँग र त्यो सुन्दर राजकुमारसँग मेरो सपनाभन्दा पनि सवाल गाँसिएको छ । मलाई त्यो एकादेशको कथा सुनाउने प्रत्येक व्यक्तिसँग गुनासो रहेको छ । राजकुमारीको विवाहपछिको अवस्थालाई कथामा उत्रार्न किन जरुरी सम्झिएन ? के त्यो राजकुमारले राजकुमारीलाई सधैँ प्रेम ग¥यो होला त ? राजकुमारीले राज्यको भार कसरी थेग्न सकिन् होला । के त्यो नयाँ परिवेशले राजकुमारी अनुकूल वातावरणको सिर्जना गरिदिन सक्यो होला त ? यस्ता विभिन्न प्रश्नको ओइरो लाग्छ त्यो एकादेशको कथामा । 

म त्यो एकादेशको कथासँग मेरी हजुरआमा, आमाको कथा दाँजेर हेर्छु । मेरा हजुरबाबु र बाबुले आमालाई डोलीमा राखेर, पञ्चेबाजा घन्काएर ल्याए । आफ्नो घर (राज्य)मा भित्राए, तर के रानी बनाएर राख्न सके ? अहँ रानी बनाउन कहिल्यै सकेनन् । रानी त त्यसलाई भन्छन् जसको हुकुम राज्यको सम्पूर्ण प्रजाले पालना गर्छन्, जसको वरिपरि नोकरचाकर हुन्छन्, हरेक प्रकारका भोगात्मक वस्तु हुन्छन् । मेरी आमाको उचित घरायसी निर्णय मान्न मेरो बाबु त आवश्यक ठान्दैनन् भने आमाको राज्यमा आमाको निर्णय मान्ने दुस्साहस कसले गरोस् । विनानोकरचाकर घरका सानादेखि ठूला, मेलापात, वस्तुभाउ, बालबच्चा यावत् काम फत्ते गर्ने जिम्मेवारी मेरी आमाको काँधमा छ । भोगात्मक वस्तु, सुखसयलका वस्तुको नाम पनि मेरी आमालाई राम्रोसँग थाहा छैन । च्यातिएको लुगा सिलाएसरि मेरी आमा आफन्त, घरपरिवारसँग बिग्रिएको सम्बन्धलाई प्रेम र ममताको धाँगोले सिलाउने प्रयत्न गर्छिन् । दुःख पीडा हाँसेर भुलिदिन्छिन् । मेरी आमालाई यो सबै गर्न कसले सिकायो ? के आमाले त्यो एकादेशको कथा सुनेकी थिइनन् होला ? मेरी आमाको सपना थिएनन् होला ? पक्कै थियो, तर बाबाले आमालाई कहिल्यै रानी बनाएनन्, आमाको इच्छामाथि आफ्नो निर्णय थुपारे, यहाँ पुरुषत्व नै हाबी भयो । 

मेरी हजुरआमासँग पनि यही भयो । यदि मेरी आमालाई एक सबल राजकुमारीको कथा सुनाइएको भएँ, आफ्नो हरेक निर्णय आफैँ लिन सिकाइएको भएँ, कथामा राजकुमारीको विवाहबाहेकका अन्य महिलाको एक शक्तिशाली छविलाई देखाइएको भए, इतिहास कोर्ने महिलाको कथा सुनाइएको भएँ, अवश्य मेरी आमाले बाल्यकालदेखि नै आफू सबल भएको आकृति कोर्थिन् । आफ्नो मर्जीको मालिक हुन्थिन्, बाबासँगै हरेक पारिवारिक निर्णयमा अधिपत्य जमाउँथिन् । आर्थिक रूपमा पनि निकै प्रबल हुन्थिन् । समानता खोज्थिन्, अन्यायमा परेको बेला बहस गर्न सक्थिन् । अनि मात्र मेरी आमा वास्तविक रूपमा रानी हुन्थिन् । 

०००

किन त्यो एकादेशको कथामा एक पुरुषलाई बहुशाली छविमा ढालियो । हाम्रो समाजमा किन पुरुषत्व हावी भएको छ ? किन पुरुषलाई हरेक क्षेत्रमा उच्च राखिएको छ ? अनि हामीलाई त्यहीअनुसार तयार गरिएको छ । हाम्रो पुस्तकहरूमा पनि केटीलाई फूल गोडेको, बोटबिरुवामा पानी हालेको, भाइबहिनीको हेरचाह गरेको, आमालाई भान्छाको काममा सघाएको देखाइएको हुन्छ । छोरामान्छेलाई भने पाइलट बनेको, हवाईजहाज हाकेँको, डाक्टर बनेको, वकिल बनेको देखाइन्छ । विद्यालयको पुस्तकमा नै असमानता झल्किन्छ भने समानता कहाँ भेट्न सकिन्छ ? कसरी हाम्रा छोरीहरूलाई उच्च स्थानमा पुर्याउन सकिन्छ ? 

यहाँ छोरीलाई सानैदेखि पुतलीसँग खेल्न दिइन्छ । छोरीले गुडियासँगै खेल्नुपर्छ भनेर किन तोकियो ? सानैबाट कमजोर कुरालाई छोरीको सुचक मानिन्छ । सानैबाट नै हाम्रा क्रियाकलापमा पुरुषत्व झल्किन्छ । घरपरिवार, विद्यालय, पाठ्यसामग्रीबाट नै यस्ता असमानताको सुरुवात भएको छ । समाजले हाम्रो सोचविचारलाई कब्जा गरेको छ । अनि हामी त्यहीअनुसार आफुलाई ढाल्दै छौँ । 

एकादेशको कुनै पनि प्रकारको कथाले अब मलाई छुन असम्भव छ किनकि त्यहाँ कुनै समानता झल्किएको छैन । भेदभावपूर्ण व्यवहार छ । जुन कथा सुन्दा मनमा प्रेमको बाढी आउँथ्यो त्यो एकादेशको कथा केवल कमजोरीको छाल लाग्छ । हाम्रा छोरीहरूलाई अब वायुपंखी घोडाको कथा होइन झाँसीकी रानीको कथा सुनाउन आवश्यक छ । वीरंगनाको इतिहास पढाउन आवश्यक छ । साहसी, आत्मविश्वासी बनाउन जरुरी छ । कुनै राजाको होइन, आफ्नै मर्जीको रानी बनाउन आवश्यक छ । त्यही अनुकूल शिक्षाको आवश्यकता छ । छोरीलाई हरेक कुरामा आत्मनिर्भर बनाउने हो भने होनहार र सपन्न केटोको खोजीमा कुनै बाबुआमा जुट्नु नै पर्दैन । त्यो एकादेशको कथालाई अब बदल्नुपर्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

महाभूकम्पपछिको असर र पुस्तक कम्पनबारे अन्तक्रिया

  • ८ भदौ, २०७६

बुटवल । पत्रकार किशोर पन्थीद्वारा लिखित “महाभूकम्पपछिको असर र पुस्तक कम्पनबारे” रुपन्देहीमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा विभिन्न

त्रिशूली वाङ्मय प्रतिष्ठानकाे अध्यक्षमा आर एम डङ्गोल

  • ८ भदौ, २०७६

काठमाडाैं । त्रिशूली वाङ्मय प्रतिष्ठानको ११औँ साधारणसभाले कवि आर एम डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नुवाकोटेली

म निदाएको छैन 

  • ७ भदौ, २०७६

मोबाइलबाट भर्खरै प्राप्त खबर मेरा लागि खासै अप्रत्याशित थिएन । सरकार सुकुमबासी बस्तीमा डोजर लगाउने योजना गरिरहेको जानकारी मलाई जिम्मेवार ठाउँबाट